धरानः धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अगाडि रहे ८ वटा पसललाई सरकारी टोलीले सिलबन्दी गरेको छ ।
सिल गरिएका पसलमा वर्षा मेडिकल, स्काट मेडिकल हल, सायांश मेडिकल हल, चाँदनी फार्मेसी, रितिशा फार्मेसी, सुजिता फार्मेसी, सबिन मेडिकल हल र मिरियन मेडिकल हल रहेका छन् । सम्बन्धित सञ्चालकलाई आवश्यक कागजातसहित औषधि व्यवस्था विभाग, विराटनगरमा सम्पर्क गर्न निर्देशन दिइएको जिल्ला फार्मेसी अधिकृत प्रकाश भण्डारीले जानकारी दिए ।
कानुनी मापदण्डविपरीत सञ्चालन भएका पसल फेला परेपछि तत्काललाई सिल गरिएको उनले जानकारी दिए ।
बिचौलिया, अनियमितता र आर्थिक चलखेलमुक्त बनाउने अभियानलाई सुनसरी प्रशासनले थप कडा गर्ने जनाएको छ । प्रतिष्ठान परिसरबाट बिचौलियाको आरोपमा १० जना पक्राउ परेपछि त्यसको विरोधमा औषधि व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।
अनुगमनमा केही पसलमा सञ्चालक नै अनुपस्थित रहेको, औषधिको खरिद–बिक्रीसम्बन्धी बिल तथा अभिलेख नराखिएको, आवश्यक अनुमति र कागजात नपाइएको तथा कानुनविपरीतका औषधि फेला परेको अनुगमन टोलीले जनाएको छ ।