धरानः एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा स्तरोन्नति भइरहेको काकडभिट्टा–लौकही सडक निर्माण कार्य सुस्त भएको छ।
सडक विभागअन्तर्गतको आयोजना निर्देशनालय (एडिबी)ले पाँच खण्डमा विभाजन गरी ९५ किलोमिटर सडकको स्तरोन्नति गरिरहेको भएपनि लक्ष्यअनुसारको प्रगति हुन सकेको छैन। कुल ४६ अर्ब रुपैयाँको लगानीमा निर्माण भइरहेको यो सडकलाई पूर्वी र पश्चिम खण्डमा बाँडिएको छ।
पूर्वी खण्डअन्तर्गत काँकडभिट्टादेखि सितापुरीसम्म ४५ किलोमिटर र पश्चिम खण्डअन्तर्गत झापाको सितापुरीदेखि सुनसरीको लबीपुलसम्म ५० किलोमिटर लम्बाई रहेको छ। निर्माण कम्पनी कोभेक सिआरइजिसि टुण्डी जेभीका प्रतिनिधि अनिश रेग्मीकाअनुसार सन् २०२४ फेब्रुअरी २ बाट निर्माण टिम परिचालन गरिएपनि आयोजनाको पूर्वतयारीमा हुनुपर्ने कामहरू नहुँदा निर्माणमा अवरोध भएको छ।
शहरी क्षेत्रमा सडक आसपास भएका विद्युतीय पोलहरू नयाँ रुटबाट सार्न कठिन भइरहेको उनको भनाइ छ। सडक खण्डमा विद्युतको पोल सार्न सबैभन्दा ठूलो समस्या भएको र खानेपानीको पाइपका कारण समस्या थपिँदा काम गर्न ढिलाई भएको रेग्मीको भनाई छ।
विद्युत प्राधिकरणले हालसम्म ३० प्रतिशतमात्रै पोल स्थानान्तरण गरेको छ भने शहरी क्षेत्रमा विद्युतीय पोलसँगै खानेपानीका पाइपकाकारण पनि निर्माणमा अवरोध आइरहेको निर्माण कम्पनीका प्रतिनिधिको दाबी छ।
दमक बजारमा विद्युतीय पोलकैकारण फ्लाई ओभर निर्माण समेत रोकिएको छ भने पश्चिम खण्डका आयोजना प्रमुख जगत प्रजापतीले विद्युत प्राधिकरणलाई पटक–पटक ताकेता गर्दासमेत लक्ष्यअनुसारको पोल सार्न नसकिएको बताए।
२०२७ जनवरीभित्र सम्पन्न गर्नुपर्ने आयोजनामा अझै १ हजार ५ सयभन्दा बढी पोल सार्न बाँकी रहेको आयोजनाले जनाएको छ ।