Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानमा ज्यान गयो, खुट्टा भाँच्चियो तर बनेन कल्भर्ट

हाम्रो कोशी आवाज
असार २३ २०८३, मंगलबार
धरानमा ज्यान गयो, खुट्टा भाँच्चियो तर बनेन कल्भर्ट

धरानः धरानमा अलपत्र अवस्थामा रहेको धरान-८ स्थित मदन-भण्डारी राजमार्गले ज्यान लियो, धेरैको खुट्टा भाँच्चियो तर कल्भर्ट भने वर्षौ भयो बनेको छैन । पहिला कल्भर्टको डिजाइनमा बनाइएको भएपनि अहिले पुल हाल्नुपर्ने अवस्था नै आएको छ । ठूलो भ्वाङ परेको र भ्वाङ समेत बढ्दै गएर अहिले पुल नै निर्माण गर्नुपर्ने अवस्थामा पुगेको हो ।
यसअघि कुलमान घिसिङ मन्त्री हुँदा आएर अनुगमन गरे, बनाइहाल्छौं भनेर आश्वासन दिए तर बनाएनन् । धेरै अभियन्ता, स्थानीय नेताले पनि भिडियो बनाउँदै दबाव सिर्जना गरे तर अलपत्र नै बनिरह्यो कल्भर्ट । स्थानीय सरकारले घचघच्याउने काम भने गरयो तर सुनुवाइ भएको छैन ।
२०८१ साउन २३ गतेको वर्षापछि चैत महिनामा निर्माण सम्पन्न भएको सो राजमार्गको सडक वर्षाले दुईटुक्रा बनाएको थियो । सडक विभाग र ठेकेदारले बाटो निर्माण गर्दा हेलचक्राई गरेकाले निर्माण सम्पन्न भएको छोटो समयमै बाटो भत्किएको स्थानीयले बताएका छन् । उहिल्यै घोपा क्याम्पको समयमा बेलायती सरकारले पुल बनाएकै स्थानमा पुल थापिँदा भत्काएको हो ।
राजमार्गअन्तर्गत रहेको तीनढ्वाङगेस्थित सडकको खोल्सामा ठूलो भ्वाङ परेको छ । केहीदिनअघि सोही भ्वाङमा अचानक एक युवा मोटरसाइकलसहित खस्दा युवा घाइते बने । घाइते युवाको खुट्टासमेत भाँच्चिएको छ । सडकको जीर्ण रहिरहँदा दुईजनाले ज्यान गुमाइसकेका छन् भने दर्जनौं सवारी साधन भ्वाङमा परिरहेका छन् ।
सडक विभाग, केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारबाट पटक–पटक आश्वासन आएपनि निर्माण कार्यले गति लिन नसकेको स्थानीयबासी बताउँछन् ।
पुल नभएको जोखिमपूर्ण सडकमा आवश्यक सुरक्षा संकेत, चेतावनी बोर्ड, ब्यारिकेड र रात्रिकालीन रिफ्लेक्टर जस्ता न्यूनतम सुरक्षा व्यवस्थासमेत नहुँदा सर्वसाधारण र यात्रुहरूले पटक–पटक दुर्घटनाको सामना गर्नु परिरहेको छ ।
यसैबीच बारम्बार सवारी दुर्घटना हुन थालेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरानले ध्यानाकर्षण जनाउँदै स्थलगत अनुगमन समेत गरेको छ । बढ्दो दुर्घटना र जोखिमलाई मध्यनजर गर्दै रास्वपा धरानका सहसचिव सन्दिप शाक्यको नेतृत्वमा विज्ञ सदस्य नगेन्द्र ओझा र सदस्य सनम थापासहितको टोलीले सो क्षेत्रको स्थलगत अवलोकन गरेको हो । अवलोकनपछि टोलीले भविष्यमा हुन सक्ने सम्भावित दुर्घटना न्यूनीकरण तथा सर्वसाधारणको जिउधनको सुरक्षाका लागि तत्काल कदम चाल्नुपर्ने निष्कर्ष निकालेको छ ।
अनुगमनपश्चात् रास्वपा टोलीले सडक आयोजनाका सब–इन्जिनियरलाई भेटेर सो स्थानको जोखिमपूर्ण अवस्थाबारे गम्भीर ध्यानाकर्षण गराएको छ ।
पुल निर्माण कार्य प्रारम्भ हुनु अगावै सम्भावित दुर्घटना रोक्न सडकमा तत्काल ब्यारिकेड, रिफ्लेक्टर र चेतावनी बोर्ड जस्ता अस्थायी सुरक्षा व्यवस्थाहरू मिलाउनुपर्ने आफूहरुको निष्कर्ष रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति: असार २३ २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend