धरानः सुनसरी घटनामा घाइते बनेका थप अर्का व्यक्तिको पनि मृत्यु भएको छ ।
योसँगै कोशी र मधेसमा भएको घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ। सुनसरीमा यसअघि जयप्रकाश मेहता, ओमप्रकाश मेहताको र सिरहामा गणेश यादवको मृत्यु भएको थियो ।
काठमाडौंको शिक्षण अस्पतालमा उपचारको क्रममा आज बिहान पौने ११ बजे देवानगन्ज गाउँपालिका-१ का २२ वर्षीय रवीन्द्र मेहताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी पुष्पराज मल्लले जानकारी दिए । साउन १० गते दुई पक्षबीच तनावपछि सुरक्षा निकायको गोली लागेर उनी घाइते भएका थिए ।

रवीन्द्रलाई उपचारका लागि विराटनगरको विराट नर्सिङ होमबाट गत शुक्रबार काठमाडौं लगिएको थियो । त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचाररत उनको उपचारकै क्रममा मृत्यु भएको हो ।
दुई पक्षबीच भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि स्थिति नियन्त्रणमा लिन साउन १० गते आइतबार राति सशस्त्र प्रहरीले चलाएको गोली लागेर १० जना युवा घाइते भएका थिए । घाइतेमध्ये देवानगन्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको केहीबेरमा मृत्यु भएको थियो । देवानगन्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको पनि उपचारका क्रममा बिहीबार दिउँसो विराटनगरको न्युरो अस्पतालमा मृत्यु भयो ।
रवीन्द्रको मंगलबार मृत्यु भएपछि कप्तानगन्ज घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको हो । सिरहासहित समग्र आन्दोलनमा ज्यान गुमाउनेको संख्या भने चार पुगेको छ ।
घाइतेमध्ये विराटनगरको न्युरो अस्पतालमा देवानगन्ज–४ का १८ वर्षीय मिथिलेश मेहता, २२ वर्षीय हरेराम यादव र देवानगन्ज–३ का १८ वर्षीय अमलेश मेहताको उपचार भइरहेको छ । विराट नर्सिङ होममा देवानगन्ज–३ का २५ वर्षीय सुनील मेहता, देवानगन्ज–४ का १८ वर्षीय अमितकुमार यादव र २६ वर्षीय सुनील मेहताको उपचार भइरहेको छ ।