धरानः स्कुल बस र अटो एकआपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
उदयपुरको बेलका नगरपालिका–५ जहडामा अटो र बस एकआपसमा ठोक्किँदा पाँचजना घाइतेमध्ये दुईजनाको धरानमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य तीनजना घाइते भएका छन् ।
सुपाडेबाट लालबजारतर्फ आउँदै गरेको को.प्र.०५–००१ ह ०६१३ नम्बरको अटो र विपरीत दिशाबाट जाँदै गरेको सफल आदर्श इङलिस बोर्डिङ स्कुलको को१ख ३५१६ नम्बरको बस एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा बेलका नगरपालिका–५ मैनी बस्ने ३४ वर्षीया मन्दिरा मगर र अटोमा सवार अर्की एक जना महिला (हाल नाम, उमेर र ठेगाना नखुलेको) को मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैजनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ११ः४५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
अटो चालक बेलका नगरपालिका–५ मैनी बस्ने २८ वर्षीय इन्द्र थापा मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै, बेलका नगरपालिका–५ मैनी बस्ने १८ वर्षीय रोशन मगरको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ । मोरङको विराटनगर महानगरपालिका–१२ बस्ने १९ वर्षीय अजित गुरुङ (अवस्था मध्यम) रहेको प्रहरीले जनाएको छ । उनीहरू सबैको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।
अटो प्रहरी चौकी लालबजारको नियन्त्रणमा रहेको छ भने बस र चालक बेलका नगरपालिका–५ घुम्ने बस्ने करिब ३६ वर्षीय विक्रम थापा इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाको नियन्त्रणमा छन् । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
उदयपुरको बेलका नगरपालिका–५ जहडास्थित मदन भण्डारी लोकमार्गमा दुर्घटना भएको हो ।