धरानः झापाको बुद्धशान्ति गाउँपालिकामा ५ अव्यवस्थित परिवार जग्गाधनी बनेका छन् ।
उनीहरूले जग्गाधनी प्रमाणपुर्जा पाएका छन् । जिल्ला भूमि समस्या समाधान समिति झापाले उनीहरूलाई लालपुर्जा वितरण गरेको हो । समितिका अनुसार वितरण गरिएका जग्गामध्ये केही आवास प्रयोजनका लागि रहेका छन् भने केही कृषि प्रयोजनका छन् । लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित स्थानीय लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनी बनेका छन् ।
भूमि समस्या समाधान समितिले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्ने क्रममा जग्गाधनी प्रमाणपुर्जा वितरणलाई अघि बढाएको जनाएको छ ।
सरकारले भूमिसम्बन्धी समस्या समाधानलाई प्राथमिकतामा राख्दै कानुनी प्रक्रिया पूरा गरेर वास्तविक भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाको स्वामित्व प्रदान गर्ने नीति लिएको छ ।
भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरण कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाइएको जनाइएको छ।