Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान च्याम्पियन बन्दै जित्यो २ लाख, समीक्षा याख्खा बनिन् नायक

हाम्रो कोशी आवाज
असार २१ २०८३, आइतबार
धरान च्याम्पियन बन्दै जित्यो २ लाख, समीक्षा याख्खा बनिन् नायक

धरानः कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता–२०८३ को उपाधि फेयर फुटबल क्लब धरानले जितेको छ ।
इटहरी–९ स्थित प्रादेशिक रंगशालामा सम्पन्न रोमाञ्चक फाइनलमा इलामको आत्मा पवित्र एफसी मासेबुङलाई १–० गोल अन्तरले पराजित गर्दै धरानले उपाधिमाथि कब्जा जमाएको हो ।
निकै प्रतिस्पर्धात्मक बनेको फाइनल खेल निर्धारित ९० मिनेटसम्म गोलरहित बराबरीतर्फ उन्मुख भइरहेका बेला धरानकी वैकल्पिक खेलाडी समीक्षा याख्खा नायक बनिन् । समीक्षाले इन्जुरी समयमा थप गरिएको तीन मिनेटको अतिरिक्त समयमा निर्णायक गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाइन् ।
जेनिफर राणाले उपलब्ध गराएको उत्कृष्ट पासलाई उनले सहजै जाली चुमाएकी थिइन् । निर्णायक गोलसँगै धरान च्याम्पियन बनेको हो । उत्कृष्ट प्रदर्शन गरेकी समीक्षा फाइनल खेलको ‘प्लेयर अफ द म्याच’ घोषित हुँदै नगद ५ हजार रुपैयाँबाट पुरस्कृत भइन् ।
उपाधिसँगै फेयर फुटबल क्लब धरानले नगद २ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता आत्मा पवित्र एफसी मासेबुङ इलामले १ लाख रुपैयाँ सहित ट्रफी प्राप्त गरेको छ ।
व्यक्तिगत विधातर्फ धरानकी उषा थापा उत्कृष्ट गोलकिपर घोषित भइन् भने प्रतियोगिताभर तीन गोल गरेकी इलामकी वर्षा ओली सर्वाधिक गोलकर्ता (हाई स्कोरर) बनिन् । उनीहरूले जनही ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यस्तै प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी (मोस्ट भ्यालुएबल प्लेयर) धरानकी कप्तान प्रजिता राई घोषित भइन् । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार हात पारिन् ।
विजेता तथा उपविजेता टोली र उत्कृष्ट खेलाडीहरूलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका उपाध्यक्ष बसन्त अर्याल, एन्फा कोशीका उपाध्यक्ष शिव न्यौपाने, एन्फा सुनसरीका वरिष्ठ उपाध्यक्ष भेषराज कार्की लगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।
असार १५ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा कोशी प्रदेशका विभिन्न जिल्लाका ८ टोली सहभागी भएका थिए ।

प्रकाशित मिति: असार २१ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend