Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा ‘निर्वाचन प्रहरी’ का लागि भर्ना खुल्यो, कति पाउनेछन् तलब ?

हाम्रो कोशी आवाज
पुष २४ २०८२, बिहिबार
सुनसरीमा ‘निर्वाचन प्रहरी’ का लागि भर्ना खुल्यो, कति पाउनेछन् तलब ?

धरानः सरकारले निर्वाचन प्रहरीका लागि भर्ना खुलाएको छ । आगामी २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि भर्ना खुलाइएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुनसरी जिल्लामा यसपटक ३ हजार ५ सय ७८ जना निर्वाचन प्रहरी भर्नाका लागि आवेदन आह्वान गरिएको प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा जारी सूचनामा जनाइएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जारी गरेको एकीकृत सूचनाअनुसार नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपाल अन्तर्गत निर्वाचन प्रहरी पदका लागि योग्य नेपाली नागरिकबाट दरखास्त माग गरिएको हो ।
सूचना अनुसार निर्वाचन प्रहरीका लागि आवेदन दिने अन्तिम मिति २०८२ पुस १ गतेसम्म तोकिएको छ । आवेदन जिल्ला प्रहरी कार्यालय सुनसरी तथा सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर हेडक्वाटर सुनसरीबाट प्राप्त गर्न र बुझाउन सकिने जनाइएको छ ।
भर्ना प्रक्रियाअन्तर्गत उम्मेदवारको उमेर सीमा दरखास्त फाराम भर्ने अन्तिम मितिसम्म कम्तीमा १८ वर्ष पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्नेछ । साथै, नेपाली नागरिकता भएको, सामान्य लेखपढ गर्न जान्ने, कुनै फौजदारी अभियोगमा सजाय नपाएको तथा शारीरिक र मानसिक रूपमा स्वस्थ हुनुपर्ने योग्यता तोकिएको छ ।
निर्वाचन प्रहरी भर्नामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपालका पूर्व सेवामा रहेका वा विभिन्न तहका निर्वाचनमा निर्वाचन प्रहरीको रूपमा अनुभव प्राप्त व्यक्तिलाई प्राथमिकता दिइने सूचनामा उल्लेख छ ।
छनोट प्रक्रियाअन्तर्गत प्रारम्भिक छनोट, शारीरिक परीक्षण तथा स्वास्थ्य परीक्षण पूरा भएपछि अन्तिम नतिजा प्रकाशन गरिनेछ । चयन भएका निर्वाचन प्रहरीलाई निर्वाचन अवधिभर खटाइने र नेपाल सरकारद्वारा तोकिएको सेवा सुविधा उपलब्ध गराइने जनाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रूपमा सम्पन्न गर्न पर्याप्त जनशक्ति व्यवस्थापन गर्न निर्वाचन प्रहरी भर्ना प्रक्रिया अघि बढाइएको हो ।

सुनसरीमा ५ लाख ८० हजार ९४५ जना मतदाता

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा पाँच लाख ८० हजार ९४५ जना मतदाता कायम भएका छन्। जिल्लाका १२ स्थानीय तहमध्येबाट दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई जना तेस्रो लिङ्गी मतदाता कायम भएका हुन्।
जिल्ला निर्वाचन कार्यालयका अनुसार प्रतिनिधिसभाका लागि चार निर्वाचन क्षेत्र तोकिएका छन्। जिल्लाभर जम्मा १६७ मतदानस्थल र ६२४ मतदान केन्द्र निर्धारण गरिएको कार्यालयका प्रमुख कृष्ण पौडेलले जानकारी दिए।
उनका अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र नं २ मा एक लाख ५६ हजार ९९० मतदाता छन् भने सबैभन्दा कम एक लाख ३४ हजार ३०२ मतदाता कायम भएका छन्।
निर्वाचन आयोगका अनुसार मतदाता नामावली अद्यावधिकपछि उक्त तथ्याङ्क सार्वजनिक गरिएको हो। आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता शिक्षालगायत तयारीका कार्यक्रम अघि बढाइएको जिल्ला निर्वाचन कार्यालय प्रमुख पौडेलले बताए।
आगामी निर्वाचनका लागि सङ्घीय सरकारले सुनसरीमा मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरू खटाइसकेको छ। प्रकाश राउतलाई मुख्य निर्वाचन अधिकृत तोकिएको छ।
उनी हाल सुनसरी जिल्ला अदालतमा जिल्ला न्यायाधीशका रूपमा कार्यरत छन्। निर्वाचन अधिकृतका रूपमा दिव्यराज घिमिरे, राजेन्द्रकुमार लम्साल र पदमबहादुर कार्कीलाई तोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पौडेलले जानकारी दिए।

प्रकाशित मिति: पुष २४ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend