Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानबासीको लागि खुशीको खबर, कोशीको पानी आउने पक्का

हाम्रो कोशी आवाज
जेष्ठ ३० २०८३, शनिबार
धरानबासीको लागि खुशीको खबर, कोशीको पानी आउने पक्का

बालेनले बोलेको बाचा पूरा गरे, तिर्खारहने धरानेलाई कोशीको पानी ल्याएर प्यास मेटाउने, नगर सरकार खुशी

धरानः धरानबासीको लागि खुशीको खबर । वर्षौदेखि खानेपानीको सङ्कट झेलिरहेको धरानका लागि कोशीबाट ‘मेकानिकल लिफ्टिङ’ मार्फत् पानी आउने भएको छ ।
तिर्खारहने धरानेलाई कोशीको पानी ल्याएर प्यास मेटाउन संघीय सरकारले आर्थिक वर्ष २०८३–०८४ बजेटमा समेटेको छ । धरान उपमहानगरपालिकाको एकीकृत खानेपानी तथा व्यवस्थापन आयोजनाअन्तर्गत ‘कोशी–चतरा खानेपानी आयोजना’ निर्माण कार्यका लागि ४९ करोड ९९ लाख ४७ हजार रुपैयाँ विनियोजन भएको छ ।
करिब कोशीको पानी ल्याउन ३ अर्ब रुपैयाँ बजेट लाग्ने र बहुवर्षीय योजनाअन्तर्गत यसपटक यति रकम विनियोजन भएको हो । यस्तै, धरान (सप्तकोशी नदी स्रोत) खानेपानी आयोजनाको आयोजना व्यवस्थापन तथा सुपरभिजन परामर्श सेवाका लागि पनि २१ लाख रुपैयाँ विनियोजन भएको छ ।
यस्तै, धरान रंगशालामा फ्लाइलाइट निर्माणका लागि ३ करोड रुपैयाँ छुट्टिएको छ । यस्तै, धरान नगरभित्रका विभिन्न सडक मर्मतका लागि एकमुष्ट १ करोड ५० लाख, पूर्वाधार निर्माणका लागि एकमुष्ट ३ करोड, धरान–५ स्थित अँधेरी खोलामा पुल निर्माण कार्यलाई बहुवर्षीय योजनामा समावेश गरी आवश्यक बजेट विनियोजन भएको छ ।
बजेट विनियोजन भएपछि सांसद हर्क साम्पाङ पनि खुशी देखिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । खानेपानीको लागि मोटो रकम सहयोग गर्नु भएकोमा नेपाल सरकारलाई हार्दिक धन्यवाद !
धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले संघीय सरकारले बजेट विनियोजन गरेकोमा खुशी व्यक्त गर्दै धरानको खानेपानी, सडक, खेलकुद तथा समग्र पूर्वाधार विकासलाई थप गति दिने विश्वास लिएको बताए । उनले पनि बजेट विनियोजन गरिदिएको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई धन्यवाद दिएका छन् ।

बालेनले बाचा पूरा गरे
खानेपानीको समस्या समाधानका लागि प्रधानमन्त्री बालेन शाहले इटहरीस्थित आयोजित सभामा बोलेको बाचा पूरा गरेका छन् । बालेनले त्यतिबेला धरानबासीलाई पानी खुवाउने जिम्मा म लिन्छु भनेर घोषणालाई धरान र आसपासका क्षेत्रमा निकै चासोका साथ हेरेका थिए । यसअघि इटहरीमा बालेन प्रधानमन्त्री नभई इटहरी आउँदा पनि कोशीको पानी ल्याएर धरानेको प्यास मेट्ने बताएका थिए ।
इटहरीको सभामा बोल्दै प्रधानमन्त्री बालेनले धरानको खानेपानी समस्या समाधानका लागि रास्वपाले नेतृत्व लिने बालेनले बताएका थिए । कोशीबाट पानी ल्याउन यसअघि नै डिपिआर भए पनि काम अघि नबढेको भन्दै उनले अन्य दलका प्रतिनिधिलाई व्यङ्ग्य गर्दै भनेका थिए–खानेपानीको व्यवस्थापन कोशीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा ल्याउन लगभग ५÷६ अर्ब लाग्छ । तर सायद यहाँको जनप्रतिनिधि सरकारमा पुगेन होला, त्यहाँको पार्टी पुगेन होला, अब रास्वपा पुग्छ ।
यसअघि धरानका मेयर छँदा हर्क साम्पाङले ऋणमार्फत् अघि बढाउन नचाहेको कोशीबाट पानी ल्याउने योजना अघि बढाउने बालेनले बताएका थिए ।
साम्पाङले आफ्नो कार्यकालमा श्रमदानमार्फत कोकाहा, पकुवा र सर्दु खोलाका पानी धरान ल्याएर चर्चा कमाएका छन् । उनले पनि यसअघि धरानको मेयर छँदा खानेपानीको लागि प्रयत्न भने नगरेका भने होइनन् ।
हर्कले धरानबासीको लागि पानी खुवाउन निकै मरिहत्ते गरेका थिए । धरानका खोलाखाल्सी चहार्नेदेखि कोकाहको खानेपानी ल्याएर पानी खुवाउन उनी सफल भएका थिए । उनले खोलाखाल्सी चहार्दै खोलाका पानीमा सुधारेर ल्याएको पानी, कोकाहबाट पानी ल्याएको पानी साथै प्रदेश सरकारले निर्माण गरेको वेलबाट आएको पानीले अहिले धरानबासीलाई केही राहत भने छ । अहिले धरानमा खासै खानेपानीको समस्या नभएपनि भविष्यमा यसले खानेपानीको सङ्कट निम्त्याउनेछ । साम्पाङले कोशीको पानी धरान ल्याउन निकै मरिहत्ते गर्दै केपी ओली प्रधानमन्त्री हुँदा पटक पटक सिंहदरबार धाइरहे । साम्पाङ सिंहदरबारमा रित्तो गाग्री नै बोकेर पुगेका थिए ।
सांसद भइसकेपछि साम्पाङले कोशीको पानीको लागि बजेट पारिदिन पहल गरेका थिए भने धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले पनि पत्र पठाएका थिए ।

प्रकाशित मिति: जेष्ठ ३० २०८३, शनिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend