Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धरानको बीपी प्रतिष्ठान अगाडि प्रहरी र अनुगमन टोली देख्नेवित्तिकै औषधि पसले भागे, टोलीले झुन्डयायो ताला

हाम्रो कोशी आवाज
साउन ४ २०८३, सोमबार
धरानको बीपी प्रतिष्ठान अगाडि प्रहरी र अनुगमन टोली देख्नेवित्तिकै औषधि पसले भागे, टोलीले झुन्डयायो ताला

धरानः धरान-१८ बीपी प्रतिष्ठानको गेट बाहिरका औषधि पसलमा अनुगमन जारी छ ।
यसैबीच सोमबार गरिएको अनुगमनमा १४ औषधि पसललाई शिलबन्दी गरिएको औषधि व्यवस्था विभागका अधिकृत एलन खड्काले जानकारी दिए । ४–५ दिनदेखि निरन्तर गरिएको अनुगमनका क्रममा १४ वटा औषधि पसललाई शिलबन्दी गरी धनी र सञ्चालकलाई विभागमा ७ दिनभित्र उपस्थित हुन पत्राचार गरिएको उनले जानकारी दिए ।
१४ वटा फार्मेसीमध्ये कतिपय फार्मेसीचाहिँ अनुगमन टोली आउनासाथ भागेको र सम्पर्कमै आउन नचाहेको उनको भनाइ छ । ‘हामी आउनासाथ सञ्चालनमा रहेका फार्मेसीपनि बन्द गरेर भागेको पाइयो, उनीहरूले हामीलाई पनि असहयोग गरेको पाइयो’, अधिकृत खड्काले भने । जेवीआर मेडिकलका सञ्चालक अनुगमनको टोली पुग्नेवित्तिकै भागेको र आवश्यक समन्वय नगरेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालय सुनसरी र औषधि व्यवस्था विभागको संयुक्त टोलीले यसअघि ८ वटा औषधि पसल सिलबन्दी गरेको थियो भने यसपटक १४ वटा औषधि पसलमा शिलबन्द गरिएको हो ।
शिलबन्दी गरिएका औषधि पसलहरुमा सक्कल प्रमाणपत्र देखाउन नसकेको, फार्मेसिस्ट नभएको पाइएका छ । माँ रुपेनी फार्मेसीमा सक्कल प्रमाणपत्र देखाउन नसकेको समेत अधिकृत खड्काको भनाइ छ । अन्य शिलबन्दी गरिएका औषधि पसलहरूमा सहारा मेडिकल हल, रुपबी मेडिकल हल, सलिल मेडिकल गहिल फार्मेसी, महाकाली फार्मेसी, सनलाइट फार्मेसी, सिम्रन हेल्थ केयर फार्मेसी, बुढाथोकी फार्मेसी, माही मेडिकल हल, सुप्रिला फार्मेसी, सुनकोसी फार्मेसी, सुनकोसी फार्मेसीलगायत छन् । अधिकांशमा फार्मेसिस्ट नभएको, आवश्यक सम्पूर्ण कागजात नभएको, औषधि पसले उपस्थिति नभएको जनाइएको छ ।
बीपी प्रतिष्ठानलाई अनियमितता, बिचौलिया र अतिक्रमणमुक्त बनाउने अभियान निरन्तर जारी छ । केही समयअघि बीपी प्रतिष्ठानभित्रबाट प्रहरीले बिचौलिया भएको आरोपमा १२ जना समातेसँगै प्रहरीले म्याद थपेको विरोधमा औषधि व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए । पक्राउ परेकाहरुलाई विनासर्त रिहा गर्न दबाब दिँदै इलाका प्रहरी कार्यालयमा धर्ना समेत दिएका थिए ।
यसअघिको अनुगमनमा औषधिको खरिद–बिक्रीसम्बन्धी बिल तथा अभिलेख नराखिएको, कानुन विपरीतका प्रतिबन्धित औषधि फेला परेको थियो ।

प्रकाशित मिति: साउन ४ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend