Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठानका उपकुलपति र सन्दुक रुइतबीच समझदारीपत्रमा हस्ताक्षर

हाम्रो कोशी आवाज
बैशाख ४ २०८३, शुक्रबार
धरानको बीपी प्रतिष्ठानका उपकुलपति र सन्दुक रुइतबीच समझदारीपत्रमा हस्ताक्षर

धरानः आँखा उपचार सेवाको पहुँच र गुणस्तर सुधार गर्ने उद्देश्यले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र तिलगंगा आँखा प्रतिष्ठानबीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिष्ठानका उपकुलपति प्राडा विक्रमप्रसाद श्रेष्ठ र तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशक प्राडा सन्दुक रुइतले समझदारी-पत्रमा हस्ताक्षर गरेका हुन् ।
दुवै संस्थाबीच आपसी सहयोग विस्तार गर्ने उद्देश्यसहित शिक्षक तथा विद्यार्थी आदानप्रदान, संयुक्त आँखा स्वास्थ्य शिविर तथा सर्जिकल क्याम्प सञ्चालन, विशेषज्ञ सेवा विस्तार, कन्टिन्यू मेडिकल एजुकेसन तालिम तथा आँखा उपचार क्षेत्रमा संयुक्त अनुसन्धानका कार्यक्रम सञ्चालन गरिने सम्झौता भएको प्रतिष्ठानका प्रवक्ता प्राडा शमशेर श्रेष्ठले बताए । सम्झैतापछि पूर्वी नेपालमा गुणस्तरीय आँखा उपचार सेवा विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको श्रेष्ठले बताए ।
यसैबीच प्रतिष्ठान र राष्ट्रिय आविष्कार केन्द्र, काठमाण्डौबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
स्वास्थ्य सेवा, शिक्षा तथा अनुसन्धानमा गुणात्मक वृद्धि गर्ने दीर्घकालिन नीतिअनुरुप प्रतिष्ठानका तर्फबाट एक महत्पूर्ण कदम चालिएको छ । यसै सिलसिलामा प्रतिष्ठानले स्वास्थ्य सेवालाई अझ बढी सुदृढ र निर्बाध रुपमा प्रवाह गर्न काठमाण्डौ स्थित चर्चित र प्रतिष्ठित राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्यका लागि द्विपक्षिय समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
काठमाण्डौमा २०८३ बैशाख २ गते (तद्नुसार १५ अप्रिल, २०२६) का दिन आयोजित एक विशेष समारोहका बीच भएको उक्त हस्ताक्षर कार्यक्रममा प्रतिष्ठानका तर्फबाट अस्पताल निर्देशक डा. जगतनारायण प्रसादले तथा राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट महाप्रबन्धक संजय झाले हस्ताक्षर गरे । सो समझदारीपत्रमा साक्षीका रुपमा प्रतिष्ठानका तर्फबाट उपकुलपति प्रा.डा. बिक्रम प्रसाद श्रेष्ठज्यूले र आविष्कार केन्द्रका तर्फबाट श्री उमेश जङ्ग राईूले हस्ताक्षर गरे ।
समझदारी अनुसार आविष्कार केन्द्रले प्रतिष्ठानमा प्रयोग हुने गरेका सम्पुर्ण बायोमेडिकल उपकरणहरुको सुपरिवेक्षण गर्नुका साथै दैनिक आधारभूत मर्मत, केबल, सेन्सर तथा एसेसरिजहरुको मर्मत वा सो को प्रतिस्थापन, मेकानिकल मर्मत, इलेक्ट्रोनिक पार्टपुर्जा मर्मत तथा प्रतिस्थापन, पावर सप्लाई मर्मत आदि जस्ता कार्यहरु गर्नेछ ।
आविष्कार केन्द्रसँगको सहकार्यले प्रतिष्ठानमा उपकरणहरु बिग्रिएर मर्मत गर्न बाह्य विशेषज्ञ पर्खनु पर्ने बाध्यता र सो का कारण सेवा प्रवाहमा हुने ढिलाईको अन्त्य हुने र उपकरणहरुको नियमित मर्मत र उपलब्धता सुनिश्चित हुनाले सेवाग्राहीहरुले बिना कुनै रोकावट अझ परिस्कृत स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति: बैशाख ४ २०८३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend