धरानमा बुलेटको ठक्करले महिला गम्भीर
धरानः सुनसरीमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सुनसरी कोशी गाउँपालिका ७ केराबारीस्थित पूर्व–पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मधेश प्रदेश ०१–००५ प ८३६० नम्बरको मोटरसाइकल अनियन्त्रित भई जाली लगाउनको लागि सडकमा थुपारिएको ढुङ्गामा ठोक्किइ दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चालक सप्तरी हनुमाननगर कंकालिनी–१४ बस्ने २१ वर्षीय शिवनन्दन यादव रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी सहायक निरीक्षक राजु पोखरेलले जानकारी दिए । उपचारको लागि न्यूरो अस्पताल विराटनगर लगिए र चेकजाँचका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकल पछाडि बस्ने २१ वर्षीय शेखर मण्डल शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते बनेका छन् । सोही मोटरसाइकल पछाडि बस्ने १९ रविन यादव टाउकोमा चोट लागेर घाइते बनेका छन् । चालकले सडकमा ध्यान नदिएको र तीब्रगतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उता झापामा स्कुटी आफै अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका २ मा पर्ने सडक खण्डमा केर्खाबाट समयगडतर्फ जाँदै गरेको मे११प१६१८ नम्बरको १२५ स्कुटी आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा स्कुटी पछाडि बस्ने धादिङ थाक्रे गाउँपालिका ११ घर भएका ३० वर्षीय राजन तामाङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालक इलाम माई नगरपालिका १ घर भएका दमक–५ बस्ने २९ वर्षीय राजन महत घाइते बनेका छन् ।
यस्तै, धरानमा दुर्घटना हुँदा एकजना गम्भीर घाइते बनेका छन् । धरान–११ शान्तिचौक पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र१–०४–००१ प ६५९१ नम्बरको बुलेट मोटरसाइकलले पैदलयात्री धरान–११ बस्ने वर्ष ६४ कि जतनकुमारी राईलाई ठक्कर दिई दुर्घटना हुँदा उनी गम्भीर घाइते बनेकी हुन् ।
धरान–११ बस्ने २२ वर्षीय सुजन मोक्तानको नाक, हातखुट्टामा चोट लागेर घाइते बनेका छन् । उनीहरूको धरानस्थित बीपी प्रतिष्ठाना उपचार भइरहेको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय धरानको नियन्त्रण रहेको प्रहरीले जनाएको छ । चालकको कागजपत्र नखुलेको र बाटो क्रस गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।