धरानः जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लामा जारी रहेको निषेध आदेश पूर्ण रूपमा हटाएको छ ।
पछिल्ला घटनाक्रमको समीक्षा गर्दा जिल्लाको सुरक्षा अवस्था सुधारोन्मुख रहेको निष्कर्ष निकाल्दै प्रशासनले निषेध आदेश हटाउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले सोमबार साँझ जारी गरेको सूचनाअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम जिल्लाका विभिन्न स्थानमा जारी गरिएको निषेध आदेश हटाइएको हो । प्रशासनले जिल्लामा विकसित पछिल्ला घटनाक्रम तथा सुरक्षा अवस्थाको समीक्षा गर्दा अवस्था क्रमशः सामान्य बन्दै गएको पाइएकाले निषेध आदेश हटाइएको जनाएको छ ।
देवानगञ्जमा भएको साम्प्रदायिक तनावपछि प्रशासनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै क्रमशः सुनसरीका १० स्थानीय तह, त्यसपछि चार स्थानीय तह र अन्तिम चरणमा देवानगञ्ज तथा हरिनगर गाउँपालिकामा मात्र निषेध आदेश लागू गरेको थियो । सुरक्षा अवस्था सामान्य बन्दै गएपछि निषेध आदेशको दायरा क्रमशः घटाउँदै अन्ततः पूर्ण रूपमा हटाइएको हो ।
प्रशासनले जिल्लावासीलाई सामाजिक सद्भाव, आपसी भाइचारा र शान्ति–सुरक्षा कायम राख्न सहयोग गर्न आग्रह गरेको छ ।