Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानदेखि हिँडेका सवारी साधन खोला बढेपछि तमोर कोरिडोरमा रोकिए

हाम्रो कोशी आवाज
असार २५ २०८३, बिहिबार
धरानदेखि हिँडेका सवारी साधन खोला बढेपछि तमोर कोरिडोरमा रोकिए

धरानः अविरल वर्षाका कारण धनकुटा र पाँचथरको सीमामा बग्ने नावा खोलामा पानीको बहाव उच्च भएपछि तमोर कोरिडोर अवरुद्ध भएको छ ।
अहिले पाँचथर, धनकुटा र ताप्लेजुङतर्फको आवागमन प्रभावित भएको छ । बिहानदेखि यात्रुवाहक तथा मालवाहक सवारीसाधन दुवैतर्फ रोकिएका छन् । सुनसरीको धरानदेखि धनकुटाको मुलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्ने द्रुतमार्गका रूपमा परिचित यो सडक बिहीबार बिहानदेखि अवरुद्ध भएको हो ।
पाँचथरको तुम्बेवा गाउँपालिका–२ स्थित नावा खोलामा पानीको सतह एक्कासी बढेपछि खोलामाथिको सडक डुबानमा परेको र सवारीसाधन सञ्चालन पूर्णरूपमा रोकिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक अनिषकुमार कर्णले जानकारी दिए । लगातारको वर्षासँगै आएको बाढीका कारण तमोर कोरिडोर तत्कालका लागि अवरुद्ध भएको हो । पानीको बहाव अत्यधिक रहेकाले यात्रु तथा सवारी चालकलाई जोखिमपूर्ण यात्रा नगर्न उनले आग्रह गरे ।
वर्षा नरोकिएकाले खोलाको बहाव अझ बढ्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दा तथा यात्रुलाई उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै पहाडी जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दो क्रममा रहेकाले अत्यावश्यकबाहेकको यात्रा गर्दा मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न जिल्ला प्रशासनले अनुरोध गरेको छ ।

प्रकाशित मिति: असार २५ २०८३, बिहिबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend