धरान उपमहानगरको बजेट ढिलै भएपनि सार्वजनिक
धरानः धरान उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८३-०८४ का लागि कुल २ अर्ब ७६ करोड १९ लाख २७ हजार रुपैयाँको बजेट बिहीबार सार्वजनिक गरेको छ ।
उपमहानगरपालिकाको शनिबार बसेको १९ औं नगरसभामा धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर अइन्द्रविक्रम बेघाले आव २०८३–०८४ का लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरे । कानुनतः असार मसान्तभित्र अनिवार्यरूपमा बजेट ल्याउनुपर्ने व्यवस्था भएपनि ढिल ढिलै भएपनि धरान उपमहानगरपालिकाको अनुमानित बजेट प्रस्तुत गरेको हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ को उपदफा १ अनुसार उपाध्यक्ष, उपप्रमुख वा कार्यपालिकाले नयाँ आर्थिक वर्षको राजस्व र व्ययको अनुमान (बजेट) कार्यपालिकाबाट स्वीकृत गरी असार १० गतेभित्र नगरसभामा पेश गर्नुपर्छ । त्यसपछि बजेट असार मसान्तभित्र ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । बजेट पारित नगरी रकम खर्च गर्न पाइँदैन । तर, कार्यवाहक मेयर एकातिर र वडाध्यक्ष अर्कोतिर हुँदा समयमै बजेट आउन नसकेको हो । धरानमा अहिले आर्थिक गतिविधि ठप्प छ ।
बजेट, नीति तथा कार्यक्रम पारितसँगै आर्थिक वर्ष २०८३–८४ का लागि बजेट पारित भएको हो । बुधबार बसेको कार्यपालिका बैठकले स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिले तय गरेको यतिका बजेट सर्वसम्मत रूपमा पारित गरेको थियो । नगरसभामा बजेट प्रस्तुत गर्दै कार्यवाहक मेयर बेघाले यो वर्ष आर्थिक विकास र समन्वय, स्वच्छ खानेपानी सुविधासहितको पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकास, पर्यटन, कृषि विपद व्यवस्थापनलाई मुख्य प्राथमिकतामा राखिएको जानकारी दिएका छन् ।

यस वर्ष बाँदर नियन्त्रणका लागि पनि बजेट विनियोजन भएको छ । बाँदर नियन्त्रणका लागि १० लाख रुपैयाँ बजेट आएको हो । निवर्तमान मेयर हर्कराज राई साम्पाङले बाँदर नियन्त्रण गर्ने भन्दै सर्दु जलाधार क्षेत्रमा वृक्षारोपण गरेका थिए । अहिले फलफूलका विरुवा हुर्किन भने बाँकी छ ।
उपमहानगरले आगामी आर्थिक वर्षमा आन्तरिक राजस्वबाट १ अर्ब ४० करोड ९४ लाख ८८ हजार रुपैयाँ उठाउने लक्ष्य लिएको छ। प्रस्तुत बजेटमा आन्तरिक राजश्वबाट १ अर्ब ४० करोड ९४ लाख ८८ हजार, संघीय अनुदानबाट ८६ करोड १९ लाख, प्रदेश सरकार अनुदानबाट ९ करोड १६ लाख ४८ हजार, राजश्व बाँडफाडबाट ३२ करोड ८८ लाख ९१ हजार, सडक बोर्ड नेपालबाट १ करोड र गत वर्षको मौज्दातबाट ८ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।
बजेटमा शहरी योजना तथा भौतिक पूर्वाधार विकासतर्फ ९९ करोड ५० लाख रुपैयाँ (त्यसमध्ये खाल्डाखुल्डीमुक्त नगर कार्यक्रममा ४ करोड, भानुचोक सौन्दर्यीकरण, स्थायी स्टेज निर्माणमा १ करोड, धरान सभागृह निर्माणको लागि २ करोड रुपैयाँ छुटाइएको छ ।
