धरानः सुनसरी क्षेत्र नम्बर १ बाट राष्ट्रिय राजनीतिमा उदाएको श्रम संस्कृति पार्टी फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनपछि कोशी प्रदेशमा दोस्रो ठूलो दलका रूपमा स्थापित भएको छ ।
निर्वाचन आयोगले बुधबार सार्वजनिक गरेको समानुपातिकतर्फको अन्तिम मतपरिणाम अनुसार हर्कराज राई साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पुराना दल नेपाली कांग्रेस, नेकपा एमालेदेखि नेकपासम्मलाई पछि पार्दै दोस्रो स्थान हासिल गरेको हो ।
प्रदेशमा प्रत्यक्षतर्फ तीन सिट जितेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ २ लाख ९२ हजार ४९ मत प्राप्त गरेको छ ।
समानुपातिकतर्फ भने राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो दल बनेको छ । सो पार्टीले ८ लाख ५३ हजार १ सय ८३ मत प्राप्त गरेको छ । प्रत्यक्षतर्फ पनि रास्वपाले कोशी प्रदेशका १७ सिट जित्दै प्रदेशमा सबैभन्दा ठूलो शक्ति बनेको छ ।
त्यसैगरी, प्रत्यक्षतर्फ ४ सिट जितेको नेपाली कांग्रेस समानुपातिकतर्फ २ लाख ९० हजार ५ सय ६२ मतसहित तेस्रो स्थानमा रहेको छ । प्रत्यक्षतर्फ ४ सिट जितेको नेकपा एमाले भने २ लाख ८८ हजार १ सय ८६ मतसहित चौथो स्थानमा सीमित भएको छ ।
कोशी प्रदेशमा प्रत्यक्षतर्फ कुनै सिट जित्न नसकेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समानुपातिकतर्फ ९७ हजार ६ सय ७९ मतसहित पाँचौं स्थानमा रहेको छ ।
त्यसैगरी, राजसंस्था र हिन्दू राज्यको एजेन्डा उठाउँदै आएको राष्ट्रिय प्रजातन्त्र पार्टी समानुपातिकतर्फ छैटौं स्थानमा सीमित भएको छ । प्रत्यक्षतर्फ कुनै सिट नजितेको राप्रपाले समानुपातिकतर्फ ६२ हजार ८ सय ९९ मत प्राप्त गरेको आयोगले जनाएको छ ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल भने समानुपातिकतर्फ आठौं स्थानमा पुगेको छ । जसपा नेपालले प्रदेशमा १३ हजार ८ सय ४० मत प्राप्त गरेको छ ।
निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फ कोशी प्रदेशमा त्रिमुल नेपालले सबैभन्दा कम १ सय ५ मत प्राप्त गरेको छ ।