धरानः धरानको लथालिङ्ग सभागृह बन्ने भएको छ । उपयोगविहीन समेत बनेको सभागृहका लागि धरान उपमहानगरपालिकाको १९ औं अधिवेशनले बजेट विनियोजन गरेको छ ।
धरान सभागृहका लागि २ करोड बजेट विनियोजन भएको छ । धरान सभागृह मर्मत गर्न संघीय सरकारले पनि बजेट नदिएपछि यो वर्ष धरान उपमहानगरपालिकाले २ करोड रुपैयाँ बजेट छुट्याएको हो ।
यसअघि भवन निर्माण गर्दा राज्यको करोडौं लगानी खेर गएको थियो । ०२३–२४ सालतिर फुटबल मैदान रहेको सो स्थानमा ०५९ मा शहरी विकास तथा भवन निर्माण विभागले झण्डै ३ करोड रुपैयाँ खर्चेर सभागृह तयार गरी उपमहानगरलाई हस्तान्तरण गरेको थियो । त्यतिबेलैदेखि यो सभागृहको हाल बेहाल थियो ।
सभागृहमा हाल नगर प्रहरी बस्छन् । करिब ७ सय दर्शक क्षमता रहेको सभागृह सिलिङ झर्ने, कार्यक्रम हुँदै गर्दा भाग्नुपर्ने अवस्था थियो भने छतबाट पानी चुहिँदै आएको थियो । कुनबेला सिलिङ खसेर टाउकोमा बजारिएला भनेर त्रसित हुनुपर्ने अवस्था थियो ।
२०७९ चैत १० मा मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रविक्रम बेघा हुँदा उनीहरुको टोली संघीय राजधानी पुगेको बेला सहरी विकास मन्त्रलायसँग धरान सभागृह पुनःनिर्माण गर्न बजेट माग गरेका थिए । करिब ८ करोड रुपैयाँ बजेट माग गरेपनि हालसम्म त्यो माग–पत्रको जवाफ भने आएको छैन । आधुनिक सभागृह बनाउन डीपीआर तयार भएकाले बजेट माग गरिएको थियो । लथालिङ्ग रहेको धरान सभागृह मर्मतका लागि विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार छ ।
पूर्णरुपमा ममर्त सम्भार र आधुनिक डिजाइन अनुसार डीपीआर तयार गरी करोडौं बजेट आवश्यक छ तर २ लाख रुपैयाँ ‘हात्तीको मुखमा जिरा’ मात्र हुने देखिन्छ ।
यस्तै, सोही स्थानमा अत्याधुनिक प्रादेशिक नाटक घर निर्माण भएर त्यतिकै थन्किएको छ । सभागृह क्षेत्रको २ कट्ठा जमिनमा नाटक घरको निर्माण लागि भुइँको जग उठाउने काम भएको छ भने अन्य त्यतिकै छाडिएको छ ।