धरानः सांसद सुहाङ नेम्बाङले इलाममा वर्षायामसँगै प्रत्येक वर्ष दोहोरिने सडक अवरुद्धको समस्या अब पूर्वाधारको मात्र नभई नागरिकको मानवअधिकारसँग प्रत्यक्ष जोडिएको विषय बनेको बताएका छन् ।
प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले इलाममा हरेक वर्ष वर्षा सुरु भएसँगै मेची राजमार्ग तथा वैकल्पिक सडक अवरुद्ध हुँदा इलाम, पाँचथर र ताप्लेजुङको सडक सम्पर्क विच्छेद हुने, खाद्यान्न तथा दैनिक उपभोग्य सामग्री बोकेका सवारी रोकिने, इन्धन र औषधिको आपूर्ति जोखिममा पर्ने अवस्था दोहोरिँदै आएको उल्लेख गरे ।
उनले इलामका नागरिकले हरेक वर्ष वर्षायामसँगै आफ्ना अधिकार पनि बग्ने हो कि भन्ने त्रासमा बाँच्नुपर्ने अवस्था अन्त्य हुनुपर्नेमा जोड दिँदै राज्यको उपस्थिति मौसम खुलेपछि होइन, सडक बन्द भएका बेला देखिनुपर्ने बताए ।
उनले तत्काल वैकल्पिक आपूर्ति मार्ग सञ्चालन गर्न, आवश्यक परे हवाई तथा साना सवारीमार्फत खाद्यान्न र औषधि पुर्याउन, बेलिब्रिज निर्माणको स्पष्ट समयसीमा सार्वजनिक गर्न तथा प्रत्येक वर्ष दोहोरिने समस्याको स्थायी समाधान अघि बढाउन सरकारसँग माग गरे ।
उनले नागरिकको आधारभूत अधिकारको संरक्षणका लागि विपद् व्यवस्थापनमा पूर्वतयारी, वैकल्पिक आपूर्ति प्रणाली र दीर्घकालीन पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्ने धारणा राखे ।