धरानः उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठ केहीदिनअघि साँझपख धरान आइपुगे । साथमा थिइन् रास्वपाले समानुपातिक सांसद् बनाएकी सांसद् सिर्जना श्रेष्ठ । धरान आएर मन्त्री श्रेष्ठसहितको टोलीले धरान–८ स्थित लाङ्घाली सामुदायिक वन परिसरको भवनमा रास्वपा कार्यकर्ता र जनतासँग भेटघाट गरेका छन् । भेटघाटपछि उनी धरान–१९ स्थित हरियाली सबस्टेशन पुगेर अनुगमन गरे । उनले त्यहाँ थप्न लागिएको ट्रान्सफर्मर चाँडो जडान गर्न र धरानबासीलाई नियमित र गुणस्तरीय विद्युत् सेवा उपलब्ध गराउन निर्देशन दिए । धरानको विद्युत् आपूर्ति सेवालाई थप भरपर्दो र सुदृढ बनाउन नयाँ ट्रान्सफर्मर जडान तथा सबस्टेशन स्तरोन्नतिको काम अघि बढाउन उनले निर्देशन दिएका हुन् ।
कार्यक्रममा बोल्दै नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका कार्यालय प्रमुख रामहरि पोखरेलले अनेकौं समस्या सुनाए । उनले मन्त्रीसमक्ष धरानमा अन्डर भोल्टेजको समस्या रहेको सुनाए । ‘धरानमा ट्रान्सफर्मर राख्ने पनि उपर्युक्त ठाउँहरू पाइरहेका छैनौं’, उनले भने, ‘गुणस्तरीय भोल्टेज उपलब्ध गराउन असमर्थ रहँदै आएका छौं ।’ धरानमा बिजुली बत्तीको रिलायवल सप्लायर्सको लागि ११ केभी रिङमेन फिडर बनाउने र त्यसबाट कुनै फिडरमा फल्ड भएमा रिङमेन फिडरबाट वैकल्पिक विद्युत् सप्लाई गर्न सकिने बताए ।

धरान–१९ स्थित हरियाली सबस्टेशनमा ट्रान्सफर्मर राख्ने जानकारी गराए । सबस्टेशनको एकथान ८ एमभीए पावर ट्रान्सफर्मर अपग्रेडिङ गर्नका लागि २४ एमभिए पावरको ट्रान्सफर्मर धरानमा आइपुगेको छ । केही दिनपछि ट्रान्सफरमर ‘अपग्रेडिङ’ कार्य हुन ेउनले ट्रान्सफर्मर राखिसकेपछि ओभरलोडको समस्या समाधान हुने जानकारी गराए । अब धरानमा केही भएपनि ओभरलोडको समस्या हट्ने भएको छ । ‘ओभरलोडले भोल्टेज सुधार, ओभर ट्रिपिङ घट्ने छ’, उनले भने । कोशी प्रादेशिक कार्यालय विराटनगरका निर्देशक कमल आचार्यको नेतृत्वमा सो काम भइरहेको उनले बताए । उनले धरानमा बिजुली झ्याप्प झ्याप्प जाने समस्या समाधानका लागि पनि पहल भइरहेको बताए ।
उनले धरानमा बिजुली जाने समस्या अहिले पनि रहिरहेको बताए । पुराना लाइन र ट्रान्सफर्मरको क्षमता कमजोर हुँदा समस्या बढ्दै गएको उनले बताए । दुहवीबाट हरियालीमा आउने ३२ केभीको बिजुली जंगलमा रहेका रुख ढलेमा, चटयाङ लागेमा मात्रै समस्या हुने गरेको उनले जानकारी दिए । ‘दुहवीबाट आउने बिजुली रोक्न जंगलमा रुख ढल्छन्, हाँगा भाँचिन्छन्, टावर हेर्दा समय लाग्छ’, उनले भने, ‘त्यही भएर धरानमा बिजुली गइरहन्छ ।’
यस्तै, उनले धरानमा पुरानो वितरण प्रणालीका कारण पनि बिजुली गइरहने बताए । उनका अनुसार विद्युतको माग बढ्दै जाँदा पुराना संरचनाले भार थेग्न नसक्दा बारम्बार फल्ट आउने गरेको छ । समस्या समाधानका लागि नयाँ लाइन निर्माण, ट्रान्सफर्मर स्तरोन्नति, नियमित मर्मत सम्भार तथा रुखका हाँगा काट्ने काम आवश्यक रहेको उनले बताए । धरानमा बिजुली बत्तीको समस्या समाधानका लागि तदारुकताका साथ अपग्रेडमा लागिरहने, वितरण प्रणाली सुधार, रिङ म्यान फिडर बनाउने प्लान रहेको पनि उनले सुनाए । उनले धरानमा रहेको पुरानो संरचनालाई हटाउनका लागि पनि पहल भइरहेको बताए । उनले भने, ‘बजेट धेरै लाग्छ, यसका लागि पहल भइरहेको छ, त्यही पनि बिजुलीको काम नियमित भइरहने प्रक्रिया पनि हो ।’

धरान–१७ सबस्टेशन निर्माणको प्रक्रिया अघि बढ्यो
धरान–१७ को सर्दुखोला पुलपारी २२० बाइ ३३ केभी सबस्टेशन निर्माणका लागि प्रक्रिया अघि बढेको जानकारी दिए । धरान–१७ सर्दुखोला पारी बनेको सब स्टेशन साउनदेखि टेण्डर आह्वान भएर काम अघि बढ्ने । ‘अहिले बजेट व्यवस्थापन, वातावरणीय अध्ययन आदिको काम अघि बढेपनि टेन्डर आहवान भइसकेको छ ।’ उनले भने । त्यहाँबाट कोशी कोरिडोरको २२० केभी लाइन आउने र २ सय ३० बाइ २३ बाइ ११ केभी बनाएर वितरण हुने उनले बताए ।
हाइटेन्सनको समस्या
धरानमा विद्युत् सेवा (हाइटेन्सन प्रशारण लाइन) हाइटेन्सनको समस्या पनि छ । धनकुटा जाने ३३ केभी लाइनले यहाँका जनता पीडित बनेका छन् । मन्त्री आएका बेला उनीहरूले हाइटेन्सनले दुःख दिएको भन्दै छिटो समाधान गर्न माग गरेका छन् ।
धरान उपमहानगरपालिकादेखि प्रदेश हुँदै केन्द्रसम्म गुहारेका धरानबासीले यसपटक भने ठूलो आशा गरेको बताए । उनीहरूले हाइटेन्सन प्रशारण लाइन अन्यत्र स्थानान्तरण गर्न माग गरे । धरानमा करिब ९ सय ५० घर परिवार हाइटेन्सन तारले तनावमा रहेको स्थानीयबासी जीवनदीप सुब्बाले बताए ।

उनले मन्त्रीलाई हाइभोल्टेज विद्युत लाइनको वैकल्पिक मार्ग निरीक्षण प्रतिवेदन समेत बुझाएको बताए । धरान–४, १३, १४, १५ मा ३३ केजी र ५, ८, १९ मा ११ केभी लाइन विस्तार गरिएको छ । प्रतिवेदनमा ३३ केजी लाइनलाई हरियाली सब स्टेशनबाट तीनकुने, साकेला चोक हुँदै जंगल क्षेत्रबाट सेउती खोलाको किनारा हुँदै खत्रीधारा, भालुखोलाको किनाराबाट शिखरबासम्म जोड्न सकिनेछ । यस्तै, ११ केभीको लागि भने हरियाली सबस्टेशनबाट दक्षिणतर्फ मदन भण्डारी राजमार्गको दक्षिणबाट सार्न सकिने जनाइएको छ । यसअघि हाइभोल्टेज विद्युतकै कारण ६ जनाले ज्यान लिएको समेत जानकारी गराइयो ।
नेपाल विद्युत प्राधिकरण धरान वितरण केन्द्रका कार्यालय प्रमुख रामहरि पोखरेलले सर्दु, सेउती करिडोर अर्थात् कुन स्थानबाट सडक बन्ने हो सो अनुसार प्रशारण लाइन सार्न सकिने बताए । उनले अहिले सेउती करिडोर वा सर्दु करिडोरबाट यो लाइन लैजाने भन्ने अहिले द्विविधा रहेको बताए । उनले सडक बनिसकेपछि मात्रै विद्युत्को व्यवस्थापन गर्न सकिने बताए ।
जग्गा मागे
धरान–८ तीनकुनेस्थित प्रयोगविहीन रहेको रेडियो नेपालको जग्गा उद्योग खोल्न सरकारसँग माग गरिएको छ ।
