धनकुटाः धनकुटामा अवैध गाँजा खेती फस्टाउँदै गएको पाइएको छ । प्रहरी तथा स्थानीय प्रशासनले वर्षेनी गाँजा फडानी गर्दै आएपनि हालसम्म गाँजा खेती नियन्त्रणमा आउन सकेको छैन ।
प्रहरीले दिनहुँजसो गाँजा फँडानी गर्दै आएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको मातहत इलाका प्रहरी कार्यालय छिन्ताङ र प्रहरी चौकी आँखीसल्ला, धनकुटाबाट खटिएको प्रहरी टोलीले शहिदभूमि गाउँपालिका वडा नम्बर १ र ७ का विभिन्न स्थानहरूबाट ६ रोपनी क्षेत्रफलमा रहेको १ हजार ९०० गाँजाका बेर्ना र बोटहरू फडानी गरी नष्ट गरेको डिएसपी हेमन्त भण्डारीले जानकारी दिए ।
यस्तै, प्रहरी टोलीले शहीदभूमि गाउँपालिका वडा नम्बर २ का विभिन्न स्थानहरूबाट तीन रोपनी क्षेत्रफलमा रहेको १ हजार ६ सय गाँजाका बेर्ना र बोटहरू फडानी गरी जलाएर नष्ट गरेको डिएसपी भण्डारीले बताए ।
यस्तै, शहीदभूमि गाउँपालिका वडा नम्बर १ र ७ का विभिन्न स्थानहरूबाट ६ रोपनी क्षेत्रफलमा रहेको २ हजार गाँजाका बेर्ना र बोटहरू फडानी गरी नष्ट गरेको प्रहरीले जनाएको छ । शहीदभूमि गाउँपालिका वडा नम्बर १ का विभिन्न स्थानहरूबाट ३ रोपनी क्षेत्रफलमा रहेको २ हजार गाँजाका बेर्ना र बोटहरू फडानी गरी जलाई नष्ट गरेको प्रहरीले जनाएको छ । विभिन्न स्थानमा लुकाइछिपाइ लगाइएको अवैध गाँजा खेती नष्ट गरिएको प्रहरीको भनाइ छ ।
धनकुटामा करिब ४० साल अघिबाटै शुरु भएको गाँजा खेती हाल आएर व्यापक मात्रामा हुन थालेको पाइएको छ । डिएसपी भण्डारीले वर्षेनी फडानी गर्दापनि स्थानीयबासीले ठूलो मात्रामा गाँजा खेती गर्न नछाडेको प्रहरीले जनाएको छ । गाँजाका लागि भारतीय व्यापारीले समेत लगानी गर्ने हुँदा यहाँ गाँजाको खेती फस्टाएको हुनसक्ने प्रहरीको दाबी छ । स्थानीयले पनि गतिलो आम्दानीको स्रोत यही हो भन्दै लागिपरेको देखिएको प्रहरीको भनाइ छ । ‘गाँजा फडानी कार्य वर्षेनी भएपनि कृषकहरूले गाँजा खेतीलाई त्यागेर अरू बाली लगाउनतर्फ कहिल्यै लागेको देखिएन’, प्रहरीले भन्छ ।
गाँजा खेती, उत्पादन, खरिद बिक्री तथा ओसारपसार गर्नेलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार कारबाही हुने व्यवस्था छ । ‘कृषकहरूले कानुनीरुपमा प्रतिबन्धित छ भन्दाभन्दै पनि व्यवसायिकरूपमा खेती गर्ने गरेका छन्’, डिएसपी भण्डारी भन्छन्, ‘गाँजा खेती गर्न सरकारले रोक लगाएको हुँदा अवैधरुपमा उत्पादन, खरिद बिक्री तथा ओसारपसारमा प्रहरीको निगरानी रहने र प्रहरीको सक्रियता छँदैछ ।’
लागुऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत गाँजाको प्रयोग, ओसारपसार तथा खेती गरेको खण्डमा गैरकानुनी ठहर गरी एक महिना कैद वा तीन हजार रुपैयाँ जरिवानादेखि लिएर १० वर्ष कैद र एकलाख रुपैयाँसम्मको जरिवाना तिराउने कानुनी प्रावधान छ ।