धरानः
धरान आउँदै गरेको बस धनकुटामा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
कोशी लोकमार्गअन्तर्गत धनकुटा नगरपालिका–९ च्याङच्याङबारीस्थित मूलघाट क्षेत्रमा शुक्रबार दिउँसो संखुवासभाबाट धरान आउँदै गरेको यात्रुबाहक बस दुर्घटनामा परेको हो । दुर्घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।
संखुवासभाबाट धरानतर्फ जाँदै गरेको को १ ख ७७८८ नम्बरको बस अचानक अनियन्त्रित भई सडकमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक रामप्रसाद खनालले जानकारी दिए ।
बसमा सवार करिब १५ यात्रुमध्ये ११ जना सामान्य घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी तत्काल उपचारका लागि पठाइएको प्रहरी चौकी मूलघाटबाट प्रहरी सहायक निरीक्षक हरिकुमार राईले जानकारी दिए ।
दुर्घटनापछि केही समय अवरुद्ध बनेको सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।