यस्तै, स्वास्थ्यतर्फ १२ करोड ४५ लाख रुपैयाँ, सशर्त अनुदानबाट ९ करोड ३३ लाख, धरान अस्पताल सञ्चालनका लागि २ करोड र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग सहकार्य गर्ने कार्यक्रमका लागि ५० लाख रुपैयाँ छुटाइएको छ ।
यस्तै, शिक्षा, युवा तथा खेलकुदतर्फ ४९ करोड ८६ लाख ८२ हजार रुपैयाँ विनियोजन गरिएको छ । संघ तथा प्रदेश सरकारको सशर्त अनुदान सहितको सो बजेटबाट शैक्षिक तथा खेलकुद कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । एउटा सामुदायिक विद्यालयलाई स्कुल बस उपलब्ध गराउने कार्यक्रम समेत बजेटमा समेटिएको छ ।
यस्तै, सामाजिक विकासमा आन्तरिक स्रोतबाट १० करोड रुपैयाँ विनियोजन गरिएको छ । सुकुम्वासी व्यवस्थापनमा ५० लाख, सिटी सफारी तथा ट्याम्पो चालकको दुर्घटना सहयोग कोष २० लाख, सडक मानव व्यवस्थापन, खेलकुद, बाँदर नियन्त्रणमा १० लाख, विपन्न परिवारका सदस्यको दाहसंस्कारका साझेदारीमा १० लाख, लैंगिक समानता र समावेशीकरण कार्यक्रममा १ करोड ५ लाख बजेट छ ।

आर्थिक विकासमा ६ करोड ८० लाख रुपैयाँ विनियोजन गरिएको छ । जसमध्ये संकटग्रस्त सहकारी व्यवस्थापनका लागि मात्रै ५ करोड रुपैयाँ छुटाइएको छ ।
वन, वातावरण, ऊर्जा तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ९५ लाख ७५ हजार रुपैयाँ विनियोजन गरिएको छ । विपद् व्यवस्थापन कोषका लागि २ करोड रुपैयाँ छुटाइएको छ । बजेटमा कानुन तथा न्याय सम्पादनतर्फ आन्तरिक स्रोतबाट २० लाख रुपैयाँ विनियोजन भएको छ । यस्तै, धरानको खानेपानी आपूर्तिलाई भरपर्दो बनाउन चतरा कोशी नदीबाट पानी आपूर्ति गर्ने नेपाल सरकारको योजनामा साझेदारीका लागि ३ करोड ११ लाख रुपैयाँ आन्तरिक स्रोतबाट विनियोजन गरिएको छ ।
त्यसैगरी, धरानका २० वटा वडाका लागि छुट्टै २८ करोड ७० लाख ९४ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
कुन वडाको कति बजेट ?
वडा नं. १ः १ करोड ८ लाख ८८ हजार ५ सय
वडा नं. २ः ८७ लाख १७ हजार ९ सय
वडा नं. ३ः ९८ लाख १९ हजार ८ सय
वडा नं. ४ः १ करोड ३७ लाख ९२ हजार ५ सय
वडा नं. ५ः १ करोड ४६ लाख २७ हजार ५ सय
वडा नं. ६ः १ करोड ४० लाख ६७ हजार २ सय
वडा नं. ७ः ८७ लाख २७ हजार ४ सय
वडा नं. ८ः १ करोड ७३ लाख १८ हजार ४ सय
वडा नं. ९ः ९३ लाख १९ हजार ८ सय
वडा नं. १०ः १ करोड ५ लाख ३५ हजार ६ सय
वडा नं. ११ः १ करोड ७८ लाख ९३ हजार
वडा नं. १२ः १ करोड १ लाख २२ हजार ८ सय
वडा नं. १३ः १ करोड ५२ लाख ७ हजार ६ सय
वडा नं. १४ः १ करोड ६ लाख ३९ हजार ८ सय
वडा नं. १५ः ३ करोेड १४ लाख ४२ हजार ६ सय
वडा नं. १६ः १ करोड ६० लाख ७३ हजार ८ सय
वडा नं. १७ः २ करोड ३२ लाख १५ हजार ७ सय
वडा नं. १८ः १ लाख ९ लाख १० हजार
वडा नं. १९ः १ करोड ४५ लाख ६४ हजार ८ सय
वडा नं. २०ः १ करोड ९२ लाख ९ हजार ३ सय