धरानः सुनसरीमा बेवारिसे अवस्थामा गाँजा फेला परेको छ ।
इलाका प्रहरी कार्यालय देवानगञ्जले बेबारिसे अवस्थामा रहेको ४ सय १३ किलो ९८ ग्राम गाँजा बरामद गरेको जनाएको छ ।
बुधबार बिहान सुनसरीको देवानगंज गाँउपालिका–०१ मध्यहर्षाही स्थित राम जानकी मन्दिर पछाडि रहेको गाई गोठमा को कसले लागूऔषध गाँजा लुकाइछिपाई राखेको छ भन्ने विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले कालो प्लाष्टिकले बेरेर सेतो बोराभित्र राखेको ४ सय १३ किलो ९८ ग्राम लागूऔषध गाँजा बरामद गरेसँगै गोठको पछाडि बेबारिसे अवस्थामा रोकेर राखेको बिआर ३८ आर ०५५८ नम्बरको भारतीय मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।
बरामद गाँजा र मोटरसाइकलको सम्बन्धमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भइरहेको छ भने कारोबारमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।