धरानः सुनसरीमा प्रहरीले तीब्र गतिमा मोटरसाइकल हुइँक्याउँदा प्रहरी जवानको ज्यान गएको छ ।
मोटरसाइकल चालक रहेका प्रहरी जवानले सडकमा ध्यान नदिँदा र तीब्र गतिमा मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
सुनसरीको कोशी गाउँपालिकामा शुक्रबार राति दुर्घटना हुँदा प्रहरी जवान उदयपुरको त्रियुगा नगरपालिका–२ घर भएका ३२ वर्षीय रन्दीप पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी गाउँपालिका–८ भाण्टाबारीमा सीटी सफारी र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए ।
घटना शुक्रबार राति १० बजेतिरको हो । कार्यालयको काम विशेषले प्रहरी चौकी कोशी ब्यारेजबाट जिल्ला प्रहरी कार्यालय सुनसरीतर्फ मोटरसाइकलमा आउने क्रममा उनी दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरी जवान पौडेलले चलाएको स ११ प २५०० नम्बरको मोटरसाइकल प्र १–०२–००३ ह १०५२ नम्बरको सीटी सफारीसँग ठोक्किएर दुर्घटनामा परेको डीएसपी खड्काले जानकारी दिए ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका पौडेललाई उद्धार गरेर उपचारका लागि सप्तकोशी न्यूरो अस्पताल भोक्राहा लगिएको भए पनि चिकित्सकले राति १०ः२० बजेतिर मृत घोषणा गरेका थिए । संखुवासभाको प्रहरी चौकी चेपुवा लिंगम दरबन्दी भएका पौडेल सुनसरीको प्रहरी चौकी कोशी ब्यारेजमा कार्यरत थिए ।
इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट प्र.ना.नि. सुरेश यादवका अनुसार दुर्घटनापछि सिटी सफारी चालक कोशी गाउँपालिका–८ का ४४ वर्षीय पुने खान भनिने रजाक मियाँ फरार भएका छन् । उनको खोजी तीब्र पारिएको प्रहरीले जनाएको छ । दुवै सवारी साधन अहिले प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ ।