Hamro Koshi Aawaj

शुक्रबार, असोज २ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

सुनसरी घटनाः केही ठाउँ सुनसान, केही ठाउँमा शान्तिपूर्ण प्रदर्शन

हाम्रो कोशी आवाज
साउन १३ २०८३, बुधबार
सुनसरी घटनाः केही ठाउँ सुनसान, केही ठाउँमा शान्तिपूर्ण प्रदर्शन

धरानः सुनसरीको देवानगञ्ज–३ कप्तानगञ्ज अहिले शान्त छ । स्थानीय प्रशासनले स्थितिलाई नियन्त्रणमा लिन लगाएको कफ्र्यु अहिले पनि जारी छ । तर, सडकमा केही स्थानीय देखिएपनि कुनै अशान्ति भएको छैन ।
यो ठाउँदेखि झगडाको बिउ रोपिएको थियो । दुई समुदायबीचको विवादले केहीदिनदेखि यहाँ तनावको स्थिति थियो । अहिले पनि जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानमा कफ्र्यु लगाउँदै आएको छ । सुरक्षा व्यवस्था पनि कडा बनाइएको अवस्था छ ।
सुरक्षा निकायका प्रमुख विदामा रहेको अवस्थामा आइतबार राति बोलबमका लागि बजाइएको डिजेलाई लिएर शुरु भएको सामान्य विवाद विस्तारै दुई समुदायबीचको हिंसात्मक झडपमा परिणत भएको थियो । दुई पक्षबीच भएको झडप नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो ।

सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले जिल्लाभरको सुरक्षा व्यवस्था थप कडा पारिएको जानकारी दिए । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेत संवेदनशील क्षेत्रमा परिचालन गरिएको उनले बताए । समुदायबीच संवाद, समन्वय र विश्वासको वातावरण सिर्जना गर्दै अवस्था पूर्ण रूपमा सामान्य बनाउने प्रयास भइरहेको जानकारी खड्काले दिए ।
कप्तानगन्जको अवस्था सुधारोन्मुख भए पनि सुनसरीका अन्य स्थानमा भने विरोध प्रदर्शन जारी छ । हरिनगर, घुस्की, दुहबी, लौकहीलगायतका क्षेत्रमा प्रदर्शनकारीले टायर बालेर विरोध जनाइरहेका छन् ।
स्थिति थप तनावपूर्ण बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले मंगलबार रातिदेखि सुनसरीका १० वटा स्थानीय तहलाई समेट्ने गरी कफ्र्यु आदेश जारी गरेको थियो । प्रशासनले शान्ति सुरक्षा कायम राख्न, सम्भावित थप झडप रोक्न तथा जनधनको सुरक्षा सुनिश्चित गर्न कफ्र्यु आवश्यक भएको जनाएको छ । सुरक्षा निकायले कफ्र्यु आदेशको कडाइका साथ कार्यान्वयन गरिरहेको जनाएका छन् ।
यसैबीच देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा आइतबार राति भएको घटनाको छानबिन गर्न गठित सरकारी समिति बुधबार घटनास्थल पुगेको छ ।
घटनापछि क्षेत्र तनावग्रस्त बनेपछि गृह मन्त्रालयले सोमबार सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। समितिमा प्रहरी र सशस्त्रका एसपीसहित ५ जना सदस्य छन् ।

बुधबार बिहान घटनास्थल पुगेको समितिले घटनास्थलको स्थलगत निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दा, प्रत्यक्षदर्शी तथा सरोकारवालासँग सोधपुछ सुरु गरेको छ। समितिले घटनाका सबै पक्षको तथ्य सङ्कलन गरी प्रतिवेदन तयार पार्ने जनाएको छ ।
समितिका सदस्यहरुले आइतबार भएको झडप नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीको गोली लागेर मृत्यु भएका ३० वर्षीय ओमप्रकाश मेहताको परिवारसँग पनि भेटघाट गरेका छन् । सहसचिव थापाले सवैबाट आएका कुरा समेटेर सुझाव सहितको प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने बताए ।
पीडित परिवारसँगको भेटमा उनले भनेका छन्, ‘सबै मागहरू समेटेर स्थलगत प्रतिवेदन बुझाउँछौँ, फिल्डको यथार्थ बुझाउने हाम्रो काम हो ।’ समितिले प्रहरीले गोली चलाउनुपरेको अवस्था, त्यसअघिको घटनाक्रम तथा त्यसपछिको हिंसात्मक अवस्थाबारे पनि समितिले विस्तृत अध्ययन गरिरहेको छ। घटनापछि कोशी प्रदेशका भारतसँग सीमा जोडिएका जिल्लाका नाकामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।
सम्भावित घुसपैठ, धार्मिक संगठनको आवरणमा नेपाल प्रवेश गर्ने समूह, हातहतियार तथा लागुऔषध ओसारपसारको जोखिमलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको हो । अब भारतबाट नेपाल प्रवेश गर्न आउने व्यक्तिले परिचयपत्र (आईडी कार्ड) अनिवार्य रूपमा देखाउनुपर्ने व्यवस्था गरिएको छ । वैध परिचयपत्र भएका व्यक्तिलाई मात्र नेपाल प्रवेश गर्न दिइने सुरक्षा निकायले जनाएका छन् ।
कोशी प्रदेश सरकारले देवानगन्ज घटनापछि उत्पन्न सुरक्षा अवस्था, सामाजिक सद्भाव र शान्ति व्यवस्थाको समीक्षा गर्न विराटनगरस्थित आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा बुधबार सर्वपक्षीय बैठक बोलाएको छ । बैठक अहिले बसिरहेको छ । बैठकमा कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले सीमा क्षेत्रमा सुरक्षा व्यवस्था उल्लेखनीय रूपमा कडा पारिएको जानकारी दिए । तस्वीरहरूः स्वर्णिम राई

प्रकाशित मिति: साउन १३ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend