धरानः जटिल र रहस्यमय अपराधको सफल अनुसन्धानमार्फत व्यावसायिक उत्कृष्टता प्रदर्शन गरेका प्रहरी निरीक्षक (इन्सपेक्टर) दिवश कुँवर प्रतिष्ठित ‘साधनादेवी उत्कृष्ट प्रहरी पुरस्कार’ बाट सम्मानित भएका छन्।
७० औं प्रहरी दिवसको अवसरमा शुक्रबार कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरमा आयोजित समारोहमा उनलाई पुरस्कृत गरिएको हो।
इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टी, सुनसरीमा कार्यरत कुँवरलाई कुनै पनि सबुत र पहिचान खुल्ने प्रमाण नभेटिएको एक रहस्यमय हत्याको गुत्थी सुल्झाउन सफल भएबापत उक्त पुरस्कार प्रदान गरिएको हो। उनीसँगै जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत प्रहरी नायब निरीक्षक निरबहादुर खड्काले पनि यो प्रतिष्ठित सम्मान प्राप्त गरे। पुरस्कार कोषका संस्थापक तथा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रोफेसर डाक्टर विक्रमप्रसाद श्रेष्ठले उनीहरूलाई पुरस्कार प्रदान गरे।
प्रहरी निरीक्षक कुँवरले २०८१ चैत २५ गते सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित जङ्गलमा एक महिलाको शङ्कास्पद अवस्थामा शव फेला परेको घटनाको अनुसन्धानको नेतृत्व गरेका थिए। कुनै पनि सबुत र पहिचान खुल्ने प्रमाण नभएको उक्त रहस्यमय घटनाको अनुसन्धानलाई उनले आफ्नो सूक्ष्म विश्लेषण र अनुसन्धान कौशल प्रयोग गर्दै अगाडि बढाएका थिए।
उनको नेतृत्वमा भएको अनुसन्धानबाट मृतकको पहिचान धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीया चुनकुमारी दाहाल बुढाथोकीको रूपमा खुलेको थियो। त्यति मात्र नभई, उनको हत्यामा संलग्न सात जनाको पहिचान गरी पाँच जनालाई पक्राउ गरेर कानुनी दायरामा ल्याउन सफल भएका थिए। यही उत्कृष्ट र प्रशंसनीय कार्यको कदर गर्दै उनलाई छनोट समितिले पुरस्कारका लागि चयन गरेको हो।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. श्रेष्ठले आफ्नी ममतामयी स्वर्गीय आमा साधनादेवी श्रेष्ठको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन्। २०७१ सालमा ५० हजार रुपैयाँबाट सुरु भएको यो पुरस्कारको राशि प्रत्येक वर्ष १० हजारले वृद्धि हुँदै हाल एक लाख रुपैयाँ पुगेको छ। यस वर्षको एक लाख राशिको पुरस्कार प्रहरी निरीक्षक कुँवर र प्रहरी नायब निरीक्षक खड्कालाई प्रदान गरिएको हो, जसमा कुँवरले ५० हजार रुपैयाँ प्राप्त गरे।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्रुवर कार्की, प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेल, अक्षयकोष तथा पुरस्कार कोषका संस्थापकहरुले विभिन्न विधामा अति उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण–पत्र प्रदान गरे । एसईई तथा उच्च शिक्षाको परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई छात्रबृत्ति प्रदान रिएको थियो । यसै गरी कार्यक्रममा प्रमुख अतिथि कार्कीले प्रहरीलाई निःशुल्क जग्गा उपलव्ध गराउनु हुने जग्गा दाताहरु, अक्षयकोष तथा पुरस्कार कोषका संस्थापकहरुलाई दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो भने कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द अधिकारीलाई उनको उत्कृष्ठ कार्यको कदर गर्दै नगद पुरस्कारद्वारा पुरस्कृत गरे ।
विप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कारद्धारा प्रहरी निरीक्षक राजन लम्साल र प्रहरी सहायक हवल्दार विकाश कटुवाल पुरस्कृत
७० औं प्रहरी दिवस २०८२ को अवसरमा बिप्लव थापा (गोदार) स्मृति उत्कृष्ट ट्राफिक प्रहरी पुरस्कारबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी निरीक्षक राजन लम्साल र जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरमा कार्यरत प्रहरी सहायक हवल्दार विकाश कटुवाल पुरस्कृत भएका छन् । २५ हजार धनराशीको उक्त पुरस्कार कोशी प्रदेश भरिबाट उत्कृष्ट ट्राफिक व्यवस्थापन कार्य गर्ने मध्येबाट छनौट गरी उनीहरुलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
पुरस्कृत भएका प्रहरी निरीक्षक राजन लम्साल र प्रहरी सहायक हवल्दार विकाश कटुवालले सवारी दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा उत्कृष्ट कार्य गरी महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । पुरस्कृत हुने द्वयलाई अक्षयकोषका संस्थापक बद्रीविक्रम थापा गोदारले २५ हजारको चेक तथा प्रशंसा–पत्र प्रदान गरे ।
१८ वर्षको उमेरमा सवारी दुर्घटनामा परी दिवंगत भएका आफ्ना छोराको स्मृतिमा कोशी प्रदेश अन्तर्गत ट्राफिक दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन तथा ट्राफिक अनुसन्धान क्षेत्रमा आफ्नो घर परिवार नभनि अहोरात्र खटिने प्रहरी कर्मचारीहरुको मनोवल र उत्प्रेरणा बढाउने उद्देश्यले ५ लाख रुपैयाको अक्षयकोष स्थापना गरी ६७ औं प्रहरी दिवसबाट पुस्कारको सुरुवात भएको थियो । साथै प्रहरी दिवसको अवसरमा बिप्लव थापा (गोदार) स्मृति अक्षयकोषका संस्थापक बद्री बिक्रम थापालाई प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्रुवर कार्कीले दोसल्ला ओढाई सम्मान गरेका थिए ।
उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा प्रहरी हवल्दार यमकुमारी प्रधान पुरस्कृत
७० औं प्रहरी दिवसको अवसरमा प्रहरी जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार यम कुमारी प्रधान उत्कृष्ट महिला प्रहरी पुरस्कारद्वारा पुरस्कृत भइन् । पुरस्कृत हुने प्रधानले इमानदारी, अनुशासित भई महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा समुदाय मैत्री प्रहरी सेवामार्फत महिला प्रहरीको भूमिकालाई थप सशक्त बनाई आम नागरिक प्रति प्रहरीको छवि उच्च बनाउने कार्यमा प्रशंसनीय कार्य गरेकोले कार्यको उच्च मूल्याकन गर्दै कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । उक्त पुरस्कार कोषका संस्थापक श्रीमती शिला श्रेष्ठ बज्राचार्यले प्रहरी हवल्दार यमकुमारी प्रधानलाई २५ हजारको चेक तथा प्रशंसा–पत्र प्रदान गरेकी थिइन् ।
महिला बालबालिका तथा ज्येष्ठ नागरिकको क्षेत्रमा काम गर्ने महिला प्रहरी कर्माचारीहरु मध्येबाट उत्कृष्ट कार्य गर्ने १ जना महिला प्रहरीलाई नगद पुरस्कारद्वारा पुरस्कृत गर्ने उद्धेश्य अनुरुप सुनसरी धरान उप–महानगरपालिका–८ की श्रीमती शिला श्रेष्ठ बजा्रचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला बिच सम्झौता भई महिला प्रहरीहरुको मनोबल उच्च राख्न तथा उत्प्रेरणा प्रदान गर्ने उद्धेश्यले २०८१ सालबाट २५ हजार धनराशीको उत्कृष्ट महिला प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात गरेका थिए । साथै उत्कृष्ट महिला प्रहरी पुरस्कार कोषका संस्थापक शिला श्रेष्ठ बज्रचार्यलाई प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख ईश्रुवर कार्कीले दोसल्ला ओढाई सम्मान गरे ।
देव कुमारी–शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा ४ जना प्रहरी कर्मचारी पुरस्कृत
७० औं प्रहरी दिवसको अवसरमा देव कुमारी–शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यतर प्रहरी सहायक निरीक्षक अनिता कुमारी चौधरी, जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी हवल्दार गुणराज अधिकारी, जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी हवल्दार हेमराज सुवेदी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हवल्दार पबिता शर्मा पुरस्कृत भएका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले देव कुमारी–शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कारद्वारा पुरस्कृत गरेको हो । कूल १ लाख ४२ हजार धनराशीको “देव कुमारी–शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार” बिभिन्न बिधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु मध्येबाट छनौट गरी २ जना महिला र २ जना पुरुष वा सिनियर प्रहरी अधिकृत भए १ जना मात्रलाई विशेष प्राथमिकता दिई प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष संस्थापक वा निजको प्रतिनिधीद्वारा पुरस्कृत गर्नको निम्ति धरान उप– महानगरपालिका–१ निवासी धनन्जय आचार्य र कोशी प्रदेश प्रहरी कार्यालयका तत्कालीन प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारी विच २०८१ साल माघ महिनामा सम्झौता भई आफ्नो घर परिवार नभनि अहोरात्र खटिने व्यवसायीक प्रहरीको मनोवल उच्च बनाउने कार्यमा हौसला प्रदान गर्न यसै बर्ष देखि देव कुमारी–शिवप्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार प्रदान गर्न सुरुवात गरिएको हो ।
साथै देव कुमारी–शिव प्रसाद आचार्य उत्कृष्ट प्रहरी पुरस्कार“ का संस्थापक धरान उप– महानगरपालिका–१ निवासी धनन्जय आचार्यका प्रतिनिधि वर्वरीक पोखरेललाई प्रमुख अतिथि प्रदेश प्रहरी प्रमुख ईश्वर कार्कीले दोसल्ला ओढाई सम्मान गरे ।
७० औं प्रहरी दिवसमा बिभिन्न बिधामा उत्कृष्ठ हुने प्रहरी कर्मचारीहरु पुरस्कृत
७० औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित विशेष कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले विभिन्न विधामा उत्कृष्ट हुने प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे ।
उनले कार्यालय व्यवस्थापन, अपराध अनुसन्धान,आन्तरिक तथा वाह्य प्रशिक्षण, सपोर्ट समुह लगायत प्रहरी कार्यमा महत्वपूर्ण योगदान पु¥याउने कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिना, वडा प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव उपरीक्षक अनमोल खडका लगायत कोशी प्रदेश अन्तरगत विभिन्न कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरे । यसै गरी ७० औ प्रहरी दिवस मुल समारोह समितिका अध्यक्ष प्रहरी वरीष्ठ उपरीक्षक गोबिन्द अधिकारीले कोशी प्रदेश प्रहरी गण विराटनगरका गणपति प्रहरी उपरीक्षक रुकेश तण्डुकार लगायत प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कारद्वारा पुरस्कृत गरेका थिए ।
एसईई र उच्च शिक्षा तर्फ सर्वोत्कृष्ट अंक ल्याउने कर्मचारीहरुका सन्तति पुरस्कृत
७० औं प्रहरी दिवसको अवसरमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा आयोजित विशेष कार्यक्रममा प्रहरी दिवसको अवसरमा प्रत्येक वर्ष प्रदेश प्रहरी कल्याण कोषबाट प्रदान गरिदै आएको एसईई तथा उच्च शिक्षा तर्फका परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउन सफल बहालवाला प्रहरी, पूर्व प्रहरी तथा अमर प्रहरी परिवारका जेहेन्दार सन्ततीहरुलाई स्नातक तहमा रु. ३५ हजार, +२ तर्फ रु. २५ हजार र क्भ्भ् तर्फ रु. १० हजारका दरले प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयाल तथा प्रहरी वरिष्ठ उपरीक्षक दिपक पोखरेलद्वारा पुरस्कृत गरिएको छ ।