धरानः धरान-८ तीनकुनेस्थित प्रयोगविहीन रहेको रेडियो नेपालको जग्गा उद्योग खोल्न सरकारसँग माग गरिएको छ ।
औद्योगिक क्षेत्रकै सीमानामा रहेको १८ बिगाहा जग्गाको स्वामित्व औद्योगिक क्षेत्रलाई हस्तान्तरण गर्न माग गरिएको हो ।
धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले औद्योगिक क्षेत्रकै सीमानामा रहेको सो जग्गा उपयोगविहीन, प्रयोगविहीन रहेको साथै युवापुस्ता र जंगली जनावरको क्रिडास्थल बनेको बताएका छन् । ‘सो जग्गाको स्वामित्व हस्तान्तरण हुन सके बुटवल औद्योगिक क्षेत्रजस्तै बनाउन सकिने र उद्योग स्थापना हँुदै लगानी हुने, जनतालाई प्रत्यक्ष रोजगारी पनि सिर्जना हुनेछ ।’ उनले भने ।
धरान आइपुगेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै उनले विगतमा पनि धेरै पहल भएको तर सम्भव नभएको उनले बताए । यसका लागि उनले मन्त्रीपरिषदले निर्णय गराउन आग्रह गरे ।
२०२९ मङसिर २६ गते शिलान्यास भई विसं २०३२ पुस १ गतेदेखि सञ्चालनमा आएको धरान औद्योगिक क्षेत्रको विद्युतको शव स्टेशन पुरानो भएकोले मर्मतका लागि आग्रह समेत गरे । उनले पानीको सहज आपूर्तिका लागि पनि आग्रह गरे ।
२०२ रोपनी क्षेत्रफलमा फैलिएको यस औद्योगिक क्षेत्रको १ सय ४३ रोपनी १४ आना जग्गा भाडामा दिइएको छ भने करिब ५५ रोपनीभन्दा बढी जग्गा ‘युटिलिटी’ सेवाका लागि प्रयोग गरिएको छ ।

हाल उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिएसँगै करिब ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको छ । ती उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि ३ सय ५० जनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख बञ्जाडेले जानकारी दिए ।
सञ्चालनको तयारीमा रहेका उद्योगमध्ये प्रीति भल्भ एन्ड फिटिङ इन्डस्ट्रिज प्रालिले पानीका मिटर तथा फिटिङ सामग्री, जिडी स्टिल इन्डस्ट्रिज प्रालि र जेआर भेन्चर्स प्रालिले निर्माण सामग्री, सिद्धि विनायक घरेलु उद्योगले खाद्यान्न तथा पशु आहार तथा सूर्य डायमन्ड इन्डस्ट्रिज प्रालिले विभिन्न प्रकारका भाँडावर्तन उत्पादन गर्नेछन् ।
धरान औद्योगिक क्षेत्रमा प्लास्टिकजन्य पाइप, खाद्यान्न, धातुजन्य सामग्री, होजियारी तथा डेरीजन्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । हाल औद्योगिक क्षेत्रमा ३५ उद्योग छन् । तीमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग निर्माणको अन्तिम चरणमा रहेका छन् । सञ्चालनमा रहेका उद्योगमा ८ सय पुरुष र २ सय महिला गरी एक हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । औद्योगिक क्षेत्रमा निजी क्षेत्रबाट करिब दुई अर्ब रुपैयाँभन्दा बढी तथा सरकारी क्षेत्रबाट करिब एक अर्ब ७० करोड रुपैयाँभन्दा बढी लगानी रहेको प्रमुख बञ्जाडेले बताए ।