Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरान रंगशाला चोकमा ‘फुटबल स्तम्भ’ निर्माण, अब चोक सिसी क्यामेराको निगरानीमा

हाम्रो कोशी आवाज
असार २८ २०८३, आइतबार
धरान रंगशाला चोकमा ‘फुटबल स्तम्भ’ निर्माण, अब चोक सिसी क्यामेराको निगरानीमा

धरानः धरानलाई ‘मिनी ब्राजिल’ भनिन्छ । धरानमा ब्राजिलका मानिसहरू जस्तै फुटबल खेलप्रति निकै ठूलो क्रेज (आकर्षण) र माया छ । यहाँ बच्चादेखि वृद्धसम्म सबै फुटबल मन पराउँछन् । यहाँ धरानलाई ‘मिनी ब्राजिल’ भनिनुका पछाडि फुटबलप्रतिको क्रेज, गहिरो माया, यहाँका मानिसहरूको रगतमा फुटबल बगेको छ भन्दा पनि फरक नपर्ला ।
हरेक चोक र गल्लीमा फुटबल खेलिन्छ, खेलाइन्छ । गल्ली–गल्लीमा फुटबल खेलेजस्तै धरानमा पनि फुटबलको माहोल सधैं उस्तै हुन्छ । त्यसैले धरानलाई ‘मिनी ब्राजिल’ भनिएको हो । यहाँ वर्षभरि नै विभिन्न साना–ठूला फुटबल प्रतियोगिताहरू भइरहन्छन् । धरानले नै नेपाललाई धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू दिएको छ ।
यसैबीच त्यही फुटबलका गतिविधि भइरहने धरान–१६ स्थित धरान रंगशाला (स्टडियम) नजिकै रहेको रंगशाला चोकमा फुटबल स्तम्भ निर्माण गरिएको छ ।
धरान उपमहानगरपालिका र धरान–१६ वडा कार्यालयको संयुक्त लगानीमा करिब साढे ५ लाख रुपैयाँमा फुटबल स्तम्भ निर्माण गरिएको हो । एक कार्यक्रमका बीच धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघा र १६ नं. वडाका वडाध्यक्ष मुरारीप्रसाद भट्टराईले संयुक्तरूपमा उद्घाटन गरेका छन् ।
कार्यक्रममा बोल्दै कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले धरान उपमहानगरपालिका र वडाको केही सहयोगका साथै स्थानीयबासीको समेत सहयोगमा सो स्तम्भ निर्माण गरिएको बताए । ‘कम्तीमा फुटबलको पहिचान दिनुपर्छ भनेर स्थानीबासीले कन्सेप्ट दिनुभयो, तपाईहरूकै भूमिका जोडेर यो स्तम्भ बनाइएको हो ।’ उनले भने । विकास र समृद्धिको ढोका एकजना व्यक्तिले गर्न नसक्ने बताउँदै धरानमा जनसहभागिताले नै विकास सम्भव हुने बताए ।
धरान–१६ का स्थानीयबासी लक्ष्मण बस्नेतले रंगशाला जानुअगाडि नै फुटबलले थप पहिचान दिन सफल भएको बताए ।
स्तम्भ रहेको स्थान वरपरलगायत चोकमा १० वटा सिसी क्यामेरा समेत जडान गरिएको वडाध्यक्ष भट्टराईले जानकारी दिए । उनले धरान–१६ जनपथलाई हराभरा बनाउन अन्य योजनाहरू पनि रहेको सुनाए । उनले जनपथमै रहेका स्वामी चोक, गणेशमान सिंह चोकलगायतका चोकहरू हराभरा बनाउन छुट्टै योजना बुनिसकेको बताए । सो स्तम्भ रोजन आर्ट स्टुडियो धरानका रोजन राईले बनाएका हुन् ।

प्रकाशित मिति: असार २८ २०८३, आइतबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend