Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

विराटनगर आइपुग्यो कोलकाताबाट छुटेको रेल

हाम्रो कोशी आवाज
साउन ४ २०८३, सोमबार
विराटनगर आइपुग्यो कोलकाताबाट छुटेको रेल

धरानः नेपाल-भारत पारवहन सन्धिअन्तर्गत भारतको कोलकाता बन्दरगाहबाट विराटनगरसम्म पहिलोपटक सञ्चालन भएको मालवाहक (कार्गो) रेल विराटनगर आइपुगेको छ। नेपाली महावाणिज्य दूतावास, कोलकाताको पहलपछि तेस्रो मुलुकबाट आयात गरिएको तोरी बोकेर कोलकाता बन्दरगाहबाट शुक्रबार हिँडेको कार्गो रेल सोमबार दिउँसो विराटनगर भन्सारमा आइपुगेको हो।
सुनसरी–मोरङ औद्योगिक करिडोरमा रहेको स्वस्तिक आयल इन्डस्ट्रिजका लागि तेस्रो मुलुकबाट आयात गरिएको क्यानोला ग्रेन लोड गरिएको ४० वटा ४० फिट क्षमताका कन्टेनर बाेकेर शुक्रबार दिउँसो हिँडेको कार्गो रेल तीन दिनपछि विराटनगर-१८ भेडियारीस्थित संयुक्त भन्सार जाँचचौकी (आइसिपी) यार्ड स्टेसन आइपुगेको छ।
इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणाली जडान गरिएको कन्टेनरहरू बोकेर विराटनगर आइपुगेको रेललाई उद्योगी–व्यापारी, भन्सारका अधिकारीहरू र स्थानीयले पूजाआजासहित स्वागत गरे। भारतको कोलकातास्थित महावाणिज्य दूतावासका अनुसार शुक्रबारदेखि बहुप्रतीक्षित कोलकाता–विराटनगर कार्गो रेलसेवा सञ्चालनमा आएको हो।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेशकुमार श्रेष्ठका अनुसार नेपाली रिफाइनरी उद्योगका लागि कच्चापदार्थ बोकेर कोलकाताबाट विराटनगर आइपुगेको रेलबाट कन्टेनर अनलोड गरेर आइसिपीमा नर्मलीकरण गरेर प्रवेश गराइनेछ। त्यसपछि भन्सार जाँच प्रक्रिया पूरा गरेर कन्टेनरहरू ट्रकमा पुनः लोड गरेर उद्योगमा पठाइनेछ।
भारत सरकारको केन्द्रीय अप्रत्यक्ष कर तथा भन्सार बोर्डले सन् २०२५ नोभेम्बर ४ मा जारी गरेको सूचनामार्फत इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ प्रणालीसम्बन्धी व्यवस्थामा संशोधन गर्दै कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट विराटनगर भन्सारसम्म रेलमार्फत कार्गो ढुवानी गर्न सकिने व्यवस्था गरेको थियो।
सोही निर्णय कार्यान्वयनका लागि कोलकातास्थित नेपाली महावाणिज्य दूतावासको निरन्तर पहलपछि कोलकाता भन्सारले सन् २०२६ फेब्रुअरी २६ मा सार्वजनिक सूचना जारी गर्दै विराटनगरसम्म रेलमार्फत ढुवानीको बाटो खुला गरेको हो। त्यसपछि कोलकाता भन्सार, बन्दरगाह, सिपिङ लाइन तथा सम्बन्धित निकायबिच समन्वय गरी साउन १ गतेदेखि औपचारिक रूपमा विराटनगर–कोलकाता सोझै मालवाहक रेल सेवा सुरु भएको हो। अब तेस्रो मुलुकबाट आयात गरिएका मालवस्तु कोलकाता र विशाखापट्टनममार्फत विराटनगरसम्म ल्याउन सकिनेछ।
उद्योगीहरूका अनुसार रेलमार्फत ढुवानी हुँदा सडक यातायातको तुलनामा सामान सुरक्षित, भरपर्दो तथा कम लागतमा विराटनगरसम्म आइपुग्नेछ। सोझो रेलसेवाले गर्दा अब बन्दरगाहमा लाग्ने डिमरेज, कन्टेनर डिटेन्सन शुल्क तथा सडक ढुवानीको अतिरिक्त खर्च पनि घट्नेछ।
विराटनगरका उद्योगी व्यापारीहरूको लामो प्रयासपछि भारत बिहार राज्यको अररिया जिल्लाको बथनाह चोकदेखि नेपालको कटहरीसम्म आइपुग्नुपर्ने ब्रोडगेज रेलमार्ग निर्माण कार्य सुरु भएको थियो। तत्काल भारतको बथनाहदेखि विराटनगर– १८ स्थित बुधनगर (भेडियारी) सम्म पाँच किलोमिटर निर्माण सम्पन्न भएर २०७९ पुसमा नमुना रेलसेवा पनि उद्घाटन गरिएको थियो। त्यसपछि ०८० जेठमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतका प्रधानमन्त्री नरेन्द्रकुमार मोदीले संयुक्त रूपमा उक्त कार्गोरेल सेवाको उद्घाटन गरेका थिए। तर, उद्घाटन भएर पनि भारत र नेपाल सरकारको सञ्चालन नीति अभावले बन्दरगाहबाट सोझै विराटनगरसम्म कार्गो रेलसेवा चलेको थिएन।
कोशीका उद्योगी–व्यापारीहरूले सबै सरकारहरूसँग कार्गो रेलसेवा औपचारिक रूपमा चाँडो सञ्चालन गराउन माग गर्दै आएका थिए। पहिलोपटक भारतको कोलकाता बन्दरगाहदेखि विराटनगरको भेडियारी स्टेसनसम्म कार्गोरेल आइपुगे पनि कटहरीसम्म आउन भने पाउनेछैन। अझै मुआब्जा विवादकै कारण नेपालतर्फको कटहरीसम्म १३ किलोमिटर दूरीको निर्माण कार्य सम्पन्न भइसकेको छैन। जग्गाको मुआब्जा विवाद समाधानमा ढिलाइ हुँदा कटहरी गाउँपालिकाको महेशपुरमा रेल्वे प्लेटफर्म र गोदाम घर निर्माण गर्न र रेल्वे ट्रयाक बिछ्याउन बाँकी नै छ।
रेलसेवाका लागि भारत र नेपाल सरकारबिच भएको सम्झौताअनुसार सन् २००९ जनवरीदेखि दुवैतर्फ निर्माण कार्य सुरु गरेर सन् १०१४ भित्र सम्पन्न गर्नुपर्ने थियो। तर, भारतले तोकिएकै अवधिमा आफ्नोतर्फ रेलमार्ग निर्माण पूरा गरे पनि नेपालतर्फ मुआब्जा विवादले गर्दा जग्गा अधिग्रहण हुन नसक्दा ढिलाइ भएको थियो।

प्रकाशित मिति: साउन ४ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend