Hamro Koshi Aawaj

बिहिबार, असोज १ २०८३

हाम्रो कोशी आवाज / कोशी आवाज koshionline, koshi pradesh news

Advertisment

SKIP THIS

राधाकृष्ण रथयात्राको तयारी तीब्र, २ सय स्वयंसेवक परिचालन

हाम्रो कोशी आवाज
भाद्र १० २०८३, बुधबार
राधाकृष्ण रथयात्राको तयारी तीब्र, २ सय स्वयंसेवक परिचालन

विराटनगर: विराटनगरको धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक पहिचानसँग जोडिएको राधाकृष्ण रथयात्रालाई यस वर्ष थप व्यवस्थित, भव्य र सभ्य बनाउन विराटनगर महानगरपालिकाले तयारी तीव्र पारेको छ । यही भदौ २० गते निकालिने रथयात्रालाई लक्षित गर्दै महानगरपालिकाले सरोकारवाला निकायसँग समन्वय बैठक गरी आवश्यक पूर्वाधार तथा व्यवस्थापनको कामलाई गति दिने निर्णय गरेको छ ।
मेयर नागेश कोइरालाको अध्यक्षतामा तथा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माको उपस्थितिमा बसेको बैठकले रथयात्राका क्रममा यात्रु, भक्तजन तथा सर्वसाधारणलाई सहज हुने गरी सडक, विद्युत्, खानेपानी, सरसफाइलगायतका व्यवस्थापन तत्काल अघि बढाउने निर्णय गरेको छ ।
बैठकमा रथयात्रा सञ्चालन हुने मुख्य सडक तथा आसपासका क्षेत्रमा रहेका खाल्डाखुल्डी पुर्ने, सडक मर्मत गर्ने, विद्युत् तथा केबलका अव्यवस्थित तार व्यवस्थापन गर्ने र सरसफाइलाई विशेष प्राथमिकता दिने विषयमा छलफल भएको थियो । रथयात्राका क्रममा ठूलो संख्यामा भक्तजन तथा दर्शक सडकमा भेला हुने भएकाले सम्भावित जोखिम न्यूनीकरण, ट्राफिक व्यवस्थापन र सुरक्षा प्रबन्धलाई समेत प्रभावकारी बनाउने तयारी गरिएको छ ।
बैठकमा प्रदेश प्रहरी कार्यालय, प्रहरी तालिम केन्द्र, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, सशस्त्र प्रहरी, कोशी अस्पताल, विराटनगर खानेपानी संस्थान, नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरणलगायतका सरोकारवाला निकायका प्रतिनिधिको सहभागिता थियो । सबै निकायले आफ्नो क्षेत्रको जिम्मेवारीअनुसार बाँकी तयारीलाई तीव्रता दिने प्रतिबद्धता जनाएका छन् ।
मेयर कोइरालाले राधाकृष्ण रथयात्रा विराटनगरको धार्मिक परम्परा मात्रै नभई सहरको पहिचान र गौरवसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक उत्सव भएकाले यसको व्यवस्थापनमा कुनै कमी हुन नहुने बताए । रथयात्रालाई विगतका वर्षभन्दा अझ व्यवस्थित र आकर्षक बनाउन महानगर, सुरक्षा निकाय, धार्मिक संस्था तथा स्थानीयवासी सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो ।
‘रथयात्रा विराटनगरको पहिचानसँग जोडिएको छ । यसको गरिमा कायम राख्दै व्यवस्थित, सुरक्षित र भव्य बनाउन सबै पक्षले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्नुपर्छ,’ कोइरालाले बैठकमा भने ।

प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले रथयात्राको रुटमा आवश्यक स्थान पहिचान गरी ठाउँ–ठाउँमा खानेपानीको व्यवस्था गरिने जानकारी दिए । ठूलो संख्यामा भक्तजनको सहभागिता हुने भएकाले गर्मी तथा भीडका कारण हुन सक्ने असहजतालाई ध्यानमा राखेर खानेपानीको प्रबन्ध गर्न लागिएको उनले बताए ।
राधाकृष्ण मन्दिर कार्यसमितिका उपाध्यक्ष नन्दकिशोर राठी र सचिव कृष्ण कार्कीले मन्दिरका तर्फबाट हालसम्म भएका तयारीबारे बैठकलाई जानकारी गराएका थिए । उनीहरूले रथयात्राको धार्मिक तथा सांस्कृतिक महत्वलाई कायम राख्दै व्यवस्थापनलाई थप प्रभावकारी बनाउन महानगर तथा सम्बन्धित निकायसँग निरन्तर समन्वय भइरहेको बताए ।
यसैबीच, रथयात्राको मुख्य मार्ग धरान रोडमा रोपिएका बोटबिरुवाको संरक्षणका लागि महानगरपालिकाले विशेष व्यवस्था गर्ने भएको छ । रथयात्रामा सहभागी हुने ठूलो भीडका कारण सडक किनारका हरियाली तथा नयाँ रोपिएका बिरुवामा क्षति पुग्न सक्ने भएकाले नगर प्रहरीसहित करिब २ सय स्वयंसेवक परिचालन गरिने भएको हो ।
नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार स्वयंसेवकले विशेषगरी धरान रोड क्षेत्रमा रहेका बिरुवाको संरक्षण, भीड व्यवस्थापन तथा आवश्यक सहजीकरणमा सहयोग गर्नेछन् । रथयात्राको उत्सवसँगै विराटनगरको हरियाली र सौन्दर्य जोगाउने उद्देश्यले स्वयंसेवक परिचालन गर्न लागिएको उनले बताए ।
महानगरपालिकाले रथयात्रालाई लक्षित गरी सडक व्यवस्थापन, सरसफाइ, खानेपानी, विद्युत् तथा सञ्चारका तार व्यवस्थापन, सुरक्षा र ट्राफिक व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाउने तयारी गरेको छ । रथयात्राको दिन सम्भावित भीडलाई व्यवस्थित गर्न सुरक्षा निकायसँग समेत थप समन्वय गरिने महानगरले जनाएको छ ।
ऐतिहासिक राधाकृष्ण रथयात्रा विराटनगरमा हरेक वर्ष ठूलो जनसहभागिताका साथ आयोजना हुँदै आएको छ । धार्मिक आस्था र सांस्कृतिक परम्परासँगै रथयात्राले विराटनगरको सामाजिक एकता र सांस्कृतिक विविधतालाई समेत प्रतिबिम्बित गर्दै आएको छ । यस वर्ष पनि ठूलो संख्यामा श्रद्धालु तथा दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।
महानगरपालिकाले रथयात्राको मूल मर्म र धार्मिक गरिमा कायम राख्दै व्यवस्थापन, सुरक्षा र सौन्दर्यलाई प्राथमिकतामा राखेर तयारी अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: भाद्र १० २०८३, बुधबार

प्रतिक्रिया दिनुहोस्

  • गाउँ नछाडुन् भन्दै धमाधम दिन थालियो लैनो गाई

    शहर जान रोक्न धरानः गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर जोरपाटी गाउँपालिकाले पाँच वर्षसम्म दुहुना गाई बाँड्यो । नयाँ परिवारलाई स्थानीय उत्पादनसँग जोडेर पशुपालनमार्फत...

    • १० घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • प्रहरीलाई दुई थान कम्प्युटर सहयोग

    विराटनगरः विराटनगर–३ कञ्चनबारीस्थित आर्या न्युरो हस्पिटलले जिल्ला प्रहरी कार्यालय मोरङलाई दुई थान डेल कम्पनीका कम्प्युटर सहयोग गरेको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत हस्पिटलले बिहीबार प्रहरी कार्यालयलाई...

    • १४ घण्टा अगाडी
    • १ मिनेट पाठ
  • धरानको पिण्डेश्वर मन्दिर र भेडेटारमा सम्पर्क कार्यालय स्थापना

    धरानः बृहत्तर बराहक्षेत्र विकास समिति चतरा सुनसरीले धार्मिक पर्यटन बढाउन र तीर्थयात्रीहरूलाई सजिलो बनाउनका लागि कार्यक्षेत्र धनकुटाको भेडेटार र धरानको पिण्डेश्वर मन्दिर परिसरमा सम्पर्क...

    • १४ घण्टा अगाडी
    • २ मिनेट पाठ
  • सुनसरीका किसानलाई भ्याइनभ्याइ

    सुनसरी । नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइनभ्याइ छ । पछिल्लो एक महिनादेखि जुट काट्ने, जलाशयमा डुबाएर राख्ने, केलाउने, सुकाउने र...

    • १७ घण्टा अगाडी
    • ३ मिनेट पाठ
  • ट्याक्टर दुर्घटनामा दुईजनाको मृत्यु

    धरानः मानेभञ्ज्याङ गाउँपालिका–८ राघापुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मानेभञ्ज्याङ गाउँपालिका–८ का ६१ वर्षीय छबिलाल तिमल्सिना र सोही...

    • २ दिन अगाडी
    • १ मिनेट पाठ
  • उदयपुरमा माइक्रो र ट्रक ठोक्किँदा १७ जना घाइते

    धरानः माइक्रोबस (हायस) र ट्रक एकआपसमा ठोक्किँदा चालकसहित १७ जना घाइते भएका छन् । उदयपुरगढी गाउँपालिका–७ अँधेरीस्थित सडक–खण्डमा ट्रक र यात्रुबाहक माइक्रो बस (हायस) एक–आपसमा...

    • २ दिन अगाडी
    • ३ मिनेट पाठ

© 2026 All right reserved to hamrokoshiawaz.com  | Site By : SobizTrend