धरानः धरान-१३ स्थित कृषि उपज बजारको जग्गामा अनाधिकृतरूपमा संरचना निर्माण गरेर अतिक्रमण गरेको भन्दै ज्ञापनपत्र बुझाइएको छ ।
नेपाल सरकार कृषि तथा प्राकृतिक स्रोत समितिका सभापति तथा सुनसरी ३ का सांसद अशोककुमार चौधरी, समितिकै सहसचिव तथा सांसद् केपी खनाल, रास्वपाकै सांसद् सागर ढकाल धरान आउँदा कृषि बजारमा आयोजित कार्यक्रममा ज्ञापनपत्र बुझाइएको हो । कृषि बजार व्यवस्थापन समितिले सो ज्ञापनपत्र बुझाएको हो ।
१२ बुँदे ज्ञापनपत्रमा नेपाल सरकारका नाममा दर्ता रहेको बजार क्षेत्रभित्र अव्यवस्थित वस्ती (६ घर परिवार) लाई अन्यत्र स्थानान्तरण गर्न पहल गरिदन माग गर्दै ज्ञापनपत्र बुझाइएको हो । यस्तै, समितिले बजेट विनियोजन, फोहोर व्यवस्थापन, कृषि एम्बुलेन्सलगायतको माग राख्दै ज्ञापनपत्र बुझाइएको बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीले जानकारी दिए ।
बजार व्यवस्थापक लक्ष्मण भट्टराईले डराउँदै ज्ञापनपत्र पढेर सुनाएका थिए । उनले वस्ती खालीबारे जानकारी गराउँदा आफूहंरू डरत्रासमा बस्नुपरेको गुनासो गरे ।
यसअघि धरानमा सुकुम्बासी बस्ती रहेको जग्गा खाली गर्न संघीय सरकारले पत्र पठाएको थियो । कृषि उपज बजार क्षेत्रभित्र बसोबास गर्दै आएका सुकुम्बासी परिवारलाई हटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले विवरण पेश गर्न बजार व्यवस्थापन समितिलाई पत्राचार गर्नुका साथै निर्माण गरिएका भौतिक संरचना डोजर लगाएर खाली गराउन निर्देशन समेत थियो ।
विभागले वैशाख २४ गतै नै कृषि उपज बजारलाई पत्र लेखेको थियो । पूर्वी पहाडी र तराईका जिल्लामा उत्पादित कृषिजन्य फलफूल, तरकारी, चौपाया, जडिबुटी र मसलाजन्य वस्तुको थोक बजार सञ्चालन गर्न, छिमेकी मुलुक (भारत र बंगलादेश)मा निर्यात र आयात गर्न २०५१ सालमा कृषि मन्त्रालयले कृषि उपज बजारका लागि जग्गा खरिद गरेको थियो ।
बजारको क्षेत्रफल १ बिघा १३ कट्ठा १२ धुर रहे पनि पूर्वतिर करिब ३ कट्ठा जमिनमा ६ परिवार तीन दशकदेखि बस्दै आएको बजार व्यवस्थापन समितिका अध्यक्ष काजी गिरीले बताए । उनका अनुसार २०५४ सालमा सामान्य बजार लागे पनि २०५८ साल मंसिर ४ गतेदेखि धरानका तत्कालीन मेयर मनोजकुमार मेन्याङ्बोको पहलमा औपचारिक रूपमा बजार सञ्चालन भएको थियो ।
कृषि उपज बजारले अतिक्रमण गरेर बसेका ६ घरलाई उठाउन पछिल्लो समयमा पटकपटक प्रयास गरे पनि असफल भएको थियो । हाल वार्षिक करिब ७ अर्ब रुपैयाँको थोक कारोबार गर्दै आएको मुलुककै उत्कृष्ट कृषि बजारको रूपमा स्थापित धरानको उक्त बजार विस्तारका लागि भौतिक पूर्वाधार निर्माण भइरहेको अवस्थामा विभागको निर्देशन आएको हो ।
निर्देशनपत्र धरानको कृषि बजारले कार्यान्वयनका लागि कार्यवाहक मेयर बेघाको टेबलमा पुरयाएपनि कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले पत्र आफूसमक्ष आइपुगे पनि आफ्नो कार्यकालमा धरानका सुकुम्बासी घरपरिवार तत्काल नहटाउने बताएका थिए । उनले कसैलाई घरबारविहीन नबनाउने उल्लेख गर्दै भने, ‘कसैलाई पनि बलपूर्वक हटाउने काम मेरो कार्यकालमा गर्दिनँ । सबै नागरिकको बाँच्न पाउने अधिकार छ । कुनै पनि परिवार घरबारविहीन हुने अवस्था आउन नहुने मेरो अडान कायम छ ।’




















