Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरी घटनाः सामान्य विवादबाट उग्र, यसरी स्थिति सामान्य बनाउने प्रयास, अनिश्चित कर्फ्यू

हाम्रो कोशी आवाज
साउन ११ २०८३, सोमबार
सुनसरी घटनाः सामान्य विवादबाट उग्र, यसरी स्थिति सामान्य बनाउने प्रयास, अनिश्चित कर्फ्यू

धरानः सुनसरीको देवानगन्ज र कप्तानगन्ज क्षेत्रमा आइतबार राति सुरु भएको दुई समुदायबीचको विवादले उग्र रूप लिँदा सोमबार दिनभर नै जिल्लाको जनजीवन त्रसित र तनावपूर्ण बन्यो । प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले दिनभर विभिन्न स्थानमा तोडफोड, आगजनी र भौतिक आक्रमण गरे ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रशासनले कर्फ्यु जारी गर्दै नेपाली सेना परिचालन गर्‍यो भने गृह मन्त्रालयले स्थानीय प्रशासन र सुरक्षा निकायका प्रमुखहरूलाई जिम्मेवारीबाट हटाउँदै छानबिन समिति गठन गरेको छ ।
साउनको सोमबारका लागि बोलबम यात्रामा निस्कने तयारीमा रहेको एक समूहले डीजे बजाएको र धार्मिक झण्डा राख्ने विषयलाई लिएर आइतबार राति करिब ९ बजेतिर देवानगन्ज–३ कप्तानगन्जमा दुई पक्षबिच विवाद सुरु भएको थियो । बिजुलीको पोलमा एउटा समुदायको झण्डा हटाएर अर्को पक्षले आफ्नो झण्डा राखेको विषयले विवादको बिउ रोपेको थियो । सामान्य भनाभनबाट सुरु भएको झडपले केहीबेरमै हिंसात्मक रूप लियो । दुवै पक्षबाट लाठी, ढुङ्गा र भाला प्रहार हुन थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र हवाई फायर गरेको थियो ।
सोही क्रममा गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भयो । घटनामा ९ जना सर्वसाधारण र १३ जना सुरक्षाकर्मी गरी २२ जना घाइते भए । जसमध्ये धेरैको शरीरमा गोलीको चोट छ ।आइतबारको घटनापछि सोमबार बिहानैदेखि प्रदर्शनकारीहरू सडकमा उत्रिए । प्रशासनले बिहान ७ बजेदेखि नै कप्तानगन्ज, हरिनगरा, भुटाहा र देवानगन्ज क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु जारी गरे पनि प्रदर्शनकारीले त्यसको उल्लंघन गरे ।
आक्रोशित समूहले देवानगन्जमा स्थानीयको घर, हार्डवेयर पसल र घरअगाडि पार्किङ गरिएको ट्याक्टरमा आगजनी गरे । यस्तै, केही कच्ची घर र दुईवटा मोटरसाइकलमा समेत आगो लगाइयो । बजारका पसलका सामान निकालेर सडकमै जलाइएको दृश्यले युद्धमैदानको झल्को दियो ।
प्रदर्शनको राप जिल्ला सदरमुकाम इनरुवासम्म पुग्यो । करिब १५० जनाको समूहले इनरुवामा एक सर्वसाधारणमाथि निर्घात कुटपिट गरे भने बजाज शोरुम, म्याजिक गाडी र प्रहरी बिटमा तोडफोड गरे । पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुँदा सयौं यात्रु अलपत्र परे । देवानगन्ज–४ का एक युवकमाथि बजारबाट फर्कने क्रममा धारिलो हतियार प्रहार भयो । जसको अवस्था हाल गम्भीर छ ।
घटनाले गम्भीर मोड लिएपछि गृह मन्त्रालयले शान्ति सुरक्षा कायम गर्न नसकेको भन्दै सुनसरीका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितका सुरक्षा अधिकारीहरूलाई तत्कालै जिम्मेवारीबाट हटाएको छ । गृहमन्त्री सुधन गुरुङको निर्णयअनुसार सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई फिर्ता बोलाएर संखुवासभाका सीडीओ ईश्वरीप्रसाद अर्याललाई पठाइएको छ ।
त्यस्तै, कोशी प्रदेशका प्रहरी प्रमुख (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय तानेर त्यहाँ डीआईजी शेखर खनाललाई पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशव थेबेलाई सरुवा गरी पुष्पराज मल्ललाई पठाइएको छ । सशस्त्र प्रहरीका डीएसपी नन्दकिशोर महतोलाई पनि फिर्ता बोलाइएको छ । सुरक्षा संयन्त्रमा देखिएको कमजोरी र समन्वयको अभावलाई सम्बोधन गर्न सरकारले यो निर्णय लिएको हो ।
घटनाको सत्यतथ्य छानबिन गर्न गृह मन्त्रालयले सहसचिव भूपेन्द्र थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ । समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ । सोमबारै गृहमन्त्री गुरुङले गृह सचिव र सुरक्षा निकायका प्रमुखहरूसँग सिंहदरबारमा छलफल गरी स्थिति नियन्त्रणमा लिन र थप क्षति हुन नदिन आवश्यक निर्देशन दिएका छन् ।
कप्तानगन्ज क्षेत्रमा प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिन नसकेपछि स्थानीय प्रशासनले नेपाली सेना परिचालन गरेको छ । बख्तरबन्द गाडीसहित सेनाको उपस्थिति भएपछि प्रदर्शनकारीहरू केही तितरबितर भएका छन् । तर त्रासको वातावरण अझै हटिसकेको छैन । जिल्ला प्रहरी कार्यालयका अनुसार हाल देवानगन्ज र कप्तानगन्जको अवस्था केही शान्त भए पनि राजमार्ग क्षेत्र र आसपासका गाउँहरूमा साना समूहहरू भेला हुने क्रम जारी छ ।
विराटनगरका न्युरो, विराट नर्सिङ होम र नोबेल अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ । घाइतेमध्ये १८ वर्षीय अमलेश मेहता, २२ वर्षीय मिथलेश यादव, २१ वर्षीय रवीन्द्र मेहता लगायतको अवस्था गम्भीर छ । धेरैको पेट, छाती र तिघ्रामा गोली लागेको चिकित्सकहरूले बताएका छन् । घाइते प्रहरीहरूमध्ये इन्स्पेक्टर राकेश राईको टाउकोमा गम्भीर चोट लागेको छ ।
सुनसरीमा भड्किएको यो साम्प्रदायिक तनावलाई मत्थर पार्न सोमबार नै सर्वदलीय र सर्वपक्षीय बैठक सम्पन्न भएको छ । बैठकले सामाजिक सद्भाव कायम राख्न, अफवाहको पछि नलाग्न र शान्तिपूर्ण वातावरण निर्माणमा सहयोग पुर्‍याउन सबै राजनीतिक दल र नागरिक समाजलाई अपिल गरेको छ । देवानगन्ज गाउँपालिकाले घटनाको शोकमा दुई दिन सार्वजनिक बिदा दिएको छ ।
राष्ट्रिय मानव अधिकार आयोगले पनि यस घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै अनुसन्धान सुरु गरेको जनाएको छ । आयोगले दोषीलाई कानुनी कठघरामा ल्याउन र मृतकका परिवारलाई क्षतिपूर्ति दिन सरकारसँग माग गरेको छ ।
अहिले सुनसरीका संवेदनशील क्षेत्रमा कफ्र्यु जारी छ । सेना गस्तीमा छ । नागरिकहरूलाई घरभित्रै बस्न र संयम अपनाउन प्रशासनले पटक–पटक आग्रह गरिरहेको छ ।

यसैबीच प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि चर्किएको आन्दोलनले उग्र रूप लिँदै पूर्व–पश्चिम राजमार्गसमेत प्रभावित भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले राजमार्ग क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेद्वारा सोमबार साँझ जारी गरिएको सूचना अनुसार आज राति ९ बजेदेखि लागू हुने गरी अर्को सूचना नभएसम्मका लागि कर्फ्यू लगाइएको हो ।
प्रशासनले राजमार्गको सुरक्षा र सार्वजनिक सम्पत्तिको रक्षाका लागि भन्दै इनरुवा नगरपालिका वडा नं. ३ र ६ को सीमा (महेन्द्र राजमार्ग अन्तर्गतको घोपली टोल), पश्चिममा कोशी ब्यारेजको पुल, उत्तर र दक्षिणमा महेन्द्र राजमार्गदेखि ५०० मिटर क्षेत्रसम्म कर्फ्यू आदेश जारी गरेको हो ।
आदेशमा तोकिएको सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी पूर्ण रोक लगाइएको छ ।
प्रशासनले कर्फ्यू आदेशको उल्लङ्घन गर्नेलाई एक हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद सजाय हुन सक्ने चेतावनी समेत दिएको छ ।
आइतबार राति कप्तानगन्जमा भएको झडप र प्रहरीको गोलीबाट ओमप्रकाश मेहताको मृत्यु भएपछि आक्रोशित प्रदर्शनकारीले सोमबार दिनभर सुनसरीका विभिन्न ठाउँमा प्रदर्शन गरेका थिए ।
प्रदर्शनकारीले लौकी, भोक्राहा र इनरुवा खण्डमा राजमार्ग अवरुद्ध गरी टायर बालेर प्रदर्शन गरेपछि र सवारी साधनमा तोडफोडको स्थिति सिर्जना भएपछि प्रशासनले यो कदम चालेको हो ।
यसअघि नै देवानगन्ज र हरिनगराका ५ वटा मुख्य बजार क्षेत्रमा कर्फ्यू जारी भइसकेको थियो । राजमार्ग क्षेत्रमा समेत कर्फ्यू लागेपछि अब सुनसरीको मुख्य यातायात र बजार क्षेत्र ठप्प हुने देखिएको छ ।
प्रशासनले भने राजमार्गमा रोकिएका सवारी साधनलाई सुरक्षा घेराभित्र राखेर गन्तव्यतर्फ पठाउने तयारी गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: साउन ११ २०८३, सोमबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend