Hamro Koshi Aawaj

सोमबार, साउन ११ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरीमा प्रहरीको गोली लागेर मृत्युको घटनापछि सेना परिचालन, अवस्था सामान्यतर्फ जाँदै

हाम्रो कोशी आवाज
साउन ११ २०८३, सोमबार
सुनसरीमा प्रहरीको गोली लागेर मृत्युको घटनापछि सेना परिचालन, अवस्था सामान्यतर्फ जाँदै

धरानः सुनसरीमा अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको छ ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कफ्र्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरू गरेपछि सेना परिचालन गरिएको हो । प्रदर्शनकारीले पाँचवटा पसलमा तोडफोड र सामानमा आगजनी गरेपछि सेना परिचालन भएको हो ।
बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेनाको टोली मैदानमा खटिएपछि मात्रै तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बिहानदेखि कफ्र्यु अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भीड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नुपरेको उनले बताए । बख्तरबन्ध गाडीसहित सेनाको हतियारधारी टोली कप्तानगन्ज पुगेर फिल्डमा खटिएको र त्यसपछि प्रदर्शनकारी तितरबितर हुन थालेका कारण अवस्था सामान्यतर्फ उन्मुख भएको जानकारी घिमिरेले दिए ।
प्रजिअ घिमिरेले अवस्था थप बिग्रिए संयुक्तरूपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक सुरक्षा कारबाही अघि बढाइने बताए । उनका अनुसार परिस्थिति नियन्त्रणभन्दा बाहिर गए थप गोली चलाउनुपर्ने अवस्था पनि आउन सक्ने भएकाले सबैलाई संयमता अपनाउन आग्रह गरिएको छ ।
उनले उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कडा सुरक्षा कारबाही हुने स्पष्ट पार्दै सेनासहित संयुक्त सुरक्षा टोलीले अब अवस्था नियन्त्रणमा लिइसकेकाले थप क्षति हुन नदिने दाबी गरे ।
कप्तानगन्ज चोकमा टायर बाल्दै नाराबाजी गरेका प्रदर्शनकारी केहीबेरमै तोडफोड र आगजनीमा उत्रिएका थिए । एउटा पक्ष प्रदर्शनमा उत्रिएसँगै अर्को पक्ष पनि भेला हुन थालेपछि थप साम्प्रदायिक वा हिंसात्मक घटना हुन नदिन सेना परिचालन गरिएको प्रशासनले जनाएको छ । कप्तानगन्जको घटनाको विरोधमा सुनसरीको लौकही र फूलचोकमा पनि टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गमा बिहानदेखि नै सवारी आवागमन प्रभावित भएको छ ।
राजमार्गमा सवारी साधन रोकिँदा यात्रुहरू समस्यामा परेका छन् । सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट पनि थप नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीहरू सुनसरी पठाइएको छ । कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगन्जको अवस्था थप संवेदनशील हुन नदिन प्रदेशभरका जिल्लाबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रकाशित मिति: साउन ११ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend