अलैँचीको प्रवद्र्धन गर्न मंसिर ७ गतेदेखि ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा हुने दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेलाका बिजेताले पाउने पुरस्कारदेखि मायाको चिनोसम्म अलैँची प्रदान गरिने भएको छ ।
आयोजक फङ्फङ्देन झरना पर्यटन विकास समितिले दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेलाका खेलाईने आमन्त्रित क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिताका बिजेता, विधागततर्फका बिजेतादेखि अतिथिसम्मलाई मायाको चिनो दिँदा अलैँची प्रदान गर्ने भएको हो ।
फङ्फङ्देन झरना पर्यटन विकास समितिले फुङलिङमा पत्रकार सम्मेलन गरी मिक्वाखोला गाउँपालिका-४ तेम्बामा हुने आमन्त्रित अन्तर क्लव स्तरीय पुरुष फुटबल प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।
फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवाका अनुसार फुटबल प्रतियोगितामा प्रथम हुने टिमलाई नगद ३ लाख २ हजार ८२ रुपैयाँ र उपबिजेता हुने टिमलाई १ लाख ५२ हजार ८२ रुपैयाँ बराबरको अलैँची पुरस्कार स्वरुप प्रदान गरिने छ ।
मंसिर ११ गते प्रतियोगिता सकिने र सोहि दिनको अलैँचीको चलनचल्तिको मूल्यलाई आधार मानेर सोहि परिमाण अनुसारको अलैँची प्रदान गरिने अध्यक्ष साँवाले बताए ।
