धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीको चाप बढ्दो छ ।
सरकारले निजी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेपछि यहाँ चाप बढेको हो ।
प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठका अनुसार सरकारले दिएको दुई दिन बिदा (शनिबार र आइतबार सार्वजनिक बिदा) दिएको र बीमा कार्यक्रम बन्द भएका कारण बिरामीको भीड बढेको हो । उनका अनुसार अहिले प्रतिष्ठानमा ५ हजारसम्म बिरामी उपचारका लागि आउने गरेका छन् ।
अहिले प्रतिष्ठान पुगेका कतिपय बिरामीहरू पालो कुर्दाकुर्दा हैरान बनिरहेको गुनासो समेत गरेका छन् । धरानका नरहरि काफ्लेले व्यवस्था फेरिएपनि जनताको सास्ती नफेरिएको गुनासो पोखे । रिपोर्टका लागि पनि घण्टौं लाइनमा कुनुपर्ने उनको दुखेसो छ । ‘जनताले कहिलेसम्म एउटा रिपोर्टका लागि घण्टौं लाइनमा कुर्नुपर्ने ?’ उनले प्रश्न गरे ।
नसोचेको बिरामीको चाप बढेपछि प्रतिष्ठानले बिमाको काउण्टर र अन्य काउण्टरसँगै ओपिडी समय पनि बढाएको छ । अहिले प्रतिष्ठानले ४ वटा मात्र रहेको बिमाको काउण्टरमा ३ वटा थपेर ७ वटा बनाइएको छ । बिमाको स्क्यानिङ काउण्टरमा थप ३ वटा थपेर ६ वटा बनाइएको छ भने अरु २ वटा काउण्टर पनि विस्तार गर्ने तयारी भइरहेको प्रवक्ता डा. श्रेष्ठ बताउँछन् ।
गत जेठ ८ गतेदेखि लागू हुने गरी हरेक साताको शनिबार र आइतबार अस्पतालको अन्तरंग सेवा र आकस्मिक सेवाबाहेकका सबै कार्यालयहरु बन्द रहने प्रतिष्ठानले जनाएको थियो भने जेठदेखि नै बीमाको कार्यक्रम बन्द भएको थियो ।
काउन्टर बढाइयो, डाक्टर बढाउन सकिएनः प्रवक्ता
अहिले प्रतिष्ठानमा काउन्टर थप गरेर बिरामीलाई केही राहत भएपनि चिकित्सकहरू बढाउन नसकिएको प्रवक्ता डा. श्रेष्ठ बताउँछन् । ‘जसोतसो काउन्टर बढाउन सकियो, काउन्टर बढाएर बिरामीको चाप घटाइयो तर डाक्टर बढाउन सकिएन, डाक्टर अपुग हुँदा सेवा लिने ठाउँमा उत्तिकै भीड बढ्दो छ ।
अस्पताल प्रशासन प्रमुख अशोक साहले पूर्वका अधिकांश अस्पतालबाट यहाँ बिरामी आउन थालेका छन् र नसोचेको चाप बढेको हो । उनले प्रतिष्ठानमा चिकित्सकको ‘म्यानेज’ हुन नसक्दा समस्या भइरहेको बताए ।
चाप बढ्दा सबैभन्दा बढी सास्ती बिरामी र चिकित्सकले नै खेप्दै आएको उनले बताए । ‘बिरामीले शत प्रतिशत उपचार शुल्क तिर्ने काउण्टरहरूमा घण्टौं लामो लाइन लाग्नुपर्ने, बल्लतल्ल पुर्जी काटेपछि आफ्नो रोग अनुसारको ओपिडीमा पुगेपछि पनि चिकित्सकको टेबलसम्म पुग्न फेरि घण्टौं पालो कुर्नु पर्ने अवस्था छ ।’ उनले थपे ।
त्यस्तै, चिकित्सकले चेकजाँचपछि हुने परीक्षणपछि पनि त्यतिकै सास्ती खेप्नु परिरहेको उनको भनाइ छ । ‘चिकित्सकले चेकजाँच गर्नुहुन्छ, रगत, दिशा पिसाब दिने प्रयोगशालाहरूमा पुग्दासम्म बिरामीले उस्तै सास्ती खेप्नु परिरहेको छ ।’ उनी भन्छन् । बिरामीको चाप बढेपछि प्रतिष्ठानमा चिकित्सकले पनि सास्ती झेल्नु परिरहेको उनी बताउँछन् ।
निमित्त कुलपति डा. इन्द्र लिम्बूले अहिले जेनतेन व्यवस्थापनमा लागिरेको बताए । उनले अरु थप २ वटा काउण्टर पनि विस्तार गर्ने जानकारी दिए । उनले ओपीडि समय साँझ ५ बजेसम्म बनाएको पनि जानकारी दिए ।