धरानः सुनसरी हिँडेका गृहमन्त्री सुधन गुरुङ विराटनगरको अस्पताल पुग्दा नाराबाजी भएको छ ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको गोलीकाण्डका घाइतेलाई भेट्न बिहीबार साँझ आइपुगेका गृहमन्त्री गुरुङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता अस्पताल पुगेका बेला बाहिर प्रदर्शन र नाराबाजी भएको हो ।
प्रदर्शनकारीहरूले गोलीकाण्डमा ज्यान गुमाएकालाई सहिद घोषणा गर्नुपर्ने, परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दोषीमाथि कारबाही गर्नुपर्ने तथा हिन्दू राज्य घोषणा गर्नुपर्नेलगायतका माग राख्दै चर्को नाराबाजी गरेका हुन् ।
उनीहरुले ‘बालेन सरकार होसियार’, ‘हिन्दु राज्य घोषणा गर’, ‘मान्छे मार्न पाइँदैन’ लगायतका नारा लगाएका थिए । प्रदर्शनकारीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङको राजीनामा पनि मागेका थिए । सम्भावित अप्रिय अवस्था रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो सुरक्षा घेरा परिचालन गरिएको थियो ।
गृहमन्त्री गुरुङले कोशी प्रदेशका सुरक्षा अधिकारीहरुसँग सुनसरीको देवानगन्जलगायतका स्थानको सुरक्षा अवस्थाका बारेमा विस्तृत ब्रिफिङ लिएका थिए । सुरक्षा ब्रिफिङपछि गृहमन्त्रीको टोली विराट नर्सिङ होमसमेत पुगेको थियो । त्यहाँ उपचाररत चार जना घाइतेको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिँदै उनले उपचारमा सरकारले कुनै कमी हुन नदिने र दोषीमाथि कानुनी कारबाही हुने आश्वासन दिए । उनले घटनाको छानबिन जारी रहेकाले केही समय धैर्य गर्न पनि आग्रह गरेका छन् ।
गृहमन्त्री र स्वास्थ्यमन्त्रीले त्यहाँ पनि घाइतेसँग भेटघाट गरी उपचारको अवस्थाका बारेमा जानकारी लिएका थिए । कप्तानगन्जमा दुई पक्षबीचको विवाद हिंसात्मक झडपमा परिणत भएपछि त्यसलाई नियन्त्रणमा लिन सशस्त्र प्रहरीले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए । घाइतेमध्ये गम्भीर अवस्थाका देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको केहीबेरमा मृत्यु भएको थियो ।
देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको पनि उपचारका क्रममा बिहीबार दिउँसो विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ । योसँगै कप्तानगन्ज गोलीकाण्डमा मृत्यु हुनेको संख्या दुई पुगेको छ ।
विराटनगरका अस्पतालमा उपचाररत सबै घाइतेसँग भेटघाट सकेपछि गृहमन्त्रीसहितको टोली इनरुवा आउने कार्यक्रम रहेको छ ।