औद्योगिक क्षेत्रकै सीमानामा रहेको १८ बिगाहा जग्गाको स्वामित्व औद्योगिक क्षेत्रलाई हस्तान्तरण गर्न माग गरिएको हो । धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख जीवनारायण बञ्जाडेले औद्योगिक क्षेत्रकै सीमानामा रहेको सो जग्गा उपयोगविहीन, प्रयोगविहीन रहेको साथै युवापुस्ता लागूऔषधको कुलतमा फँस्ने र जंगली जनावरको क्रिडास्थल बनेको बताएका छन् । ‘सो जग्गाको स्वामित्व हस्तान्तरण हुन सके बुटवल औद्योगिक क्षेत्रजस्तै बनाउन सकिने र उद्योग स्थापना हँुदै लगानी हुने, जनतालाई प्रत्यक्ष रोजगारी पनि सिर्जना हुनेछ ।’ उनले भने ।

धरान आइपुगेका उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाउँदै उनले विगतमा पनि धेरै पहल भएको तर सम्भव नभएको उनले बताए । यसका लागि उनले मन्त्रीपरिषदले निर्णय गराउन आग्रह गरे । २०२९ साल मङ्सिर २६ गते शिलान्यास भई वि.सं. २०३२ पुस १ गतेदेखि सञ्चालनमा आएको धरान औद्योगिक क्षेत्रको विद्युतको शव स्टेशन पुरानो भएकोले मर्मत गरिदिन सरकारसँग आग्रह समेत गरेका छन् । उनले हाल खानेपानीको लागि सहज आपूर्तिको व्यवस्था गरिदिन आग्रह समेत गरे ।
२०२ रोपनी क्षेत्रलफलमा फैलिएको यस औद्योगिक क्षेत्रको १ सय ४३ रोपनी १४ आना जग्गा भाडामा दिइएको र करिब ५५ रोपनीभन्दा बढी जग्गा युटिलिटी सेवाका लागि प्रयोग गरिएको उनले जानकारी दिए ।
हाल उद्योगको लिज सम्झौता रद्द गरी पाँच नयाँ उद्योग थपिएका छन् । नयाँ उद्योग थपिएँसगै करि ३५ करोड रुपैयाँ बराबरको स्वदेशी लगानी भित्रिएको छ । ती उद्योग पूर्णरूपमा सञ्चालनमा आएपछि ३ सयजनाले प्रत्यक्ष रोजगारी पाउने धरान औद्योगिक क्षेत्रका कार्यालय प्रमुख बण्जाडेले जानकारी दिए ।
सञ्चालनको लागि तयारीमा रहेका उद्योगमध्ये प्रिति भल्भ एण्ड फिटिङ इन्डष्ट्रिज प्रालिले पानीका मिटर तथा फिटिङ सामग्री, जिडी स्टिल इन्डष्ट्रिज प्रालि र जेआर भेन्चर्स प्रालिले निर्माण सामग्री, सिद्धि विनायक घरेलु उद्योगले खाद्यान्न तथा पशु आहार तथा सूर्य डायमन्ड इन्डष्ट्रिज प्रालिले विभिन्न प्रकारका भाडावर्तन उत्पादन गर्नेछन् ।
धरान औद्योगिक क्षेत्रमा प्लाष्टिकजन्य पाइप, खाद्यान्न, धातुजन्य सामग्री, होजियारी तथा डेरीजन्य वस्तु उत्पादन गर्ने उद्योग सञ्चालनमा छन् । हाल औद्योगिक क्षेत्रमा ४५ उद्योग छन् । तीमध्ये ३० उद्योग सञ्चालनमा छन् भने पाँच उद्योग अन्तिम चरणमा रहेका छन् । सञ्चालनमा रहेका उद्योगमा ८ सय पुरुष र २ सय महिला गरी हजार जनाले प्रत्यक्ष रोजगारी पाएका छन । औद्योगिक क्षेत्रमा निजी क्षेत्रबाट करिब दुई अर्ब बढी तथा सरकारी क्षेत्रबाट करिब एक अर्ब ७० करोड बढी लगानी रहेको कार्यालय प्रमुख बण्जाडे बताउँछन् ।
-हाम्रो कोशी आवाज साप्ताहिक पत्रिकाबाट
