धरानः सुनसरीको देवानगन्जमा आइतबार रातिदेखि सुरु भएको तनाव सोमबार र मंगलबार हिंसात्मक बने पनि बुधबार अवस्था उल्लेख्य रूपमा शान्त देखिएको छ । कर्फ्यु आदेश भने यथावत् राखिएको छ । जिल्लाभर सुरक्षा व्यवस्था झन् कडा पारिएको छ ।
उच्च सुरक्षा सतर्कताबीच बुधबारबाट तनाव मत्थर हुँदै गएको हो । मंगलबार रातिसम्म बजार क्षेत्रमा झडप र तनाव भइरहे पनि बुधबार दिनभर ठूलो अप्रिय घटना भएन । बाक्लो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको परिचालन गरिएकाले अवस्था नियन्त्रणमा रहेको प्रशासनले जनाएको छ ।
सुनसरी प्रहरीका सूचना अधिकारी डीएसपी चन्द्रबहादुर खड्काले मंगलबारको तुलनामा बुधबारको अवस्था धेरै सुधारिएको बताए । उनका अनुसार स्थानीय तहमा सर्वदलीय छलफल, सुरक्षा निकायको समन्वय र प्रशासनको सक्रियताले अवस्था नियन्त्रणतर्फ गएको हो । उनले कर्फ्यु जारी रहेकाले सुरक्षा सतर्कता अझै घटाइएको छैन ।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी शेखर खनालले सीमामा कडा निगरानी गरिएको जानकारी दिएका थिए ।
गोली लागेर र त्यसपछिका विभिन्न घटनामा घाइते हुने को संख्या २२ पुगेको छ । उपचारपछि एक जना घर फर्किसकेका छन् भने २१ जना अझै विराटनगरका विभिन्न अस्पतालमा उपचाररत छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार न्युरो अस्पतालमा ९, विराट नर्सिङ होममा ४, नोबेलमा २, विराट मेडिकलमा २, गोल्डेन अस्पतालमा २ र अन्य अस्पतालमा ३ जनाको उपचार भइरहेको छ ।
आइतबार राति प्रहरीको गोली लागेर ज्यान गुमाएका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको शव भने न्युरो अस्पतालमै राखिएको छ । प्रशासनले घटनाको निष्पक्ष छानबिन र शान्ति पुनःस्थापनाको प्रयासलाई तीव्र बनाइएको जनाएको छ ।
पाँचबुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनापछि उत्पन्न तनावलाई मध्यनजर गर्दै सरोकारवाला पक्षहरूले जिल्लामा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न पाँचबुँदे संयुक्त प्रतिबद्धता सार्वजनिक गरेका छन्।
संयुक्त निर्णयमा घटनामा मृत्यु भएका देवानगञ्जका ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।
निर्णयमा घटनापछि जिल्लाका विभिन्न क्षेत्रमा देखिएको साम्प्रदायिक तनाव, हुलदंगा तथा अराजक गतिविधिप्रति गम्भीर दुःख व्यक्त गर्दै यस्ता गतिविधि रोक्न सबै पक्षले आ–आफ्नो स्थानबाट सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।