Hamro Koshi Aawaj

शुक्रबार, भाद्र ५ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

धनकुटाका गाउँ पहिरोको जोखिममा

हाम्रो कोशी आवाज
भाद्र ३ २०८३, बुधबार
धनकुटाका गाउँ पहिरोको जोखिममा

धनकुटाः धनकुटाको साँगुरीगढी गाउँपालिका ६ र ७ मा पर्ने मजुवा र डढुवा गाउँ पहिरोको उच्च जोखिममा परेका छन्। हिउँदमा समेत सुख्खा पहिरो गइरहने यी गाउँमा बर्खामा जोखिम झनै बढ्ने गरेको छ ।
भेडेटार-रवीराँके सडकअन्तर्गत नाम्जे-ओख्रे खण्डमा पर्ने पहिरो ग्रस्त मजुवा गाउँमा २६ परिवार बसोबास गर्दै आएका छन्। पहिरो बस्तीतर्फ बढ्दै गएपछि ७ परिवारले यसअघि नै गाउँ छाडिसकेकाे साँगुरीगढी गाउँपालिका ६ का अध्यक्ष दीपक मगरले जानकारी दिए। बाँकी परिवार भने पहिरोको त्रासमै बस्न बाध्य छन् ।
यस्तै, डढुवा गाउँका १० परिवार पहिरोको उच्च जोखिममा रहेको मगरले जानकारी दिए । वडाध्यक्ष मगर यी दुई ठाउँका करिब ४० परिवारलाई तत्कालै सुरक्षित स्थानमा स्थानान्तरण गरिनुपर्ने अवस्था रहेको बताउँछन् ।
सागुरीगढी गाउँपालिकाको दढुवाका स्थानीय जिते राईका अनुसार २०५६ सालतिर गाउँमुनिबाट सुरु भएको पहिरो वर्षेनी बढ्दै अहिले बस्तीसम्मै आइपुगेको छ ।
पहिरोका कारण आकस्मिक दुर्घटना र विस्थापनको जोखिम बढेपछि सुरक्षित स्थानान्तरण र वैकल्पिक व्यवस्थाका लागि स्थानीयले पटक–पटक स्थानीय, प्रदेश र संघीय सरकारसँग माग गरे पनि सुनुवाइ नभएको उनले बताए । ‘पहिरोले चारैतिरबाट गाउँ घेरेको छ जाने ठाउँ कतै छैन,’ जिते भन्छन्, ‘जाने ठाउँ छैन, यहाँ बस्न पनि सकिँदैन।’ उनले तत्कालै जोखिमका घरबस्ती स्थानान्तरण नगरिए ठूलो दुर्घटनाको त्रास रहेको उनले सुनाए ।
साँगुरीगढी गाउँपालिकाले भूगर्भविद् ल्याएर गरेको अध्ययनले मजुवा, डढुवा, तुंखा र मुक्तेन गाउँका जोखिमयुक्त घर तत्काल स्थानान्तरण गर्न सुझाव दिएको गाउँपालिका अध्यक्ष जीतेन्द्र रुम्दाली राईले बताए। भूगर्भविद्ले ती बस्तीको पहिरो जोखिम अध्ययन गरी प्रारम्भिक प्रतिवेदनसमेत गाउँपालिकालाई उपलब्ध गराएका छन्।

प्रकाशित मिति: भाद्र ३ २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend