धरानः बुधबारदेखि सुनसरीको अवस्था सामान्य बन्दै गएको छ । तर, कर्फ्यू भने अझै हटेको छैन ।
सुनसरीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त गस्ती चलिरहेकै छ । सामान्यतया व्यापारिक चहलपहल हुने चोकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो छ । त्यसबीच केही पसल खुलेका थिए र स्थानीय बासिन्दा दैनिक काममा फर्कन थालेको अवस्था छ । घटनाको त्रासपूर्ण रूपमा हटिसकेको थिएन । तैपनि, स्थानीयहरू भने पहिलाका सामान्य अवस्थातर्फ ढल्किन थालेका छन् । दोषीलाई कानुनी कारबाही र पुरानै सामाजिक अवस्थामा फर्किने प्रयासमा स्थानीय छन् ।
चोक र आसपासका क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त गस्ती छ । नेपाली सेनाको हेलिकोप्टरले हवाई निगरानी गरिरहेको छ भने ड्रोनमार्फत संवेदनशील क्षेत्रको अनुगमन भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी खड्काले जानकारी दिए ।
थप अप्रिय घटना हुन नदिन तीनवटै सुरक्षा निकाय परिचालन गरिएको उनले जानकारी दिए । ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना संयुक्त रूपमा सुरक्षामा खटिएका छन्’, उनले भने, ‘सम्भावित अप्रिय घटना रोक्न संवेदनशील क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ ।’ बुधबार सुनसरीमा थप हिंसात्मक घटना नभएको पनि उनले जानकारी दिए ।

गृहमन्त्री सुधन गुरुङको उपस्थितिपछि पीडित परिवारलाई १० लाख, शहिद घोषणा र दोषीलाई कारवाही गर्ने सहमतिपछि देवानगञ्ज घटनामा मृत्यु भएका परिवारहरूले शव बुझेका छन् ।
देवानगञ्ज–३ कप्तानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको शव बुझ्न आफन्त तयार भएका छन् । गोली लागेर ज्यान गुमाएका दुई युवाको शव ६ दिनपछि आफन्तले बुझेका छन् ।
सरकार र पीडित पक्षबीच शुक्रबार बिहान ७ बुँदे सहमति भएको थियो भने मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव पोस्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ ।
विराटनगरस्थित कोशी अस्पतालमा पोस्टमार्टम गरिएपछि आफन्तले शव बुझेर अन्तिम संस्कारका लागि आफ्नो गाउँ कप्तानगञ्जतर्फ लगेका छन् ।
सरकारी पक्ष र पीडित परिवारबीच भएको वार्तामा पीडित परिवारलाई उचित राहत उपलब्ध गराउने, मृतकलाई सहिद घोषणाका लागि प्रक्रिया अगाडि बढाउने, घटनाको निष्पक्ष छानबिन गर्ने र दोषीमाथि कारबाही गर्ने लगायतका ७ बुँदे सहमति भएको थियो । ७ बुँदे सहमतिसँगै अहिले सो क्षेत्रको वातावरण क्रमशः सामान्य बन्दै गएको हो ।

गत आइतबार राति देवानगञ्ज–३ कप्तानगञ्जमा दुई समूहबीच भएको विवादका क्रममा स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले गोली चलाएको थियो । सो क्रममा ओमप्रकाश मेहताको सोही राति घटनास्थलमै र गम्भीर घाइते भएका जयप्रकाश मेहताको बिहीबार उपचारका क्रममा मृत्यु भएको थियो ।
उनीहरुले शव बुझेपछि पोष्टमार्गम गरेर आजै अन्त्येष्टी गर्ने जनाइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले मृतक परिवारले शव बुझ्ने र त्यसपछि पोष्टमार्गम गरेर अन्त्येष्टि गर्ने प्रक्रिया अगाडि बढेको बताए ।
गृहमन्त्री गुरुङले मृतकका परिवारसँग गरेको सहमति पत्रमा सरकारले मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहतालाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, दुवै परिवारलाई प्रतिपरिवार १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, घटनाका दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने, मृतकका परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने र मृतकहरूको सम्झनामा स्मृति पार्क निर्माण गर्ने उल्लेख छ । सम्झौता पत्रमा पीडित पक्षका तर्फबाट ओमप्रकाश मेहताका बुवा कृष्णदेव मेहता र जयप्रकाश मेहताको तर्फबाट नरेश मेहताले हस्ताक्षर गरेका छन् ।
