धरानः धरानस्थित बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ह्वील चेयर पुल सञ्चालनमा ल्याइएको छ ।
प्रतिष्ठानमा उपचारका लागि आउने विरामीहरुको सुविधालाई ध्यानमा राखी केन्द्रीय हवीलचेयर साथै ट्रली पुल सञ्चालनमा ल्याइएको हो । निःशुल्करुपमा सो सेवा सञ्चालनमा ल्याइएको प्रवक्ता प्रा.डा. अन्जु प्रधानले जानकारी दिइन् ।
प्रतिष्ठानका उपकुलपति प्रा.डा. विक्रमप्रसाद श्रेष्ठले एक कार्यक्रमका बीच रिवन काटेर उद्घाटन गरिएको सो सेवाका लागि उनले व्यक्तिगत ५० हजार रुपैयाँ पनि प्रदान गरेका थिए ।
मनकारी दाताहरुबाट प्रतिष्ठानमा प्राप्त १६ थान हवीले चेयर र १ थान ट्रलीमार्फत सो सेवा शुरु गरिएको हो । त्यसमध्ये १५ थान हवीलचेयर प्रतिष्ठानका हाडजोर्नी विभागका एडिसनल प्रोफेसर डा. विष्णु पोखरेलकी आमा श्रीमती सरिता पोखरेलले प्रदान गरेकी हुन् भने १ थान छवि ट्रेड कन्सर्न, काठमाडौंका श्री अंकित गोयङकाले प्रदान गरेका हुन् । त्यसैगरी, १ थान ट्रली प्रतिष्ठानका शिक्षाध्यक्ष प्रा.डा. सञ्जीवकुमार शर्माले प्रदान गरेका थिए ।
प्रतिष्ठानलाई प्राप्त सो सामग्री भण्डारणका साथै पुल सञ्चालनका लागि धरान उपमहानगरपालिका वडा नं. १ निवासी समाजसेवी तथा व्यापारी ललित अग्रवालले टहरा निर्माण गरी सहयोग गरेका छन् । प्रतिष्ठानका तर्फबाट भने पुल सञ्चालन गर्न आवश्यक जनशक्ति उपलब्ध गराउनुका साथै प्रतिष्ठानबाट जारी हुने प्रत्येक ओपीडी टिकटबाट २५ पैसा सो सामग्री मर्मत सम्भारका लागि छुट्याउने व्यवस्था गरिएको छ ।
प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीहरुले सो सामग्री प्रयोग गर्नुपर्दा पुलमा सम्पर्क राखी त्यहाँ खटिएका प्रतिष्ठानका कर्मचारीहरुलाई आफ्नो राष्ट्रिय परिचय खुलाउने किसिमको परिचयपत्र धरौटी राखी निःशुल्क रुपमा प्रयोग गर्न सकिने जनाइएको छ ।
यसैबीच सो सञ्चालनका लागि प्रतिष्ठानले एनेस्थसिया विभागका प्रा.डा. आशिष घिमिरेको संयोजकत्वमा १२ सदस्यीय सञ्चालक समिति गठन गरेको छ । समितिको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठानका चिकित्सक र कर्मचारी बाहेक प्रतिष्ठान बाहिरबाट सदस्यको रुपमा सुनसरी उद्योग वाणिज्य संघका कोषाध्यक्ष शैलेशकुमार आचार्यलाई समेत समितिमा समावेश गरिएको छ ।



