Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा गोली लागेर एक युवाको मृत्यु

हाम्रो कोशी आवाज
साउन ११ २०८३, सोमबार
सुनसरीमा गोली लागेर एक युवाको मृत्यु

-सुमन सुस्केरा

धरानः सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच बढेको विवाद नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ।
मृत्यु हुनेमा सोही ठाउँका २४ वर्षीय ओमप्रकाश मेहता रहेका छन्। सुनसरी प्रहरीका डीएसपी चन्द्रबहादुर खड्काका अनुसार गोली लागेर गम्भीर घाइते भएका मेहतालाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पुर्‍याउनासाथ आइतबार राति ११ः२५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
​दुई पक्षबीचको सामान्य विवाद उग्र बन्दै झडप र हिंसामा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन गोली चलाउनु परेको प्रहरीले जनाएको छ।
घटनामा अन्य १० जना घाइते भएका छन्। घाइतेहरूको विराटनगरका न्युरो, विराट नर्सिङ र नोबेल मेडिकल कलेजलगायतका अस्पतालहरूमा उपचार भइरहेको छ।
केही घाइतेको अवस्था गम्भीर रहेको र उनीहरूको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
​प्रत्यक्षदर्शीका अनुसार साउने सोमबारका अवसरमा बोलबम यात्राका लागि सप्तकोसी नदीतर्फ जान युवाहरूको एउटा समूह डिजे बजाउँदै तयारी गरिरहेको थियो।
सोही क्रममा अर्को समूहले रातिको समयमा होहल्ला र अवरोध पुगेको भन्दै आपत्ति जनाएपछि दुई पक्षबीच भनाभन भएको थियो।
​आइतबार राति करिब ९ बजेतिर सुरु भएको सामान्य भनाभनपछि स्थिति नियन्त्रणबाहिर गएको स्थानीयले बताएका छन्। स्थिति बिग्रँदै गएपछि दुवै पक्षबीच आक्रमण, आगजनी र तोडफोड सुरु भएको स्थानीयको भनाइ छ।
​नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुग्दा घर, मेडिकल तथा सवारी साधनहरूमा तोडफोड र आगजनी भइरहेको थियो।
स्थिति थप हिंसात्मक बन्दै गएपछि इनरुवास्थित जिल्ला सुरक्षा समितिको आकस्मिक बैठकले स्थिति तत्काल नियन्त्रणमा लिन बल प्रयोग गर्ने निष्कर्ष निकालेको थियो।
घटनाबारे थप विवरण आउन बाँकी छ। सो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार झडपमा घाइते भएका २२ वर्षीय मिथलेश यादव, १८ वर्षीय अमलेश मेहता, २५ वर्षीय मिथलेश मेहता र २० वर्षीय अमितकुमार यादवको कोशी अस्पतालमा उपचार भइरहेको छ ।
२१ वर्षीय रविन्द्र मेहता, १८ वर्षीय अमितकुमार यादव, २५ वर्षीय सुनिलकुमार मेहता र २६ वर्षीय सुनिलकुमार मेहताको विराट नर्सिङ होममा उपचार भइरहेको छ ।
झडपमा प्रहरीतर्फ प्रहरी निरीक्षक राकेश राईसहित ८ जना सुरक्षाकर्मी घाइते भएका छन् । राईको टाउकोमा चोट लागेको छ ।
प्रहरी नायब निरीक्षक गणेशनारायण श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार अमरलाल यादव, प्रहरी रामबहादुर राई, प्रहरी विजय यादव, प्रहरी सहायक निरीक्षक नवराज पोखरेल, प्रहरी बुद्धदेव साह र प्रहरी जवान निवेश यादव पनि घाइते भएका हुन् । घटनापछिको संवेदनशीलतालाई ध्यानमा राखेर जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका पाँच संवेदनशील बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम ११ साउनको बिहान ७ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लागू गरिएको जानकारी दिएका छन् ।
जारी आदेशअनुसार हरिनगरा बजार, भुटाहा बजार, कप्तानगञ्ज बजार, घुस्की बजार तथा देवानगञ्ज बजार क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न पाउने छैनन् । प्रशासनले प्रत्येक क्षेत्रमा चार किल्ला तोकी कर्फ्युको सीमा निर्धारण गरेको छ।

प्रकाशित मिति: साउन ११ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend