धरानः प्रधानमन्त्री बालेन्द्र शाहले सुनसरीमा विकसित पछिल्लो घटनाक्रम र साम्प्रदायिक तनावप्रति गम्भीर दुःख व्यक्त गर्दै सबैलाई संयमित हुन र सामाजिक सद्भाव नबिथोल्न आग्रह गरेका छन् ।
सुनसरीमा सामान्य विषयबाट सुरु भएको विवादले उग्र रूप लिँदा नागरिकको ज्यान गएको र समाजमा त्रास फैलिएको भन्दै उनले यस्तो अवस्था मानवताका लागि स्वीकार्य नहुने टिप्पणी गरेका छन् ।
प्रधानमन्त्रीले घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । पीडित परिवारलाई सरकारले चाँडोभन्दा चाँडो न्याय र उचित क्षतिपूर्ति उपलब्ध गराउने उनको भनाइ छ ।
ञएउटा नागरिकका रूपमा म सुनसरीको घटनाबाट अत्यन्तै दुखी छु । दोषीलाई कानुनबमोजिम कारबाही गरिनेछ र पीडितलाई न्याय सुनिश्चित गरिनेछ,झ उनले भनेका छन् ।
प्रधानमन्त्री शाहले प्रदर्शनका क्रममा सुरक्षाकर्मीको गोली लागेर नागरिकको ज्यान गएको विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका छन् । सुरक्षा निकायको उपस्थितिले मात्र स्थिति नियन्त्रणमा लिन पर्याप्त नभएको स्वीकार गर्दै उनले भनेका छन्, ञसुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्नु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसको छानबिन सुरु भइसकेको छ र दोषी पाइएमा कानुनबमोजिम कारबाही हुनेछ ।झ
समाजमा व्याप्त उत्तेजना, आक्रोश र बदलाको भावनालाई त्याग्न आग्रह गर्दै प्रधानमन्त्रीले अहिलेको प्राथमिकता शान्ति स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।
प्रधानमन्त्रीको भनाईको पूर्णपाठ
नमस्कार । मलाई थाहा छ, मन दुख्नु सामान्य कुरा होइन । तर सुनसरीमा भएको सामान्य घटनामा मन दुखेको कुराबाट आक्रोशित हुँदा ज्यान गुम्ने अवस्था पुग्यो । समाज भाँडिने र एकले अर्कोलाई देख्दा डराउने अवस्थामा पुग्यो । मानवता बोकेको कसैले पनि चाहेको अवस्था यस्तो होइन । तर पनि घटनाक्रमहरू अशान्त भए।
प्रधानमन्त्रीकारूपमा मात्र होइन, यहि देशका नागरिककारूपमा म सुनसरीमा भएका घटनाक्रमबाट दुखी छु । मृतकप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । घाइतेहरूको चाँडो स्वास्थ्य ठिक होस् भन्ने कामना गर्दछु । यो घटनाबाट गुमाएका परिवारहरूको दुख मैले महसुस गरेको छु । सरकारले सक्दो चाँडो न्याय र क्षतिपूर्ति उपलब्ध गराउनेछ । फेरि त्यस्तो नहोस् भन्नका लागि यसका कसुरदारहरूलाई कानुन बमोजिम कारबाही गरिने विश्वास दिलाउन चाहन्छु।
यो घटनाबाट हामीले पाठ सिकेर फेरि यस्ता घटना हुन नदिन सरकारले तत्काल आवश्यक निर्णय गरिरहेको छ । घटनाको सुरुवातदेखि नै सरकारले आफ्नो उपस्थिति देखाएको छ तर ति पुग्दो भएनन् । सुरक्षाकर्मीको गोलीले नागरिकको ज्यान गुम्यो, घाइते भए । सुरक्षाकर्मीको तर्फबाट यस्तो क्षति हुनु कुनै पनि हालतमा सामान्य कुरा होइन । यसबारेमा अनुसन्धान सुरू भइसकेको र कानुनबमोजिम कारबाही हुने कुरा म जानकारी गराउँछु । सरकार छ र दोषीमाथि कारबाही हुनेछ भन्ने विश्वास यो सरकारले दिलाउनेछ । सम्पुर्ण घटनाकाबारेमा सरकारले गम्भिर भएर समिक्षा गरेको छ । तपाईहरुले फेरि यस्ता घटना हुन नदिन सरकारले चाल्ने कदमकाबारेमा गम्भिर र जिम्मेवार कदमको महसुस गर्नु हुनेछ।
मृतकका परिवार, घाइते तथा घाइतेका परिवारहरूलाई न्यायको अनुभूति गराउनका लागि सरकारले आफ्नो पुरा शक्ति लगाएर चाँडो भन्दा चाँडो परिणाम दिनेछ । त्यति बेलासम्मका लागि आफ्नो उत्तेजना, आक्रोश, बदलाको भावनालाई सबैले रोक्नुहोला । हामीलाई धर्मले सिकाउने पनि त्यहि हो।
मान्छेको सबै भन्दा पहिलो धर्म मान्छे जोगाउनु हो । र सरकारको सबैभन्दा पहिलो धर्म आफ्ना नागरिकलाई सुरक्षित बनाएर कसुरदारलाई कारबाही गर्दै पिडितलाई न्याय र क्षतिपूर्ति दिलाउने हो । सरकारले यो सबै काम यथासक्य चाँडो गर्नेछ।
फेरि पनि आग्रह गर्छु, मनमा छन् भने पनि तुष, रिस, डर, आक्रोशलाई हटाउनु होला । उत्तेजित हुने वा गराउने कुनै पनि काममा सरिक नभइदिनुहोला । सुरक्षित र संयमीत भएर बसौँ । एकअर्कालाई प्रेम र सम्मान गरौँ । सामाजिक सदभाव कायम राखौँ।