Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

५४३ आवेदनबाट छानिएका ५५ युवालाई एआईदेखि साइबर सुरक्षासम्मको विशेष तालिम

हाम्रो कोशी आवाज
जेष्ठ २१ २०८३, बिहिबार
५४३ आवेदनबाट छानिएका ५५ युवालाई एआईदेखि साइबर सुरक्षासम्मको विशेष तालिम

धरानः डिजिटल सुशासन, प्रविधिमैत्री समाज निर्माण र युवाको सीप विकासलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले १० दिने ‘आईटी ट्रेनिङ एन्ड प्रोफेसनल डेभलपमेन्ट’ कार्यक्रम सुरु गरेको छ । सूचना तथा सञ्चार प्रविधि शाखाको आयोजनामा तथा जेनेस सोलुसन प्रालिको प्राविधिक सहकार्यमा सञ्चालन भएको तालिममा प्रतिस्पर्धात्मक छनोट प्रक्रियामार्फत ५५ जना युवालाई सहभागी गराइएको छ ।
महानगरका अनुसार तालिमका लागि खुला गरिएको अनलाइन आवेदनमा ५४३ जनाको आवेदन परेको थियो । तीमध्ये उत्कृष्ट ५५ जनालाई छनोट गरी कार्यक्रम सञ्चालन गरिएको हो । तालिममा साइबर सुरक्षा, सञ्चार सीप, परियोजना व्यवस्थापन, क्लाउड कम्प्युटिङ, कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आधारभूतदेखि मध्यमस्तरसम्मका आधुनिक डिजिटल दक्षता विकाससम्बन्धी विषय समेटिएका छन् ।
उदघाटन समारोहमा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेल, महानगरकी आईटी इन्जिनियर अर्चना कर्ण, जेनेस सोलुसनका कार्यकारी परामर्शदाता भीमप्रसाद ढकाल तथा उद्योग संगठन मोरङका महानिर्देशक चूडामणि भट्टराईको उपस्थिति रहेको थियो ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै मेयर नगेश कोइरालाले विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको डिजिटल अर्थतन्त्रमा युवालाई सक्षम बनाउनु समयको आवश्यकता भएको बताए । उनले महानगरले उक्त कार्यक्रमलाई प्रारम्भिक ‘पाइलट परियोजना’का रूपमा अघि बढाएको उल्लेख गर्दै यसको प्रभावकारिता र सहभागीबाट प्राप्त प्रतिक्रियाका आधारमा आगामी दिनमा अझ व्यापक रूपमा विस्तार गर्ने योजना रहेको जानकारी दिए ।
‘सूचना प्रविधि अब विकल्प होइन, आवश्यकता बनेको छ । युवाहरूलाई सीपयुक्त बनाएर अवसरसँग जोड्नु महानगरको प्राथमिकता हो,’ उनले भने ।
त्यसैगरी, शैक्षिक प्रशासन महाशाखाका प्रमुख रामप्रसाद ढुङ्गेलले सूचना प्रविधि क्षेत्रको बढ्दो मागसँगै यस्ता तालिमले युवालाई प्रतिस्पर्धी र रोजगारमुखी बनाउन महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गरे ।
कार्यकारी परामर्शदाता भीमप्रसाद ढकालले कार्यक्रमको अवधारणा प्रस्तुत गर्दै डिजिटल रूपान्तरण र डिजिटलीकरण अभियानमा निजी क्षेत्रको सहकार्यको आवश्यकता औंल्याए । उनले प्रविधिमार्फत स्थानीय तहमा दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताए ।
कार्यक्रमको स्वागत मन्तव्य राख्दै आईटी इन्जिनियर अर्चना कर्णले तालिममार्फत महानगरभित्रका युवा तथा विद्यार्थीलाई व्यवहारिक सूचना प्रविधि सीप, व्यावसायिक दक्षता र आधुनिक प्रविधिसम्बन्धी ज्ञान प्रदान गर्ने लक्ष्य रहेको बताइन् । उनले उत्कृष्ट प्रदर्शन गर्ने सहभागीलाई उन्नत तालिम, इन्टर्नशिप तथा सम्भावित रोजगारीका अवसरसँग जोड्ने योजना समेत रहेको जानकारी दिइन् ।
महानगरपालिकाले यस कार्यक्रमलाई स्थानीय तहको डिजिटल रूपान्तरण अभियानसँग जोड्दै भविष्यमा दक्ष जनशक्ति उत्पादन, नवप्रवर्तन प्रवद्र्धन तथा रोजगारी सिर्जनामा समेत योगदान पुग्ने अपेक्षा गरेको छ । कार्यक्रमले विराटनगरलाई प्रविधिमैत्री सहरका रूपमा स्थापित गर्ने अभियानमा नयाँ आयाम थप्ने विश्वास लिइएको छ ।

प्रकाशित मिति: जेष्ठ २१ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend