दाँत, मुख तथा च्यापु र नाक, कान, घाँटीसम्बन्धी रोगमा सहजता
धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक प्रविधियुक्त मेसिन सञ्चालनमा आएको छ ।
प्रतिष्ठानको दन्त सेवालाई थप प्रभावकारी, गुणस्तरीय तथा विशिष्टीकृत बनाउने उद्देश्यका साथ प्रतिष्ठानको कलेज अफ डेन्टल सर्जरीमा विश्वस्तरीय प्रविधिको अत्याधुनिक डिजिटल इमेजिङ प्रविधिमा आधारित केयरस्ट्रिम कम्पनीको युसिएस ९६०० फुल फोभ्यु मोडलको मेसिन सञ्चालनमा ल्याइएको हो ।
कलेज अफ डेन्टल सर्जरी अन्तर्गतका ओरल मेसिन एण्ड रेडियोलोजी विभागमा एक समारोहका बीच औपचारिक उदघाटन भएको छ । निमित्त कार्यालय प्रमुख डा. इन्द्र लिम्बू र प्रा.डा. शिवलाल शर्माले संयुक्तरूपमा रिवन काटेर सो मेसिनको उद्घाटन भएको थियो ।
सहायक अस्पताल निर्देशक डा. विजय श्रेष्ठ, कलेज अफ डेन्टल सर्जरीका चिफ प्रा.डा. नविन अग्रवाल, का.मु. सह–रजिष्ट्रार सागर ताम्राकार, प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठ, मेट्रोन कला थापा, कलेज अफ डेन्टल सर्जरी अन्तर्गतका विभागीय प्रमुखहरू, विभिन्न महाशाखा तथा शाखा प्रमुखहरू, प्राविधिक, नर्सिङ एवं प्रशासनिक कर्मचारीहरू, विद्यार्थीहरूका साथै स्थानीय सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
यो अत्याधुनिक प्रणाली नवीनतम डिजिटल इमेजिङ प्रविधिमा आधारित उच्चस्तरीय निदान प्रणाली हो । सो प्रविधिले बिरामीको दाँत, कमलो तन्तु, स्नायु प्रणाली र बङ्गाराको हड्डीको सुक्ष्म अध्ययन गर्न मद्दत गर्दछ ।
यो प्रविधिको आगमनसँगै विशेषगरी दाँत, मुख तथा च्यापु र नाक–कान–घाँटीसम्बन्धी रोगहरूको उपचारमा ठूलो सहयोग पुग्ने विश्वास लिइएको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. शमशेर श्रेष्ठले जानकारी दिए ।
रोगको सुरुवाती अवस्था मै सही पहिचान गरी उचित उपचारको खाका तयार गर्न, डेन्टल इम्प्लान्ट राख्नु अघि हड्डी र नशाको अवस्थाको सटिक मूल्यांकन र इम्प्लान्ट प्लानिङ गर्न, मुख तथा अनुहारको जटिल शल्यक्रिया गर्नुअगाडि शल्यक्रिया गरिने क्षेत्रको विस्तृत अध्ययन गर्न, उपचार वा शल्यक्रिया सफल भए, नभएको र सुधारको अवस्था कस्तो छ भनी प्रभावकारी अनुगमन गर्न, दाँत सिधा बनाउने, बालबालिकाको दन्त उपचार र बंगाराको जोर्नीको समस्याको विशिष्ट मूल्याङ्कन गर्ने जस्ता कार्यका लागि मेसिन अत्यन्तै उपयोगी रहने उनले बताए ।
प्रतिष्ठानले हाल यो सेवाअन्तर्गतका विभिन्न परीक्षणहरू तोकिएको सुलभ शुल्कमा उपलब्ध गराएको छ । बिरामीहरूले समयमै गुणस्तरीय तथा आधुनिक निदान सेवा पाउन सकून् भन्ने उद्देश्यका साथ संचालनमा ल्याइएको सो मेसिनले परम्परागत वा साधारण सिटी स्क्यान र एक्स–रेको तुलनामा विकिरण समेत निकै कम उत्सर्जन गर्दछ । यस उच्च सुरक्षा विशेषताका कारण स्क्यान गराउने बिरामी मात्र नभई मेसिन सञ्चालन गर्ने स्वास्थ्यकर्मीहरू समेत विकीरणको जोखिमबाट सुरक्षित रहने उनले बताए ।
प्रतिष्ठानमा यस उच्च प्रविधिको सफल सञ्चालनले पूर्वी नेपाल र समग्र देशकै दन्त चिकित्सा उपचारको क्षेत्रलाई नयाँ उचाइमा पुरयाउने अपेक्षा गरिएको प्रतिष्ठानका डा. इन्द्र बताउँछन् ।





