धरानः सुनसरीको इटहरी–६ स्थित पूर्वाञ्चल क्याफे तथा आइसक्रिम पार्लरमा आगो नियन्त्रणमा आइसकेको छ ।
क्याफे एवं आइसक्रिम पार्लरको भान्सा कोठाबाट आगलागी भएको हो । आगलागी कसरी भयो भन्नेबारे भने अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी सुवास हमालले जानकारी दिए ।
आगलागी नियन्त्रणमा लिन धरान, रामधुनी, इनरुवा तथा मोरङका विराटनगर र सुन्दरहरैंचालगायत स्थानीय तहका बारुणयन्त्र परिचालन गरिएको थियो । सुरक्षाकर्मी र स्थानीयको सक्रियतामा आगो नियन्त्रणमा ल्याइएको हो ।
इटहरी उपमहानगरपालिकाको आफ्नै बारुणयन्त्र भने यसअघि जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएकाले अन्य स्थानीय तहबाट दमकल मगाइएको थियो । आगलागीमा कति क्षति भयो भन्नेबारेमा केही खुलिनसकेको प्रहरीले जनाएको छ ।