धरानः सुनसरी प्रशासनले सुनसरी जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख रहेको भन्दै केही स्थानमा भने निषेधाज्ञा पनि हटाएको छ । सुनसरीको जनजीवन सामान्य पनि बन्दै गएको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जारी गरेको आदेशअनुसार आइतबार बिहान ९ः३० बजेदेखि साँझ ७ बजेसम्म केही स्थानमा भने निषेधाज्ञा रहिरहने जानकारी दिएका छन् ।
देवानगञ्जमा भएको हिंसात्मक घटनापछि गत साउन १२ गते राति ९ बजेदेखि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु आदेश जारी गरिएको थियो । सुरक्षा अवस्थाको समीक्षा गरेपछि प्रशासनले कफ्र्यु हटाएको भए पनि सम्भावित अप्रिय गतिविधि रोक्न निषेधाज्ञा जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम निषेधाज्ञा लागू गरिएको जनाएको थियो । निषेधाज्ञा अवधिभर तोकिएका क्षेत्रमा एक स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा धर्ना गर्न नपाइने अवस्था थियो ।
अहिले सुनसरीको अवस्था र जनजीवन सामान्य बन्दै गएको छ तर, घटनाले स्थानीयबीच सिर्जना गरेको अविश्वास, त्रास र सामाजिक दूरी भने अझै पूर्णरुपमा हट्न सकेको छैन ।
सरकार र पीडित पक्षबीच ७ बुँदे सहमति भएपछि घटनाको ५ दिनपछि शुक्रबार राति मृतकको अन्त्येष्टि गरिएको हो । त्यससँगै एक सातादेखि ठप्प रहेको जनजीवन बिस्तारै सामान्यतर्फ फर्किन थालेको छ । यद्यपि स्थानीयका अनुसार बजार खुले पनि मानिसहरूको मनमा बसेको डर र शंकाको वातावरण अझै कायमै छ ।
गत आइतबार राति दुई समूहबीच भएको विवाद नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनास्थलमै मृत्यु भएको थियो । उक्त घटनामा गम्भीर घाइते भएका देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको उपचारका क्रममा बिहीबार विराटनगरस्थित न्युरो अस्पतालमा निधन भएको थियो ।
प्रमुख जिल्ला अधिकारी अर्यालले घटनापछि तनाव क्रमशः कम हुँदै गएको भएपनि समुदायमा अझै त्रास कायम रहेकाले सुरक्षा निगरानी उच्च बनाइएको बताए । सम्भावित अप्रिय घटना रोक्न निरन्तर गस्ती, सूचना संकलन र समुदायसँग समन्वय भइरहेको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले आइतबार सर्वदलीय बैठक बोलाएर सद्भाव कायम राख्न साझा अपिल गर्ने तयारी गरेको छ । सुनसरीका अधिकांश स्थानीय तहले पनि सामाजिक सद्भावका पक्षमा रयाली आयोजना गर्ने कार्यक्रम बनाएका छन् ।
