Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

कोशी प्रदेशमा बेमौसमी अविरल वर्षाले जनजीवन अस्तव्यस्त, बालीनालीमा ठूलो क्षति

हाम्रो कोशी आवाज
कार्तिक १४ २०८२, शुक्रबार
कोशी प्रदेशमा बेमौसमी अविरल वर्षाले जनजीवन अस्तव्यस्त, बालीनालीमा ठूलो क्षति

धरानः मोन्था चक्रवातको प्रभावका कारण बिहीबार रातिदेखि परेको बेमौसमी अविरल वर्षा र हिमपातले कोशी प्रदेशको जनजीवन अस्तव्यस्त बनेको छ ।
वर्षापछिको बाढी र पहिरोले यस क्षेत्रका मुख्य राजमार्ग र सडक सञ्जालहरू ठप्प भएका छन्, हजारौँ पर्यटक विभिन्न स्थानमा अलपत्र परेका छन् भने किसानहरूले लगाएको बालीनालीमा ठुलो क्षति पुगेको छ ।
अविरल वर्षाले पूर्वी नेपालका अधिकांश मुख्य राजमार्ग र सडकहरूमा क्षति पुर्‍याउँदा यातायात सञ्जाल लगभग ठप्प भएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार बाढीपहिरोका कारण कम्तीमा चार वटा प्रमुख सडकखण्ड पूर्ण रूपमा अवरुद्ध छन् र ती स्थानमा वैकल्पिक मार्गसमेत छैन ।
झापाको शिवसताक्षीस्थित भालुखोलामा निर्माणाधीन पुलको डाइभर्सन बाढीले बगाएपछि राजमार्ग एकतर्फी मात्र सञ्चालनमा छ ।
इलामको राजदुवाली सडकखण्ड भासिँदै र चिरा पर्दै गएपछि पूर्ण रूपमा बन्द गरिएको छ । यसको वैकल्पिक मार्ग मानिएको तिल्केनी–सिमलगोलाई–शिल्पुर सडक पनि पहिरोले अवरुद्ध छ । राजमार्ग बन्द हुँदा ताप्लेजुङ र पाँचथरबाट झापातर्फ आउने–जाने सवारी साधनहरू रोकिएका छन् ।
धनकुटाको साँगुरीगढी–६ कोल्बोटेमा सडक भासिएकाले ठुला सवारी साधन सञ्चालनमा रोक लगाइएको छ भने भेडेटार नजिकै पहिरो खसेर सडक अवरुद्ध भएको छ । धनकुटा र पाँचथरको सिमानामा पर्ने नावाखोलामा पानीको बहाव अत्यधिक बढेपछि यो सडकखण्ड बन्द गरिएको छ ।
पाँचथरमा मध्यपहाडी राजमार्गको रिजालभीर खण्ड, फिदिम–फालौट सडक र धनकुटाको रवि–राँके–भेडेटार सडक पनि पहिरोका कारण अवरुद्ध बनेका छन् । ओखलढुङ्गामा सिद्धिचरण लोकमार्ग भन्डारे खोलामा आएको बाढीले अवरुद्ध छ । सडकहरू खुल्ने निश्चित नहुँदा र वैकल्पिक मार्ग नहुँदा यात्रुहरूलाई गन्तव्यमा पुग्न सकस भएको छ ।
पर्यटनको मुख्य सिजनमै मौसम प्रतिकूल बन्दा खुम्बु क्षेत्रमा मात्रै करिब साढे पाँच हजार स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् । लगातारको वर्षा र हिमपातले चार दिनदेखि उडान हुन नसक्दा तेन्जिङ हिलारी विमानस्थल, लुक्लामा करिब ६ सयभन्दा बढी पर्यटक रोकिएका छन् ।
पर्यटकको चापले लुक्ला र सुर्केमा होटल अभाव भएको छ । आधारशिविर क्षेत्र, गोरक्क्षेप, लोबुचे, दिङबुचे र नाम्चेबजारमा हजारौँ पर्यटक रोकिएका छन् ।
उता ताप्लेजुङको सुकेटार विमानस्थलमा पनि पाँच दिनदेखि उडान हुन नसक्दा काठमाडौँ जाने यात्रुहरू रोकिएका छन् ।
यही मौकामा सुर्केबाट सल्लेरी जाने जिपहरूले प्रतिव्यक्ति ३ हजार लाग्ने भाडा १० हजारसम्म असुल्न थालेको गुनासो आएको छ । जसले नेपालको पर्यटनमा नकारात्मक सन्देश जाने भन्दै व्यवसायीहरू चिन्तित बनेका छन् ।
असामान्य वर्षाले भित्र्याउने बेला भएको धानबाली र भर्खरै लगाइएको तोरीबालीमा ठुलो क्षति पुर्‍याएको छ ।
झापा, मोरङ, सुनसरी, उदयपुरलगायतका जिल्लामा काटिसकेको र काट्न तयार भएको धान खेतमै डुबेको छ । जसले गर्दा किसानहरू ठुलो मारमा परेका छन् ।
रोपिएको आलु खेतीमा पानी जम्दा बिउ कुहिने चिन्तामा किसान छन् । मौसमविद्हरूले वर्षा शनिबारसम्म जारी रहने अनुमान गरेकाले किसानको चिन्ता झनै बढेको छ ।
लगातारको वर्षाका कारण मोरङ र सुनसरीका अधिकांश भूभाग जलमग्न भएका छन् । विराटनगर महानगरपालिका र इटहरी उपमहानगरपालिकाले सुरक्षा जोखिमलाई ध्यानमा राख्दै शुक्रबार शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरे ।
खोलानालामा पानीको बहाव बढेको छ भने उत्तरी पहाडी क्षेत्रमा अत्यधिक हिमपातले जनजीवन थप कष्टकर बनेको छ । स्थानीय प्रशासन र सरकारले क्षति न्यूनीकरणका लागि सक्रिय रहेको जनाएका छन् ।

प्रकाशित मिति: कार्तिक १४ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend