धरानः धरानको स्मार्ट बसपार्क असार १ गते उदघाटन भएर सञ्चालनमा आउने चर्चासँगै अब भानुचोकको अवस्था के होला भन्ने जिज्ञासा पनि छ ।
धरान उपमहानगरपालिकाले त्यसलाई सदुपयोग गर्ने सुरसारमा छ । भानुचोक परिसरमा खाली रहने जग्गा लोकतान्त्रिक चौतारी मास्तिर कल्चरल शो (सांस्कृतिक कार्यक्रम) देखाउने तयारीमा धरान उपमहानगरपालिका छ । कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले पर्यटक रमाउने, धरानबासी रमाउने खालको ‘कल्चर शो’ का लागि स्टेज तयार गरेर दिनहुँ रात्रीकालीन कल्चरल शो देखाउने तयारीमा रहेको जानकारी दिए । ‘भानुचोकको खाली रहेको जग्गालाई सदुपयोग गर्न हामी एउटा राम्रो कन्सेप्टमा छौं’, उनले भने, ‘भानुचोकमा धरानबासीलगायत आन्तरिक र बाह्य पर्यटक जमघटको केन्द्र्र बनाउँदैछौं, त्यहाँ बहुसांस्कृतिक प्रदर्शन गर्ने थलोका रुपमा विकास गर्दै ३६५ दिन सांस्कृतिक झाँर्ने प्रदर्शनीस्थल बनाउनेछौं, जहाँ साँझ, रातको समयमा सांस्कृतिक प्रदर्शनी हुनेछ, त्यसको जिम्मा धरान–२ का वडाध्यक्ष रमेश राईलाई संयोजकको जिम्मेवारी दिएका छौं ।’
धरान–२ का वडाध्यक्ष रमेश राईका सांस्कृतिक कार्यक्रमसँगै खानपिन, बजारमा पाइने सामान सस्तो बनाउने तयारीमा रहेका छौं ।
बसपार्क असार १ गतेदेखि उदघाटन भई अलि केही समय ढिलो अर्थात् असार १३ गतेसम्ममा सार्ने तयारीमा उपमहानगरपालिका छ । धरान उपमहानगरपालिकाको नगर कार्यपालिका बैठकले असार १ गते उदघाटन गरेसँगै सञ्चालनमा ल्याउने गरी सर्वसम्मतले निर्णय भएको थियो ।
धरान उपमहानगरपालिकाले हाल भानुचोक क्षेत्रबाट सञ्चालन हुँदै आएका सार्वजनिक सवारी साधनलाई क्रमशः नयाँ बसपार्कमा स्थानान्तरण गर्ने तयारी गरेको छ । यसबाट धरानको यातायात व्यवस्थापन थप व्यवस्थित हुने, ट्राफिक चाप कम हुने तथा शहरको सौन्दर्य बढ्ने अपेक्षा गरिएको छ ।
धरानमा आधुनिक बसपार्क निर्माणको अवधारणा २०५६ सालपछि शुरु भएको थियो । पुरानो बसपार्क साँघुरो बन्दै गएपछि २०६७ सालतिर धरान–८ को सुन्दरबस्ती क्षेत्रमा स्थानान्तरण गर्ने योजना अघि बढाइएको थियो ।
कुरा उठ्यो बनेन सुविधासम्पन्न सपिङ कम्प्लेक्स
धरान उपमहानगरपालिकाको मुटु धरान-२ स्थित भानुचौकमा महत्वकांक्षी योजनाअनुरुप सुविधासम्पन्न सपिङ कम्प्लेक्स बनाउने गुरु योजना थियो तर त्यो अहिले ‘फेल’ खाएको छ ।
अहिले त्यो ठाउँमा सवारी साधन रोक्ने र चुनावताका भाषण गर्ने थलो बन्ने गरेको छ । र अन्य समय मनोरञ्जलस्थल (कन्सर्ट, नाचगान आदि) समेत बनेको छ । सुविधासम्पन्न सपिङ कम्प्लेक्स बनाउने गुरुयोजना धरान उपमहानगरपालिकाले निर्णय उल्टाइदिएपछि सो अनिश्चित बनेको हो । यसअघि सपिङ कम्पलेक्स बन्छ भनेर व्यवसायीले सब्जीमण्डी र फेन्सी स्टोरका टहरा भत्काएका थिए । सो स्थानबाट सब्जी बजार सारेर धरान–९ पूर्णपथमा पालिका तरकारी बजार नामाकरण गरी सारिएको थियो । तर दुई वर्षपनि नभई व्यवसायीको असुरक्षा बढ्दै गएपछि धरान-३ चिनियाँचौकमा सब्जीबजार सारिएको थियो ।
तत्कालीन मेयर मनोजकुमार मेन्याङ्वोले भानुचोकको तरकारी बजारलाई हटाएर सपिङ कम्प्लेक्स बनाउने योजना अगाडि सारेका थिए । २०५६ सालअगाडि सब्जीमण्डी र फेन्सीसपको टहराबाट उपमहानगरपालिकालाई वार्षिक ३ करोड रुपैयाँ आम्दानी हुने गरेको रेकर्डमा उल्लेख छ । ६ कट्ठाको सो जमीनमा अहिले कल्चरल शो देखाउने तयारी थालिएको हो । भानुचोकमा सपिङ कम्प्लेक्स निर्माण गरेर त्यहाँ विभिन्न जातजातिको परिकार चखाउने ठाउँ बनाए अझै धरान उपमहानगरपालिकाको आम्दानीको स्रोत बन्ने कतिपयको तर्क छ ।