Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

भ्रष्टाचारको आहालमा डुबिरहने धरानको बीपी प्रतिष्ठानमा ‘मलाई सबै थाहा छ’ भन्दै गृहमन्त्रीको प्रवेश

हाम्रो कोशी आवाज
असार २१ २०८३, आइतबार
भ्रष्टाचारको आहालमा डुबिरहने धरानको बीपी प्रतिष्ठानमा ‘मलाई सबै थाहा छ’ भन्दै गृहमन्त्रीको प्रवेश

धरानः सधैंजसो भ्रष्टाचारको आहालमा डुबिरहने र स्वास्थ्य सेवा प्रभावकारी दिन नसकेको भनेर चर्चा कमाएको धरानस्थित बीपी कोइराला प्रतिष्ठान केही सुधारको बाटोमा छ ।
‘मलाई निरीक्षण भ्रमण नगराइदिनुहोला, मलाई प्रतिष्ठानबारे सबै थाहा छ’ भन्दै एकाएक गृहमन्त्री सुधन गुरुङ प्रतिष्ठानमा आएर छलफल चलाएका छन् ।
हुन पनि हो– २०७८ सालमा उनकै नेतृत्वमा सेभ घोपा अभियान ७ महिनासम्म चलाइएको थियो । त्यतिबेला ‘सेभ द घोपा क्याम्प’ मुख्य नारा लिएर प्रतिष्ठाननजिकै सडकमा सधैंजसो धर्नामा बसिरहने र भाषण ठोकिरहने उनी नै थिए । उनीसहित अन्य धरानबासीले ‘जिन्दगीसँग खेलबाड गर्न पाइँदैन भ्रष्ट प्रशासन चाहिँदैन’, ‘हामीलाई आईसीयूमा बेड चाहिन्छ, भ्रष्टाचार त जताततै पाइन्छ’ लगायतका नारा लेखेको प्लेकार्ड बोकेर बस्ने गर्दथे । तर त्यो आन्दोलन त्यतिकै तुहिएको थियो । आइतबार गृहमन्त्री बनेपछि उनी प्रतिष्ठानका पदाधिकारीहरूसँग छलफलमा बसे, प्रतिष्ठान सुधारका लागि कडा निर्देशन समेत दिँदै केही निचोड निकालेर पत्रकारहरूसँग केही कुराकानी नै नगरी फर्किए ।
विगत ५ वर्षदेखि एमआरआई मेसिन नभएर अन्यत्र धाउनुपर्ने प्रतिष्ठानमा अब भने मेसिन आउने पक्कापक्की भएको स्वास्थ्यमन्त्री निशा मेहताले भने जानकारी दिइन् । बिरामीले एमआरआई गर्न विराटनगर कि प्राइभेट हस्पिटल पुग्नुपर्ने बाध्यताको अन्त्य हुन लागेको स्वास्थ्यमन्त्री मेहताले जानकारी दिइन् । ‘यहाँको अहिले तत्कालको मुख्य समस्या भनेको एमआइआई मेसिन र एमसिएच विल्डिङ सञ्चालनमा ल्याउन सक्नु हो’, उनले हाम्रो कोशी आवाजसँग भनिन्, ‘दुवैको फाष्ट ट्रयाकमा काम भइरहेको छ, एमसिएच विल्डिङको ग्राउण्ड फ्लोर ओपिडी फाष्ट ट्रयाकमा ओपनिङ हुने क्रममा छ ।’
एमआरआइ मेसिनका लागि बोलपत्र आहवान भइसकेको र चलखेलबिनै मेसिन आउने उनको भनाइ छ । उनले प्रतिष्ठानले अब राजनीतिक चलखेलबिनाको उपकुलपति नियुक्ति गर्न लागेको पनि उनले जानकारी दिइन् । ‘उपकुलपतिको लागि पनि कसैको चलखेल छैन, विज्ञहरूको टोलीले छानेको उपकुलपति आउनेछन् ।’ उनले भनिन् । प्रतिष्ठानलाई छाता संगठनमा लाने विषयमा अध्ययन भइरहेको पनि उनले जानकारी दिइन् ।
उनले स्वास्थ्य बीमाको बारेमा प्याकेजमै परिवर्तन ल्याउने समेत बताइन् । ‘प्याकेज रिभ्यू भइरहेको छ, मूल्यमा हेरफेर भइरहेको छ’, उनले भनिन् । उनले अब प्रतिष्ठानमा बेथितिको कुरा सुन्न नपरोस् भन्दै आफू फर्किएको समेत बताइन् ।
प्रतिष्ठानमा अब मासिक सार्वजनिक सुनुवाई कार्यक्रम राखिने पनि उनले जानकारी दिइन् । ‘मासिकरूपमा अब जनतासँग सार्वजनिक सुनुवाई कार्यक्रम राखेर कसरी प्रतिष्ठानलाई अझै सुधार गर्न सकिन्छ भन्ने हाम्रो ध्येय छ ।’ उनले भनिन् ।
प्रतिष्ठान सुधार्न सरकार उदासीन देखिँदै आएको छ । शिक्षा र स्वास्थ्यजस्तो विषयमा फास्ट ट्रयाकबाट सम्बोधन हुनुपर्ने विषयमा यसअघि ल्याङ्गरिङ हुँदै आएको थियो । प्रतिष्ठानको शुद्धीकरणको माग राखेर विद्यार्थी, अभियन्ता यसमा लागिरहन्थे । जताततै अनियमितता र स्वास्थ्य सेवा भद्रगोलका कारण जनता आजीत छन् ।
एक्स–रे, डिजिटिल एक्स–रे, अल्ट्रासाउण्ड र सिटी स्क्यानले देख्न नसकेको रोगको जड एमआरआई मेसिनले पत्ता लगाउँछ । तर विडम्बना एशियाकै नाम चलेको अस्पताल, अतिविशेषज्ञ सेवा सुचारु हुने गरेको प्रतिष्ठानमा विगत ५ वर्षदेखि एमआरआई मेसिन समेत थिएन । यहाँका पदाधिकारीहरूको बेवास्ताले प्रतिष्ठानले आम्दानी मात्र गुमाएको छैन, बिरामीले दुःख पनि पाउँदै आएका छन् ।
एमआरआई मेसिन अभावमा कतिपय बिरामीहरूलाई प्रतिष्ठानले रेफर गर्दा दुःख पाउँदै आएका छन् । आँगनमा भएको अस्पतालमा एमआरआई सेवा नभएपछि धरानेहरू समेत विराटनगरको महङ्गो अस्पतालमा सेवा लिन बाध्य थिए । प्रतिष्ठानमा एमआरआई नहुनु भनेको त्यहाँबाट दैनिक ४० देखि ६० बिरामी अन्यत्र पठाउनु हो । एमआरआईका लागि अन्यत्र रिफर गर्नु भनेको सरदर वार्षिक १८ करोड रुपैयाँभन्दा बढी रकम बढी निजी अस्पताललाई लाभ गराउनु हो । यसअघि उपत्यका बाहिरको अस्पतालमा सबैभन्दा पहिले एमआरआई मेसिन बीपी प्रतिष्ठानले जडान गरेको थियो ।
सरकारले प्रतिष्ठानमा बेला–बेला अनुदान पनि दिँदै आएको छ । त्यो समेत प्राप्त नहुँदा अहिले प्रतिष्ठान थलिएको समेत छ । अहिले पनि एमआरआइलगायत अन्य मेसिन प्रयोगहीन र गुणस्तरहीन नै छन् । वीपी प्रतिष्ठानमा एमआरआई नहुँदा बिरामीले सास्ती त खेपेकै छन्, चिकित्साशास्त्र अन्तर्गत रेडियोलोजी पढ्ने विद्यार्थीको सिकाइ पनि प्रभावित भएको छ ।

 

प्रकाशित मिति: असार २१ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend