-सुमन सुस्केरा
कोसी प्रदेशमा यो निर्वाचनसँगै नयाँ पार्टीको उदय भएको छ। गत भदौ २३ र २४ गतेको जेन जेड आन्दोलन पछि घोषणा भएको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदै गर्दा कोसी प्रदेशले एमाले र कांग्रेसलाई धुलो बनाउने श्रम संस्कृति पार्टी (माटो)को उदय भएको हो।
हर्कराज राईले नेतृत्व गरेको श्रम संस्कृति पार्टीको अन्य प्रदेशमा कम्जोर उपस्थिति देखिए पनि कोसी प्रदेशमा एमाले, कांग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) जस्ता पुराना र ठूला दललाई पराजित गर्न मुख्य मुभिका मात्रै रहेन तीन क्षेत्रमा सानदार विजय समेत भएको छ।
समानुपातिकतर्फ दोस्रो दल
कोसी प्रदेशमा प्रत्यक्षतर्फ ३ सिट मात्र जितेको श्रम संस्कृति पार्टी (एसएसपी) समानुपातिकतर्फ दोस्रो दलमा उक्लिएको छ। सोमबार राति सात बजेसम्मको मत परिणाम अनुसार यो प्रदेशमा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सात लाख ४६ हजार सात सय ७० मत प्राप्त गरेका छन् भने एसएसपीले दुई लाख ४४ हजार दुई सय २७ मतसहित एसएसपी प्राप्त गरेका छन्।
त्यस्तै नेपाली कांग्रेसले दुई लाख ४१ हजार ७ सय १२ मत, नेकपा (एमाले)ले दुई लाख ४० हजार १४१ र नेपाली कम्युनिष्ट पार्टीले ८४ हजार पाँच सय ७१ मत पाएका छन्।
कोशि प्रदेशका केहि निर्वाचन क्षेत्रमा अझै मत गणना जारी भएकोले अन्तिम परिणाम आउन बाँकी छ। यद्यपी समानुपातिकतर्फको मत परिणामको ट्रेन्ड हेर्दा उक्त पार्टी दोस्रो ठूलो दल हुने करिब निश्चित छ। किनकी उसले प्रत्यक्षतर्फ पाएको मतभन्दा समानुपातिकतर्फको मत वृद्धि गरिरहेको छ।
निर्वाचन घोषणा भएपछि कात्तिक १६ गते हर्कको पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो। त्यसपछि निरन्तर गतिबिधि गरेका हर्कले श्रम र देशको माटोलाई मायाँ गर्नु पर्ने मुख्य नारालाई अघि सारेका थिए। समानुपातिकतर्फको थ्रेसहोल्डका लागि आवश्यक न्यूनतम मत प्राप्त गरेर हर्कको यो पार्टीले राष्टिय पार्टीको मान्यता समेत प्राप्त गरिसकेको छ।
छोटो समयमै स्थापित
हर्क साम्पाङ २०७९ को स्थानीय निर्वाचनमा लौरो चुनाव चिन्हबाट उदाएका हुन्। चार महिनाको अबधिमा नै पार्टीले सुनसरी–१ सहित भोजपुर र खोटाङमा प्रतिनिधि सभा सदस्यमा ठूला दललाई पन्छाउँदै जीत आफ्नो पक्षमा पार्यो। दलका अध्यक्ष हर्क सुनसरी १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई भारी मतान्तरले पराजित गर्दै विजयी भए। राईले ३५ हजार ७४१ मत ल्याउँदा रास्वपाकी गोमा तामाङले २७ हजार २४९ मत प्राप्त गरेकी छिन्।
खोटाङमा आरेन राईले १६ हजार ६१२ मत ल्याएर प्रतिनिधि सभा सदस्य बन्दा एमालेका देवविक्रम राईले १२ हजार ७१४ मत पाए। यहाँ कांग्रेसका वीरकाजी राईले ११ हजार ९५७ मत ल्याए। त्यसैगरी श्रम संस्कृति पार्टीले भोजपुरमा प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईलाई पराजित गर्यो।
ध्रुवराज राईले १६ हजार ६६३ मत ल्याएर जित दर्ता गर्दा एमालेका शेरधन राई १४ हजार ७५० मतमा रोकिए। ३ जिल्लामा मात्रै हैन अन्य जिल्लामा पनि गतिबिधि गर्न पाएको भए राम्रो सिट आउने रहेछ भन्नेमा त्यो दलका नेताहरुको विश्लेषण छ। श्रम संस्कृति पार्टीका महासचिव आरेन राई अध्यक्ष र महासचिव नै उम्मेदवार हुँदा अन्य जिल्लामा गतिबिधि गर्न नपाएको स्वीकार गर्छन्।
उनी भन्छन्, ‘हामीले अरु जिल्लामा आफ्ना गतिबिधि गर्न पाएनौँ, तर पनि हामीले जितेका छौँ, यो हाम्रो प्रवेश मात्रै हो, आगामी दिनमा हामी छलाङ्ग मार्छौ।’ राजनीतिक विश्लेषक यसलाई कांग्रेस र एमाले भित्रको आक्रोशको परिणाम भएको विश्लेषण गर्छन्। राजनीति शास्त्रका जानकार एवम् भोजपुर क्याम्पसका क्याम्पस प्रमुख पर्वतकुमार राई कांग्रेस र एमालेलाई माटोले पराजय गर्नु ३५ वर्षसम्मको उनीहरुको गलत चरित्र भएको टिप्पणी गर्छन्।
कतिपयले यस सफलतालाई केवल प्रभावशाली व्यक्तित्वको कारण नभई, पहाडी जिल्लाहरूमा विशेष समुदायको बाहुल्यता र उनीहरूको ‘कम्युनिटी भोट’ का कारण पनि मानेका छन्। पहिचान खोजीरहेको सामुदायिक मनोविज्ञानले पनि यसमा काम गरेको देखिन्छ। किनकी देशका अन्य विभिन्न स्थानभन्दा यो प्रदेशमा पहिचान आन्दोलन निक्कै गढेको छ।
श्रम संस्कृति पार्टीको उदय भोजपुर क्याम्पसका प्रमुख राईको विश्लेषण
१. पुराना दलप्रतिको वितृष्णा र विकल्पको खोजीः लामो समयदेखि नेपाली राजनीतिमा नेपाली कांग्रेस र नेकपा (एमाले) को वर्चस्व रहँदै आएको छ। आम मानिसहरू यी दलहरूको कार्यशैली र सुशासनको अभावबाट आजित भइसकेका थिए। कोसी प्रदेशमा श्रम संस्कृति पार्टीको उदय हुनुमा ठूला दलहरूबाट उन्मुक्ति खोज्ने मानिसहरूको मनोविज्ञानले ठूलो काम गरेको देखिन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एउटा लहरको रूपमा आए पनि पहाडी जिल्लाहरूमा श्रम संस्कृति पार्टीले आफूलाई बलियो विकल्पका रूपमा उभ्याएको छ।
२.पहिचानको मनोविज्ञान र समुदायको सहानुभूतिः कोसी प्रदेशमा दशकौँदेखि पहिचानको मुद्दा पेचिलो बन्दै आएको छ। यद्यपि हर्क साम्पाङले स्पष्ट रूपमा पहिचानको मुद्दा बोकेर आएका थिए वा थिएनन् भन्ने कुरा गौण रहे पनि, आम मानिसले उनलाई पहिचानको मुद्दा बोक्न सक्ने एउटा ’असल पात्र’का रूपमा हेरेको पाइन्छ। विशेषगरी किराँत राई समुदायमा उनीप्रति एउटा गहिरो समुदायिक सहानुभूति देखिएको छ। यसलाई जातीय भोटभन्दा पनि पहिचान खोजिरहेको एउटा समुदायको मनोविज्ञानले निर्देशित गरेको भन्न सकिन्छ।
३.व्यवहार र जीवनशैलीको प्रभावः नेताको भाषण र व्यवहारबीचको खाडल नै हारको मुख्य कारण बनेको छ। जनताले नेताको विलासी जीवनशैली र पहुँच बाहिरको चरित्रलाई मन पराउन छाडेका छन्। ‘भुइँ मान्छे’को कुरा गर्ने तर व्यवहारमा ‘फाइभ स्टार’ होटलका सुविधा मात्रै खोज्ने प्रवृत्तिले जनतामा नकारात्मक सन्देश गएको छ। अर्कोतर्फ, श्रम संस्कृति पार्टीका उम्मेदवारहरु आफैँ साउन्ड सिस्टम बोकेर हिँड्ने, साधारण जुत्ता लगाउने र जनतासँगै पैदल हिँड्ने जस्ता व्यवहारले मानिसहरूको मन जितेको देखिन्छ।
४.नेतृत्वको दम्भ र नयाँ पुस्ताको उदयः एमालेका दिग्गज नेताहरुलाई माटोले हराउनुमा उनीहरुको आफ्नै कार्यशैली र दम्भले पनि भूमिका खेलेको विश्लेषण गरिएको छ। ‘नेतृत्वमा पुग्ने म मात्रै हो’ भन्ने खालको अभिव्यक्तिले समुदायमा वितृष्णा पैदा गरेको राईको तर्क छ। द्वन्द्वात्मक भौतिकवादको सन्दर्भ जोड्दै उनले परिवर्तनको मुख्य कारण अन्तरवस्तु नै हुने भएकाले नेताहरूले अरूलाई दोष दिनु भन्दा आफैँतिर फर्किनु आवश्यक रहेको छ। यो चुनावले जनताले आफ्नै जीवनशैलीसँग मेल खाने, सरल र व्यवहारिक नेता खोजिरहेका छन् भन्ने स्पष्ट पारेको छ। आदर्शका ठूला कुरा भन्दा पनि मानिसको दैनिक जीवनसँग जोडिने र व्यवहारमा देखिने पात्रहरू नै अहिलेको राजनीतिको रोजाइमा परेका छन्।
कहाँ कहाँ दियो माटोले धक्का ?
कोसी प्रदेशका धेरै जिल्लामा चुनावी प्रतिस्पर्धा भइरहँदा एमाले र कांग्रेसको मुख्य प्रतिस्पर्धी श्रम संस्कृति पार्टी (माटो)बनेको छ। पाँचथरमा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीको कडा प्रतिस्पर्धा भयो। यस अघि एमालेले जितेको यो जिल्लामा अहिले एमाले तेस्रो भयो। कांग्रेस (रुख)का नरेन्द्र कुमार केरुङले १७ हजार २३३ मत ल्याउँदा श्रम संस्कृति पार्टी (माटो)का हस्तराज शेर्माले १४ हजार ५३४ मतका साथ चुनौती दिए।
इलाम २ मा पनि माटो कमजोर देखिएन। मत गणनाको सुरुवाती चरणमा यहाँ माटोका उम्मेदवार सुदिप राईले अग्रता लिएका थिए। उनी अन्तिमसम्म प्रतिस्पर्धा रहे। यद्यपी नतिजा २२ हजार ४२६ मतका साथएमालेका सुहाङ नेम्वाङको पक्षमा रह्यो। यहाँ रुख र माटोको बराबर जस्तै मत थियो। रुखका भेषराज आचार्यले १४ हजार ६५० मत ल्याउँदा सुदिपले पनि १४ हजार ४०० मत ल्याए।
तेह्रथुममा माटो चौथो छ। श्रम संस्कृति पार्टीका सुविन्द्रकुमार लिम्बुले ५ हजार २०० मत ल्याएका थिए। निर्वाचित हुने नेपाली कांग्रेसका सन्तोष सुब्बाले ११ हजार ५६१ मत ल्याएका थिए। यो क्षेत्रमा कांग्रेस र एमालेको प्रतिस्पर्धा भएको थियो। धनकुटामा त माटोले एमालेलाई चुनौती नै दियो।
एमालेका राजेन्द्र राई १८ हजार १३२ मत ल्याएर निर्वाचित भए पनि उनलाई पहिलो चरणमा श्रम संस्कृति पार्टीका सानबहादुर राईले निक्कै टक्कर दिए। अन्तिम परिणाम उनले ११ हजार ९३२ मत ल्याए। ताप्लेजुङ, सोलुखुम्बु र ओखलढुङ्गामा भनेँ श्रम संस्कृति पार्टीको खासै प्रतिस्पर्धा देखिएन। यो पार्टीका उम्मेदवारले ३ हजारको हाराहारीमा मत ल्याएका थिए।
उदयपुरको १ र २ नम्बर क्षेत्रमा श्रम संस्कृति पार्टीले राम्रो मत ल्याएको छ। क्षेत्र नम्बर १ मा रास्वपाका पारसमणि गेलालले ३० हजार ५९० मत ल्याएर निर्वाचित हुँदा श्रम संस्कृति पार्टीका राजेश कुमार राई ११ हजार ६०६ मत सहित दोस्रो नम्बरमा छन्। यो क्षेत्रमा चौथोमा कांग्रेस र पाँचौँमा एमाले देखिएको छ। यो क्षेत्र यस अघि कांग्रेसका डा नारायण खड्काले निरन्तर जित्दै आएको क्षेत्र हो।
क्षेत्र नम्बर २ मा कांग्रेस एमालेसँग खासै प्रतिस्पर्धा नगरे पनि नेकपासँग प्रतिस्पर्धी देखिएको छ। सुनसरी १ मा पार्टी अध्यक्ष हर्क राज राई निर्वाचित हुँदा सनुसरी २ मा कांग्रेस, एमाले पछि ७ हजार बढी मत ल्याएर चेतन राई प्रतिस्पर्धामा देखिए। सुनसरी ३ र सुनसरी ४ मा भने खासै प्रतिस्पर्धा भएन।
यसअघि निरन्तर एमाले र नेपाली कांग्रेसले पालै पालो जित्दै आएको मोरङ क्षेत्र नम्बर १ मा यो पटक ती दलहरूलाई श्रम संस्कृति पार्टीको माटोले अघि बढ्दै दिएन। रास्वपा निर्वाचित हुँदा दोस्रो स्थानमा माटोकी शान्ति पाख्रिन लामा १७ हजार ५२२ मतका साथ देखिइन्। त्यसपछि कांग्रेसका खड्ग फागोले ११ हजार ९ सय र एमालेका घनश्याम खतिवडा ९ हजार ८ सय मत सहित तेस्रो र चौथो स्थानमा पुगे।
मोरङ २ मा धेरै मत नल्याए पनि क्षेत्र नम्बर ३ मा माटोले निक्कै प्रतिस्पर्धा ग¥यो। यो क्षेत्रमा रास्वपाले चुनाव जित्दा कांग्रेसका सुनिल शर्मालाई माटोका अमिर मगरले टक्कर दिँदा एमालेका इरन राई पाँचौँमा पुगेका थिए। २०७४ सालसम्म यो निर्वाचन क्षेत्र एमालेको पकड क्षेत्र मानिन्थ्यो।
झापामा पनि श्रम संस्कृति पार्टीको माटोले राम्रै प्रतिस्पर्धा गरेको छ। क्षेत्र नम्बर १ मा रास्वपाका निशा डाँगी निर्वाचित हुँदा कांग्रेस पछि १० हजार बढी मत ल्याएर माटोका केबलराम राई तेस्रो भए। यो क्षेत्रमा एमाले चौथो स्थानमा पुगेको छ। क्षेत्र नम्बर २ मा कांग्रेस चौथो हुँदा माटोका केशवकुमार भण्डारी ७ हजार बढी मत सहित तेस्रो र एमाले दोस्रो छ। झापा ३ मा एमाले कांग्रेसको प्रतिस्पर्धी माटो देखिन्छ। रास्वपा, राप्रपा, कांग्रेस र एमाले पछि माटो छ।
झापा क्षेत्र नम्बर ४ र ५ मा एमाले कांग्रेससँगै माटोले प्रतिस्पर्धा गरेको छ। झापा ५ मा केपी शर्मा ओली पछि ९ हजार भन्दा बढी मत ल्याएर माटोले आफूलाई तेस्रोमा राखेको छ। अहिले पनि दुई मत गणना भइरहेको इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसलाई माटोले चुनौती दियो। कांग्रेसका निश्कल राईले १४ हजार ५ सय ४३ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बूले १३ हजार ६ सय ३२ मत प्राप्त गरे।
यसरी हेर्दा २८ निर्वाचन क्षेत्रहरू मध्ये पहाडी जिल्लामा काग्रेस एमालेसँग माटोले प्रतिस्पर्धा मात्रै गरेन विजयी समेत भएको छ। झापा, मोरङ र सुनसरीका केही क्षेत्रमा माटोले राम्रो प्रतिस्पर्धा गरेको छ। हर्क राज राईले धरानमा गरेको श्रमदान र उनको माटो जोगाउने नाराले प्रभावित पारेको भनेर विश्लेषण गरिएको छ।