Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

२१ वर्षीया युवतीलाई बोरामा हालेर पुलबाट फालेको आशंका, शव ट्याटुले चिनियो

हाम्रो कोशी आवाज
जेष्ठ १७ २०८३, आइतबार
२१ वर्षीया युवतीलाई बोरामा हालेर पुलबाट फालेको आशंका, शव ट्याटुले चिनियो

धरानः
झापाको दमकमा बोराभित्र पोको पारिएको अवस्थामा शङ्कास्पद रूपमा फेला परेको महिलाको शवको पहिचान खुलेको छ। मृतक महिला दमक नगरपालिका वडा नं. ८ बसन्त टोल बस्ने नारायण तिवारीकी २१ वर्षीया छोरी रोमा भन्ने रमा तिवारी रहेको प्रहरीले पुष्टि गरेको हो ।
​जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खड्काका अनुसार, जेठ १६ गते दमक नगरपालिका वडा नं १० सेतुमाडीस्थित रतुवा खोलाको पुल मुनि सेतो प्लास्टिकको बोरामा बाँधिएको अवस्थामा एक महिलाको शव फेला परेको थियो । २–३ दिन अगाडि देखि नै पानीमा रहेको शव पूर्ण रूपमा ढाडिएको र स्वरूप बिग्रिएको कारण तत्काल नामथर र वतन खुल्न सकेको थिएन ।
रातो भेष्ट र जिन्सको पाइन्ट लगाएकी ती महिलाको उमेर सुरुमा अन्दाजी ३०र३२ वर्ष जस्तो अनुमान प्रहरीले गरेको थियो। इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय झापाको संयुक्त टोलीले घटनास्थलको सुक्ष्म अनुसन्धान सुरु गरे पनि मृतकको पहिचान नहुँदा अनुसन्धान कार्य जटिल बनेको थियो।
मृतकको पहिचान खुलाउन प्रहरीले उनको बायाँ हातमा रहेको विशेष प्रकारको ट्याटुको फोटोसहितको प्रेस विज्ञप्ति जारी गर्दै सार्वजनिक रूपमा सहयोगको अपिल गरेको थियो । उक्त ट्याटु र हुलियाका आधारमा सम्पर्कमा आएका मृतकका बुवा नारायण तिवारी र आमा मुना तिवारीले आइतबार दिउँसो प्रहरी कार्यालय झापामा पुगेर शवको पहिचान गरेका थिए ।
​प्रहरीले अनुसन्धानको प्रारम्भिक विवरण अनुसार, मृतक रमा तिवारी गत जेठ १३ गते राति करिव ९ः३० बजेको समयमा कसैलाई केही नभनी घरबाट आफूखुसी निस्किएकी थिइन्। घरबाट निस्किएपछि परिवारसँग सम्पर्कविहीन बनेकी रमाको जेठ १६ गते (चार दिनपछि) खोलामा शव फेला परेको प्रहरीले जनाएको छ।
तिवारीको हत्या गरेर बोरामा पोको पारी खोलामा फालिएको हुनसक्ने आशङ्का सहित इलाका प्रहरी कार्यालय दमक र जिल्ला प्रहरी कार्यालय झापाको टोलीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। उनको मृत्युको कारण अझैसम्म खुलिसकेको छैन ।
पाइपले घाँटीमा कसेर उनको हत्या गरेको हुनसक्ने आशंका गरिएको छ । उनको घाँटीमा पाइपले कसेको चिन्ह रहेको प्रहरीले जनाएको छ । ती महिलाको शव बगेर आएको नभई हत्या गरेर रतुवाको पुलमाथिबाट फालेको हुनसक्ने आशंका गरिएको छ । पुलमाथिबाट फाल्दा बोरा फुटेर हात र कपाल बाहिर निस्किएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: जेष्ठ १७ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend